यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू र समाधानका उपाएहरु !!


प्रश्नः-
किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरू के-के हुन् ? ती समस्याहरूको समाधान गर्ने उपायहरू लेख्नुहोस् । 

उत्तरः‬-
यौन तथा प्रजनन स्वास्थ्य किशोरकिशोरीहरूको यौनसँग सम्बन्धित शारीरिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक र प्रजननका अन्य आयामका क्षेत्रमा किशोरकिशोरीहरूमा समझदारी गर्ने क्षमता विकास गर्नका लागि प्रदान गरिने शैक्षिक अनुभव हो, जसले उनीहरूको जीवन योजना र प्रजनन स्वास्थ्य, व्यवहार र कार्यको निर्णय गर्न, उनीहरूलाई अनिच्छित गर्भधारण, यौन प्रसारित रोगहरू, असुरक्षित यौन सम्पर्क, यौन शोषण, असुरक्षित गर्भपतनको समस्याहरूबाट सुरक्षित गर्न, शारीरिक विकासलाई सम्मान गर्न र लैङ्गिक समताप्रति सचेत पार्न आवश्यक सीपहरू हासिल गर्न सहयोग पुर्याउँछ । ( युनेस्को‬, १९९८)
आजको विश्व परिवेशमा नै किशोरकिशोरीहरूको यौन तथा प्रजनन व्यवहारमा नाटकीय परिवर्तनहरू भइरहेको पाइन्छ, जसको उदाहरणका रूपमा किशोरीहरूको महिनावारी हुने उमेर तथा प्रथम यौन सम्पर्कको अनुभव गर्ने उमेर घट्नु र विवाह गर्ने उमेर बढ्नु जस्ता उल्लेखनीय परिवर्तनहरू देखा परेको छ । यी विविध कारणहरूले गर्दा किशोरकिशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अनेकौँ समस्याहरू झेल्नु परेको पाइन्छ । अतः किशोरावस्थाका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याहरूलाई‬ निम्नानुसार उल्लेख गर्न सकिन्छः-
  •  विवाहपूर्व यौनसम्पर्क, गर्भधारण      किशोरावस्थामा शारीरिक तथा मानसिकरूपमा देखापर्ने परिवर्तन सँगसँगै उनीहरूमा विपरीत लिङ्गप्रति आकर्षण बढ्ने, यौन जिज्ञासाको विकास हुने तथा यौन कामना बढ्दै जाने आदिजस्ता प्रवृत्तिको विकासले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न नसकी विवाहपूर्व नै यौन क्रियाकलापमा संलग्न हुन सक्ने सम्भावना रहन्छ । यसरी विवाहपूर्व नै अनैच्छिकरूपमा भएको गर्भधारण र त्यसबाट जन्मेको शिशुलाई हाम्रो समाजले मान्यता दिँदैन ।
  •  अपरिपक्व अवस्थामा गर्भधारण      चाँडै उमेरमा विवाह गरेर अथवा विवाह नगरी कुनै यौन क्रियाकलापमा संलग्न हुँदा शारीरिकरूपमा राम्ररी परिपक्व नहुँदै गर्भधारण भई बच्चा जन्माउनु पर्दा आमाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै जन्मेको सन्तानसमेत दुब्लो/पातलो र दीर्घरोगी भएर जन्मिने सम्भावना अधिक हुन्छ ।
  •  यौन दुर्व्यवहारको शिकार बन्ने      यस अवस्थामा विशेष गरेर किशोरिहरूले यौनजन्य क्रियाकलापमा संलग्न गराउन बेचबिखन गर्ने, वेश्यावृत्तिमा लगाउने, यौन शोषण गर्ने, यौन दुर्व्यवहार गर्ने आदिजस्ता क्रियाकलापहरू हुने हुनाले एकातर्फ यस्ता यौन दुर्व्यवहारबाट पीडित भइरहेका हुन्छन् भने अर्कोतर्फ एड्स लगायतका अन्य यौन प्रसारित रोगहरूको शिकार बनिरहेका हुन्छन् ।
  •  असुरक्षित यौन सम्पर्क र गर्भपतन      किशोरावस्थामा धेरैजसो किशोरीहरू असुरक्षितरूपमा यौनसम्पर्क राख्ने क्रियाकलापमा संलग्न हुने गरेको देखिन्छ । यसरी असुरक्षितरूपमा यौन सम्पर्क राख्ने क्रियाकलापमा संलग्न भएपछि त्यसबाट गर्भवती भएमा वा अनैच्छिक रूपमा भएको गर्भधारणलाई सामाजिक लोकलाजले गर्दा असुरक्षित रूपमा नै गर्भपतन गराउन खोज्दछन् जसको परिणामस्वरूप किशोरी अवस्थामा आमाको स्वास्थ्य जोखिममा पर्ने सम्भावना अधिक रहन्छ ।
  •  लागूपदार्थ दुर्व्यसनी हुन सक्ने, किशोरावस्थामा किशोरकिशोरीहरूमा धूम्रपान, लागूपदार्थ, मद्यपान आदिको सेवन गर्ने प्रवृत्तिको विकास हुन गई उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।
  •  किशोर अवस्थामा प्रजनन
  •  यौन शोषण
  •  गर्भनिरोधका साधनहरूको ज्ञान र प्रयोगको कमी
  •  विवाहपूर्व आमा बन्नु
  •  दौँतरीको सङ्गतमा फस्नु आदि ।
किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित माथि उल्लिखित समस्याहरूको समाधानका लागि अपनाउन सकिने सम्भावित उपायहरूलाई‬ निम्नानुसार बुँदागतरूपमा उल्लेख गर्न सकिन्छः-
  •  किशोरावस्थाको बालबालिकाहरूलाई स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गर्ने
  •  समय समयमा निर्देशन तथा परामर्श प्रदान गर्ने ।
  •  सुरक्षित यौन व्यवहार अपनाउने ।
  •  परिपक्व उमेरमा गर्भधारण गर्ने ।
  •  विवाहपूर्व यौन सम्पर्क नराख्ने ।
  •  प्रजनन स्वास्थ्य सेवा तथा सुविधाहरू उपलब्ध गराउने ।
  •  यौन शिक्षा प्रदान गर्ने ।
  •  दौँतरी शिक्षा प्रदान गर्ने ।
  •  सहमति र समझदारीको विकास गर्ने ।
  •  रचनात्मक क्रियाकलापमा सहभागी गराउने ।
  •  मनोरञ्जन तथा खेलकुद क्रियाकलापमा भाग लिन लगाउने ।
  •  लागूपदार्थ दुर्व्यसनीका लागि मनोचिकित्सा सेवा प्रदान गर्ने ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment