जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारीको रूपमा रहेका (अभिलेखमा उत्तराधिकारी भनी किटिएका) विजयदेवको शासन पनि नेपालमा निश्चित रूपले चलेको भने पाइन्छ । विजयदेवपछिका शासकहरूबारेमा सर्वसाधरणद्वारा राखिएका अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावली अनुसार गुणकामदेव, मानदेव तृतीय, बलीराज, बलदेव, मानदेव चतुर्थ (८७७ ई.) का साथै राघवदेव (ई.स.८७९) राजा भएको पाइन्छ ।
गुणकामदेव
गुणकामदेव लाई काठमाडौं शहरका संस्थापक मानिन्छ। यिनले करिब १ लाख रूपैँया खर्च गरी करिब वि.सं. १२४१ तिर काठमाडौँको स्थापना गराएको अनुमान गरिन्छ। यिनले पशुपतिनाथको मन्दिरमा छानो बनाउने, कोटीहोम गर्नुका साथै नवदुर्गा, रक्तकाली र लोमडी देवीको स्थापना गरेका थिए। यिनले इन्द्रजात्रा, कृष्णजात्रा, लाखेजात्रा, हिलेजात्रा आदि जात्रा चलाएका थिए। ई.सं. ९८७ र ९९० सम्मका २ वटा अभिलेखहरूमा गुणकामदेवले काठमाडौँ उपत्यकामा शासन गरेको उल्लेख छ । इतिहासकार पेटेकका अनुसार यिनको शासनकाल १८ वर्ष रहेको थियो । यिनले उमामहेश्वरको मूर्ति स्थापना गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रहेको इशानेश्वर मन्दिरमा तामाको छाना, सत्तल तथा सुन्धारा बनाएका थिए । यिनले काष्ठमण्डप, मरूसत्तल र मरूहिटीसमेतको निर्माण गरेका थिए ।
सिम्रौनगढको कर्णाटक राज्य
सिम्रौनगढ नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ । यसको प्राचीन नाम सिमरा–वनगढ थियो । त्यसबेला ठूला बस्ती भएका सबै क्षेत्रहरू सुरक्षाको हिसाबले गढ (किल्ला) को रूपमा परिणत गरिएका हुन्थे । यस्ता किल्लाहरू जङ्गलको बीचमा समेत बनेका हुन्थे । वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्गा’ भनिन्थ्यो । जुन ठाँउको वनमा सो गढ बनेको हुन्थ्यो त्यही नाम विशेष प्रचलित हुन्थ्यो । सिमराको वनमा रहेको गडरूपको बस्ती भएकाले नै ‘सिमरा–वनगढ’ भनिएको हो । यही शब्द पछि अपभ्रंश भई सिम्रौनगढ भएको हो । सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यसबेला तिरहुतको नामले प्रसिद्ध थियो । काठमाडौँ उपत्यकाका तत्कालिन प्रमाणहरूमा भने यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । पश्चिमको खस राज्यको स्थापना भएताका नै दक्षिण र पूर्वी तराई भेक समेटेर कर्णाटकवंशको डोप (तिरहुते राज्य खडा भएको पाइन्छ । यसको राजधानी सिम्रौनगढ (सिमरा वनगढ) अर्थात सिमरामा थियो । तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.स. ११५४ (ई.स.१०९७) मा स्थापना गरेका थिए । यो स्वतन्त्र राज्यको अस्तित्व करीब २२९ वर्ष जति रह्यो र ई.स. १३२६ मा विघटन हुन गयो । यस राज्यमा शासन गर्ने प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए ।
न्यायदेव दक्षिणी भारतको कर्णाटक क्षेत्रका निवासी थिए । यिनी दक्षिणी भारतका चालुक्य शासकका सेनापति थिए । चालुक्यले उत्तरी भारतर्फ विजय अभियान चलाउँदा न्यायदेव यसतर्फ आएका थिए । पछि यिनी आफैंले सिम्रौनगढलाई केन्द्र बनाई यस क्षेत्रमा राज्य स्थापना गरेको पाइन्छ । न्यायदेवपछि क्रमशः गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव आदि शासकहरूले सिम्रौनगढमा शासन गरे । हरिसिंहदेव कर्णाटकवंशका अन्तिम शासक हुन् । यिनको शासनकालमा वि.सं. १३८ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दीन तुग्लकले आक्रमण गरेर सो राज्य ध्वस्त पारेका थिए ।
उपत्यकाका मल्ल राजाहरूको कुलदेवीका रूपमा पूजा गरिने तुलजा भवानी वास्तवमा कर्णाट राजाहरूकै कुलदेवी हुन् । हरिसिंहदेवकी रानी देवलदेवी शरणार्थीको रूपमा उपत्यका पस्दा आफूसित तुलजा भवानीको कलश पनि लिएर आएकी थिइन् । देवदेलवी र उनका छोरा जगतसिंहको उपत्यका प्रवेशपछि कर्णाटकको प्रभाव उपत्यकामा परेको थियो जुन स्वभाविक नै थियो ।
हरिसिंहदेवको मृत्यु भएताका उपत्यकामा रूद्र मल्ल र अरि मल्लको संयुक्त शासन चलिरहेको थियो । अरि मल्ल चाहिँ नाम मात्रका शासक थिए । रूद्र मल्लले हरिसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी र छोरा जगतसिंहलाई आफ्नो दरबारमा शरण लिएका थिए । देवलदेवीले आफ्नो साथमा ल्याएका तलेजुको कलश दरबारमा स्थापित गरिन् । पछि नेपालका शासकहरू पनि तलेजुका उपासक बने । देवलदेवीका छोरा कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग सम्पन्न भयो र यस जोडीबाट राजल्लदेवीको जम्न भयो । यिनै राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको हो ।
कर्णाली प्रदेशको खस मल्ल राज्य
पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भू–खण्डसम्म खस मल्ल राज्य विस्तारित थियो । खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो । तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए । पश्चिममा गढवाल, कुमाऊदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो । खस राज्यको राजधानी सिन्जा थियो । तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान छ । तिव्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपालराजवंशावली आदि स्रोतहरूबाट नै त्यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ । यस राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारि मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व करीब २२६ वर्ष जति रह्यो । खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोटजस्ता बाइसी राज्य जन्मेका हुन् । वर्तमान समयमा सबैभन्दा अविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र मध्यकालमा निक्कै शक्तिशाली राज्यको रूपमा रहेको थियो । पश्चिमी खस राज्यको सबैभन्दा प्रमुख र महत्वपूर्ण योगदान भाषासम्बन्धी योगदान हो । वर्तमान नेपाली भाषाको उत्पत्ति खस मल्ल राज्यमै भएको थियो । त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिंजाली भाषा’ समेत भन्ने गरिन्छ । खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएर राष्ट्र भाषाको स्थान दिएको हुनाले नै यो भाषा निरन्तर परिमार्जित र विकसित हुँदै गयो । खस मल्ल राज्यको विघटनपछि खडा हुन पुगेका बाइसे र चौबीसे राज्यहरूमा समेत यसै भाषालाई व्यापक प्रयोगमा ल्याइयो । बाइसे र चौबीसे राज्यहरूमा राज्य भाषाका रूपमा यसै भाषाले स्थान पायो र विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्र भाषा बन्न पुग्यो ।
कपिलवस्तुको शाक्य शासित राज्य
लुम्बिनी अञ्चलको कपिलवस्तु जिल्लामा तिलौराकोट नामक स्थान रहेको छ । प्राप्त तथ्यहरूको आधारमा यो तिलौराकोट नै शाक्यहरूको प्राचीन कपिलवस्तुको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने क्रकुछन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म यही स्थानमा भएको थियो । उनै सिद्धार्थ गौतम नै बुद्धधर्मका प्रवर्तक महात्मा गौतम बुद्धको रूपमा परिचित छन् । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा बसाइएको नगर थियो । त्यस बखत व्यापारिक राजमार्गका रूपमा उत्तरदेखि दक्षिणपूर्व हुँदै श्रावस्तीदेखि राजगिरसम्म पुग्ने राजमार्ग धेरैजसो कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको रूपमा भएको हुनाले कपिलवस्तु गणराज्यको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूको शासन व्यवस्थाअनुरूप नै थियो । शासन सञ्चालनार्थ साधारण सभा र भारदारी सभा गरी दुई एकाइहरू थिए । साधारण सभाले राज्यको कार्यकारी सभाको रूपमा कार्य गर्दथ्यो र यस्तो कार्यकारी सभाका मुख्य व्यक्तिलाई नै राजा भनिन्थ्यो । बुद्धको जन्मताका कार्यकारी सभाका मुख्य व्यक्ति सुद्धोधन थिए । राजा सुद्धोधनपछि कार्यकारी सभाको मुख्य व्यक्ति वा राजाको रूपमा महानामालाई निर्वाचित गरिएको थियो । कपिलवस्तु राज्यको छिमेकमा पर्ने कोशल राज्यका राजाविरूद्धकको आक्रमणमा परेर कपिलवस्तु राज्यको पतन हुन पुग्यो ।
0 comments:
Post a Comment