बसाईसराई
सामान्य अर्थमा बसाईसराई भन्नाले कुनै एक स्थान (उद्गम) बाट अर्को स्थान (गन्तब्य) मा बास सर्ने कार्यलाई बुझिन्छ । कुनै निश्चित समयावधीमा एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा वासस्थानको परिवर्तनमा संलग्न भएका मानिसहरुको चाल नै जनसांख्यिक, दृष्ट्रिकोणमा बसाईसराई हो । बिश्वव्यापीकरणको वर्तमान युगमा बसाईसराई लाई मानिसको प्रबृत्तिका रुपमा हेर्ने र सामान्य रुपमा लिने गरिन्छ ।
नेपालमा बसाईसराईको अवस्था
नेपालमा बसाईसराईको अवस्थाबारे चर्चा गर्दा यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बसाई सराई गरी दुई भागमा विभाजन गरेर चर्चा गर्न सकिन्छ ।
क. आन्तरिक बसाईसराई
ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा
- वि.सं. २०५८ को जनगणनामा ग्रामीण क्षेत्रको जनसंख्या ८६.१ प्रतिशत र शहरी क्षेत्रको जनसंख्या १३.९ प्रतिशत रहेको थियो । वि.सं. २०६८ को जनगणनामा यो प्रतिशतमा परिवर्तन भई ग्रामीण क्षेत्रमा ८२.८९ प्रतिशत र शहरी क्षेत्रमा १७.१ प्रतिशत जनसंख्याको बसोबास भएको देखिन्छ । यस प्रकार १० वर्ष अवधीकै तथ्यांकमा पनि बसाईसराई समेतका कारण गाउँको जनसंख्या घट्दै र शहरको जनसंख्या बढ्दै गएको छ ।
- मझौला र ठूला शहरमा जनसंख्या तिव्र वृद्धि हुने र ग्रामीण क्षेत्रमा कम हुनु पनि बसाईसराई कै कारण हो । काठमाडौ उपत्यकामा मात्र विगत १० वर्षमा ६१ प्रतिशत जनसंख्या बृद्धि भएको तथ्याँक पाईन्छ ।
- ईटहरी, दमक, बुटवल, भरतपुर, पोखरा, तुल्सीपुर, धनगढी, महेन्द्रनगर जस्ता मझौला र ठूला शहरहरुको जनसंख्या बृद्धिदर उच्च रहेको छ । ग्रामीण क्षेत्रबाट बसाई सराई भएकै कारण यो अवस्था देखिएको हो ।
हिमाल, पहाडबाट तराईमा
- हिमाल, पहाडबाट तराई क्षेत्र र खासगरी पूर्वपश्चिम राजमार्ग आसपासमा बसाईसराई गर्ने प्रवृत्ति नेपालमा परम्परागत रुपमा नै रहेको छ ।
- वि.सं. २०५८ को जनगणनामा हिमाली र पहाडी क्षेत्रको जनसंख्या अनुपात ७.३ प्रतिशत र ४४ प्रतिशत रहेकोमा वि.सं. २०६८ मा यो अनुपात घटेर ६.७ प्रतिशत र ४३.१ प्रतिशतमा आईपुगेको छ । यसैगरी दश वर्षको अवधीमा तराईमा करिब २१ लाख जनसंख्या बृद्धि भएको छ ।
- यसै गरी कतिपय पहाडी र हिमाली जिल्लाहरु जस्तै ताप्लेजुंग, सोलुखुम्बु, मनाङ, मुस्ताङ, पाँचथर, पाल्पा लगायत २७ वटा जिल्लाहरुको वार्षिक जनसंख्या बृद्धि नै ऋणात्मक देखिएको छ । यसैगरी झापा, मोरंग, सुनसरी, चितवन, सुर्खेत, बाँके, जस्ता तराईका जिल्लाहरुको बुद्धिदर उच्च देखिएको छ । यसबाट पनि हिमाली र पहाडी क्षेत्रको केही जससंख्या बसाई सराई गरी तराईतिर झरेको बुझ्न सकिन्छ ।
ख. अन्तर्राष्ट्रिय बसाईसराई
सन् १९९० को दशकपछि विश्वब्यापीकरण र उदारवादी अर्थ ब्यवस्थाका कारण संसारभर अन्तर्राष्ट्रिय बसाई सराई तिव्र भएको पाईन्छ । वि.सं. २०६८ को जनगणना अनुसार विदेशमा बस्ने नेपालीहरुको संख्या १९ लाख २१ हजार ४९४ रहेको देखिन्छ । पछिल्लो समयमा बैदेशीक रोजगारीमा जाने बढ्दो क्रमका कारण अस्थाई रुपमा र अनौपचारिक माध्यमबाट विदेश गएका नेपालीहरुको संख्या यो भन्दा झण्डै दोव्बर रहेको अनुमान गर्ने गरिन्छ ।
बसाईसराईले विकासमा पार्ने प्रभाव
बसाईसराईले विकास प्रक्रियामा सकारात्मक र नकारात्मक दुबै किसिमले प्रभाव पार्दछ । यी दुईकिसिमका प्रभावहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
सकारात्मक प्रभावहरु
- सामुदायिक बिबिधताको सृजना, सांस्कृतिक रहनसहन र मूल्यमान्यताको आदान प्रदान भई समावेशी विकासको मान्यताले मूर्तरुप पाउनसक्ने अवस्था रहेको,
- नयाँ ठाउँको रहनसहन सीप र शैलीमा अनुकुलित हुनका लागि व्यक्ति मेहेनती र प्रतिस्पर्धी बन्ने जसबाट प्रगति, आर्थिक अवस्थामा सुधार भई गरिबी न्यूनिकरणको सम्भावना रहने,
- सुगम स्थानमा भएका बसाईसराई बाट नागरिकहरुको चेतनास्तर र शिक्षामा बढोत्तरी भई विकासको माग सृजना, बिकासका लाभहरुको समानुपातिक उपभोग र विकासमा दिगोपना कायम गर्न सकिने,
- खेतीयोग्य जमिनको उपयोग भई उत्पादन र उत्पादकत्वमा बृद्धि भएको, (पश्चिम तराईमा भएको बसाईसराई),
- नयाँ प्रबिधी, अवसर र सेवा सुबिधाको पर्याप्त उपभोग भई मानव विकासमा प्रत्यक्ष लाभ पुगेको ।
- अन्तराष्ट्रिय बसाईसराईका कारण बिकाशसील मुलुकहरु बिप्रेषण आय र सीपबाट लाभान्वित भएका जसबाट बिकासका लागि आवश्यक स्रोत र सीप जुटाउन मार्गप्रशस्त भएको,
नकारात्मक प्रभावहरु
- शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत सेवाप्रवाहका साथसाथै अव्यवस्थित शहरीकरणका कारण पूर्वाधार विकासमा समेत जटिलता उत्पन्न भएको ,
- सामाजिक बिकृति, बिसंगति र अपराधमा बढोत्तरी हुनुका साथै सुरक्षा चुनौति बसाईसराई कै By Product का रुपमा रहन गई सामाजिक विकासको प्रक्रिया अवरुद्ध बन्न पुगेको,
- उद्गम स्थानमा विकास क्रियाकलापको संचालनका लागि सक्रिय जनशक्तिको अभाव रहने अवस्थासमेत देखिएको ।
- गरिबीमा बढोत्तरी, धनी र गरिबबिचको खाडल बढेको, विकासका लाभहरुको समानुपातिक वितरण हुन नसकेको,
- बेरोजगारी, श्रम बजारमा दबाब सृजना भएको ।
- अव्यवस्थित बसाईसराईका कारण ढल, फोहोरमैला व्यवस्थापनमा समस्या,वातावरणीय असन्तुलन, वातावरण प्रदुषण भई वातावरण र विकासबिच सन्तुलन कायम गर्न नसकिएको ।
यसप्रकार नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय बसाईसराई गरि दुबै किसिमका बसाईसराईहरुको अवस्था बिद्यमान रहेको पाईन्छ । बसाईसराई अव्यवस्थित भएमा यसले विकास प्रक्रियामा पनि असन्तुलन ल्याउने गर्दछ । मूलत: अन्तर्राष्ट्रिय रुपमा रोजगारीका सिलसिलामा हुने गरेको आवधिक र अस्थाई बसाईसराईले आर्थिक रुपमा नेपालको विकास प्रक्रियामा केही राहत पुर्याएको भएतापनि समग्रमा बिकास र बसाईसराई बिच तालमेल कायम गर्न नसकिएमा यसले नेपालको बिकास प्रक्रियालाई दुरगामी रुपमा नै नकारात्मक प्रभाव पार्नसक्ने अवस्था रहेको छ ।
0 comments:
Post a Comment