जनसाङ्ख्यिकी (Demography)
Demography is the scientific study of human population primarily with respect to their size, structure and development. Demography शब्द ग्रीक भाषाको Demos र Graphin बाट बनेको हो । ग्रीक भाषामा Demos को अर्थ मानिस र graphin को अर्थ अध्ययन गर्ने शास्त्र वा विद्या भन्ने हुन्छ । यसरी शाब्दिक रुपमा जनसाङ्ख्यिकी वा जनसंख्याशास्त्र भन्नाले मानिसहरुको संख्याबारे अध्ययन गर्ने शास्त्रलाई बुझिन्छ ।
जनसंख्याको आकार प्रकार, बनावट, संरचना, वितरण, जनघनत्व तथा संख्यात्मक परिवर्तनबारे तथ्यांकीय एवं गणीतिय रुपले अध्ययन गर्ने बिद्या वा बिज्ञान नै जनसाङ्ख्यिकी हो ।
समग्रमा मानवीय संख्या सँग सरोकार राख्ने त्यस्तो शास्त्र जसले जनसांख्यिक तथ्यांक र घटनाहरुको बहुआयामिक मापन, अध्ययन र बिश्लेषण गर्ने एवं जनसंख्या र यससँग जोडिएका बिषयहरु सम्बद्ध सिद्धान्त, नीति र रणनीतिहरु निर्माणका लागि मार्गप्रशस्त गर्दछ, त्यो नै जनसाङ्ख्यिकी हो ।
जनसाङ्ख्यिकीको आवश्यकता
जनसाङ्ख्यिकी समाजशास्त्रसँग सम्बन्धीत एउटा व्यवहारिक बिज्ञान भएकोले यसले देशको जनसंख्या लाई बिबिध आयामबाट व्यवहारिक अध्ययन र बिश्लेषण गर्दछ । फलतः यसबाट प्राप्त नतीजा वा निश्कर्षका आधारमा बिभिन्न क्षेत्रगत नीति, रणनीति र कार्यक्रमहरु निर्माणका लागि बस्तुगत आधार खडा हुन्छ । यसर्थ, एउटा महत्वपूर्ण शास्त्र वा बिद्याको रुपमा जनसाङ्ख्यिकी अत्यन्तै आवश्यक बिषय हो । यसको आवश्यकतालाई निम्न बुँदाहरुबाट थप स्पष्ट पार्न सकिन्छः
- प्रजनन दर, मृत्युदर, जनसंख्याको वितरण र प्रक्षेपण र यी विषयहरुसँग जोडिएका जनस्वास्थ्य, परिवार नियोजन, आवास, बसाईसराई, शहरीकरण आदि सँग सम्बन्धीत कार्यक्रमहरु तर्जुमा गर्न,
- देशको आर्थिक, सामाजिक र मानव विकासका आवश्यक र उपयुक्त नीति, रणनीति र कार्यक्रमहरु तर्जुमा गर्न,
- समग्र देशको वा कुनै क्षेत्र वा स्थान बिशेषको जनसंख्याको आकार प्रकार, बनावट, वितरण आदि पत्ता लगाई क्षेत्रगत बिकास नीति अख्तियार गर्न,
- देशगत जनशक्ति योजना, रोजगारी योजना आदि क्षेत्रगत योजनाहरु तय गर्न,
- जनसंख्या बृद्धि लगायत जनसंख्याको वास्तविक आकार र त्यस्तो आकार बन्नुका कारणहरु वस्तुगत रुपमा पत्ता लगाउन,
- समग्रमा, देशबिकासका लागि आवश्यक राष्ट्रिय आवधिक योजना लगायत क्षेत्रगत योजना र नीतिहरु बस्तुगत आधारमा आधारित रही तर्जुमा गर्न तथा कार्यान्वयनका रणनीतिहरु निर्माण गर्न ।
जनसाङ्ख्यिकीका उद्देश्यहरु
जनसाङ्ख्यिकीका उद्धेश्यहरु निम्नानुसार छन्ः-
- देशको जनसंख्याको आकारप्रकार, बनावट, संरचना र प्रकृतिसम्बन्धी बस्तुगत सुचना प्रवाह गर्ने,
- जनसंख्याको भावी अवस्था र त्यसमा प्रत्यासित परिणामहरुको वस्तुनिष्ठ अध्ययन र प्रक्षेपण गर्ने,
- जनसंख्याका बिबिध आयामहरु र सरोकारित बिषयहरुको तथ्यगत विश्लेषण गरि सोको नतीजा प्रकाशित गर्ने,
- राष्ट्रिय स्रोत र शक्तिका रुपमा रहेका मानवीय स्रोतको यथार्थ जानकारी प्रवाहित गर्ने,
- सामाजिक बनावट, संरचना र रहनसहनको जानकारी प्रवाह गर्नका लागि जीवनप्रत्यासाहरुको अध्ययन गर्ने,
- राष्ट्रिय योजना लगायत क्षेत्रगत नीति, रणनीति र कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि आधार प्रदान गर्ने ।
निश्कर्षमा, देशको मानवीय जनसंख्याको बिबिध कोणबाट अध्ययन, बिश्लेषण गरि सोको तथ्यांकीय सुचनाहरु प्रवाह गर्ने समाजशास्त्रको महत्वपूर्ण बिद्याका रुपमा रहेको जनसाङ्ख्यिकी वर्तमानमा अत्यन्तै महत्व राख्ने शास्त्र हो । देशको वर्तमान अवस्थाको मापन र भविष्यको दिशानिर्देश गर्नका लागि भरपर्दो आधार प्रदान गर्ने भएकोले यो बिषयको आवश्यकतालाई कम आंकलन गर्न मिल्दैन । जनसाङ्ख्यिकीको यही आवश्यकताकै कारण विश्वका हरेक मुलुकहरुले निश्चित अवधीको अन्तरालमा बहुआयामिक रुपमा मुलुकभरको जनगणना गर्ने गरेको पाईन्छ ।
0 comments:
Post a Comment