अध्यात्म रामायण तथा भानुभक्तको रामायण के कस्तो ??

                              वास्तवमा भानुभक्तको रामायण अनुवाद मात्र होइन, अपितु अन्य भाषाका रामभक्त कविहरूझैं भानुभक्तले पनि अध्यात्म रामायणलाई आधार ग्रन्थको रूपमा मात्र लिएका छन् । भानुभक्तको रामायण बारेमा तुलसीदासझैं भानुभक्त स्वयम् आफैले केही नबोलेकाले बाबुराम आचार्यद्वारा अड्कलको भरमा लगाइएको आरोप मिथ्या साबित हुन आउँछ ।

 आध्यात्म रामायण रामचन्द्रजीको जीवनचरित्र उद्घाटन गर्ने पवित्र ग्रन्थ हो । यो आख्यान ब्रह्माण्डपुराणको उत्तरखण्ड अन्तर्गतको हो भन्ने मान्यता छ । यसको रचयिता महर्षि वेदव्यास हुन् । यसमा रामकथालाई भगवान् शड्ढरले आफ्नी प्रियतमा आदि शक्ति पार्वतीलाई सुनाएका थिए भन्ने निम्न श्लोकमा भनिएको पाइन्छ– आलोडयाखिलवेदराशिमसकृद्यत्तारकंब्रह्म तद्रामो विष्णुरहस्यमूर्तिरिति यो विज्ञाय भूतेश्वर: । उद्धृत्याखिलसारसङ्ग्रहमिदं सङ्क्षेपत: प्रस्फुटं श्रीरामस्य निगूढतत्त्वमखिलं प्राह प्रियायै भव: ।।


    यसमा परमरसायन रामचरितको वर्णन गर्ने क्रममा विभिन्न प्रस· उठाएर भक्ति, ज्ञान, उपासना, नीति र सदाचारसम्बन्धी दिव्य उपदेशहरू दिइएका छन् । यसमा विविध विषयहरूको वर्णन रहे पनि प्रधानता अध्यात्म तत्त्वको विवेचनाको नै रहेकोले यसलाई अध्यात्म रामायण भनिएको हो । गोस्वामी तुलसीदासको रामचरितमानसको आधार अध्यात्म रामायण नै हो तर रामचरितमानस अध्यात्म रामायणको ठाडो अनुवाद भने पक्कै होइन । किनभने तुलसीदास स्वयम्ले भनेका छन्–नानापुराणनिगमागमसम्मतं यद, रामायणे निगदितं क्वचिदन्यतोऽपि । स्वान्त:सुखाय तुलसी रघुनाथगाथा भाषानिबन्धमतिमञ्जुलमातनोति ।।

    अर्थात् अनेक वेद, पुराण र शास्त्रहरू सम्मत तथा जे कुरा रामायणमा वर्णित छ तथा केही अन्यत्रबाट पनि उपलब्ध रघुनाथको कथालाई तुलसीदासले आफ्नो अन्त:करणको सुखको लागि अत्यन्त मनोहर भाषा रचनामा विस्तृत गरेका छन् । नेपाली भाषामा भानुभक्त आचार्यले रामायणको रचना गरेका छन्, जसलाई ‘भानुभक्तको रामायण’ भनिन्छ । भानुभक्तको रामायणको पनि मुख्य आधार अध्यात्म रामायण नै हो । आफ्नो ‘पुराना कवि र कविता’ पुस्तकको पृ.स. ९ मा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेका छन्–“भानुभक्तको रामायण अध्यात्म रामायणको अनुवाद हुनाले त्यसमा मौलिकता कम पाइन्छ ।” वस्तुत: रामकथा एउटा मात्रै छ– आदौ रामतपोवनादिगमनं हत्वा मृगं काञ्चनं, वैदेहीहरणं जटायुमरणं सुग्रीवसम्भाषणम् । बालीनिग्रहणं समुद्रतरणं लड्ढापुरीदाहनं, पश्चाद्रावणकुम्भकर्णहननमेतद्धि रामायणम् ।। यसलाई विभिन्न भक्तकविहरूले आफ्नो विभिन्न शैली, शिल्प र कल्पना अनुसार रचना गरेका छन् । रामचरितमानस, वालमीकीय रामायण, आनन्द रामायण, कम्बरामायण, राधेश्याम रामायण आदि कुनै पनि रामायणलाई एउटा भाषाबाट अर्को भाषामा गरिएको अनुवाद हो भन्ने आक्षेप लागेको पाइँदैन तर भानुभक्तको रामायणलाई सोझै अध्यात्म रामायणको अनुवाद हो भनी आरोप लगाइनु दुर्भाग्यपूर्ण कुरा हो । भानुभक्तको रामायण अध्यात्म रामायणको शब्दानुवाद हो कि ? भावानुवाद हो कि ? पद्यानुवाद हो ? यसबारेमा इतिहास शिरोमणि मौन छन् । 

    भानुभक्त नेपाली भाषालाई अति नै माया गर्ने खालका कवि थिए भन्ने कुराको पुष्टि उनको फुटकर कविताहरूबाट हुन्छ । नेपाली भाषा तथा राष्ट्रप्रति उनी समर्पित रहेको कुरा निर्विवाद सत्य हो । राष्ट्रप्रेमप्रति उनको उद्गार स्मरणीय छ– ई नेपाल–सरि पुण्यभूमि त अहो देखीन मैले कतै, आर्या–तीर्थ–मरण् छ मुक्ति दिनमा तत्पर् खडा छन् शिवै । 

    उपरलिखित आरोप निराधार रहेको प्रमाण निम्नानुसारको पङ्क्तिबाट हुन्छ । भरत मिलापको प्रस· अनुसार रामजीलाई राजाको रूपमा अयोध्या फर्काउनको लागि भरतजीले गरेको आग्रहको वार्तालाप दर्शाउने पङ्क्तिहरू अध्यात्म रामायणमा निम्नानुसार रहेको छ– राज्यं पालय पित्र्यं ते ज्येष्ठस्तवं मे पिता यथा । क्षत्रियाणामयं धर्मो यत्प्रजापरिपालनम् ।। अर्थात् यो पैतृक राज्य तपाईंकै हो । तपाईं मेरो दाजु हुनुहुन्छ, अत: तपाईं पितृतुल्य हुनुहुन्छ । प्रजाको पालन गर्नु नै क्षत्रीयहरूको मुख्य धर्म हो । यस प्रस·मा भानुभक्तको रामायणमा निम्नानुसारको कथन रहेको छ– ख्वामित हजुरको म त दास पो हूँ । यो राज्य गर्ना कन योग्य को हूँ ।। यो गादि ता याहिं हजूरको हो । मैले त सेवा गरि बस्नु पो हो ।। यसै प्रस·मा रामजीले पिताजीको आज्ञानुसार म वनमा जानुपर्ने तथा भरतले अयोध्याको राज्य गर्नुपर्ने भएको हुनाले म वनमा आएको छु । पुत्रको प्रधान कर्तव्य पिताको आज्ञापालन गर्नु हो । त्यसैले हामी दुवैजनाले पिताको आज्ञापालन गर्नुपर्छ भनेपछि अध्यात्म रामायणमा भरतजी भन्नुहुन्छ– भरतस्त्वब्रवीद्रामं कामुको मूढधी: पिता । स्त्रीजितो भ्रान्तह्दय उन्मत्तो यदि वक्ष्यति । तत्सत्यमिति न ग्राह्यं भ्रान्तवाक्यं यथा सुधी: ।। यसै प्रस·मा भानुभक्तले आफ्नो रामायणमा लेखेका छन्– हे नाथ पिता हुन् मतिहिन भयाका । स्त्रीका त सार्‍है वशमा पर्‍याका ।। अब यसपछिको चरणमा भानुभक्तको कवित्ववर्णनचातुर्य देख्न सकिन्छ । माथि लिखित वाक्य अध्यात्म रामायणको पहिलो पदसित मेल खान्छ तर अध्यात्म रामायणको दोस्रो र तेस्रो पद छाडी दिएर आफ्नै रामभक्तिमूलक अलगै मौलिक दृष्टिकोण प्रस्तुत गर्दछन्– उन्ले भन्याथ्या पनि राज्य छाडी । जानू असल होइन आज झाडी ।। ख्वामित, बहुत बिन्ति छ फर्कि जाउँ । फर्कन्न भन्न्या त जवाफ न पाउँm ।। भरतजीद्वारा पिताजीमाथिको दोषारोपणको प्रत्युत्तरमा रामजीले अध्यात्म रामायणमा भन्नु हुन्छ– न स्त्रीजित: पिता ब्रूयान्न कामी नैव मूढधी: । पूर्वं प्रतिश्रुतं तस्य सत्यवादी ददौ भयात् ।। भानुभक्तको रामायणमा यसै प्रस·लाई भानुभक्तले यस प्रकार लेखेका छन्– फर्कन्न भैय्या, तिमि फर्कि जाउ । पिताजीलाई पनि दोष न लाऊ ।। खुप् सत्यवादी त पिताजि थिया । साँचै हुनाले वरदान दीया ।।


    यस प्रकारले नेपाली साहित्यको आदिकालमा भानुभक्तद्वारा रामप्रतिको अनुरागपूर्वक गाथा गायनका सिलसिलामा अथक परिश्रम गरेर साधारण जनमानसको लागि काम नलाग्ने संस्कृत भाषामा रचना गरिएको अध्यात्म रामायणलाई आफ्नो कृतिको आधार ग्रन्थको रूपमा लिएर नेपाली साहित्यको उत्थानकालमैं भानुभक्तको रामायण तयार पार्ने जस्तो स्तुत्य काम गर्नामा पनि मीनमेख निकालेर आदिकविलाई होच्याउनु भनेको नजिकको देउतालाई हेला गर्नु सरह ठहरिन्छ, जुन वास्तवमा निन्दनीय कर्म हो । राणा वा शाह  शासनकालमा यस प्रकारको घृष्टता गर्नु क्षम्य अपराध थियो तर वर्तमान परिस्थिति र अवस्थामा यस्तो अभिव्यक्ति वास्तवमा नेपाली भाषा र नेपालप्रेमी जनमानसको नजरमा अक्षम्य अपराधको रूपमा ठहरिन्छ । जुन थालमा खाने, त्यसैमा प्वाल पार्ने प्रवृत्ति भएका चङ्ख मान्छेलाई दण्ड दिने बेला आएको हो कि जस्तो लाग्दछ । भानुभक्तलाई नेपालको आदिकविको मात्र पगरी अपर्याप्त छ । वस्तुत: उनलाई संस्कृतको आदिकवि वाल्मीकि अथवा गोस्वामी तुलसीदासको पगरी पनि अपुगभैंm लाग्दछ । नेपाल राज्यको एकीकरण गर्नमा पृथ्वीनारायण शाहको तरवारले जति काम गरेको थियो, त्यसभन्दा भानुभक्तको रामायणले नेपाली जनमानसको ह्दय एकीकरणमा बढी काम गरेको थियो । यो निर्विवाद तथ्य हो र यो सर्वविदित संवाद हो । भानुभक्तको जय, नेपाली भाषाको जय, नेपाली जनमानसको जय...।











Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment