नेपालका भाषा
क) नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । ती हुन् :
(क) कुसुन्डा(ख) द्रविड
(ग) आग्नेय
(घ) भोट बर्मेली र
(ङ) भारोपेली ।
ख) नेपालमा लामो लेख्य परम्परा भएका भाषाहरू अत्यन्त थोरै छन्; केही भाषामा भर्खरै लेख्य परम्पराको विकास भएको छ र धेरै जसो भाषाहरू लेख्य परम्परा विनाकै छन् ।
ग) नेपाल एउटा बहुभाषिक मुलुक हो। तेरासिमा भन्ने जापानीले गरेको अनुसन्धानका आधारमा सरदर नेपालीले ३.८ (झन्डै ४) ओटा भाषा बोल्न सक्छ । नेपालमा केही मातृभाषाका वक्ताहरू एकभाषिक छन्, केही द्विभाषिक छन् र केही बहुभाषिक छन् ।
घ) राष्ट्रिय जनगणना अनुसार नेपालमा १०३ जनजातिले ९२ भाषा बोल्छन् । यस सङ्ख्यामा विभिन्न स्रोतहरू सहमत नभए पनि नेपालमा अनेक जातिले एउटै भाषा बोल्ने स्थिति, एउटै जातिले अनेक भाषा बोल्ने स्थिति र एउटा जातिले एउटा भाषा बोल्ने स्थिति पनि पाइन्छन् ।
ङ) राष्ट्रिय जनगणना (२०५८) अनुसार वक्ताहरूको सङ्ख्याका दृष्टिले नेपालमाः-
तर भाषाको सङ्ख्याका दृष्टिले चाहिँ भारोपेली भाषाको सङ्ख्या भन्दा नेपालमा भोट बर्मेली परिवारका भाषाको सङ्ख्या झन्डै दोबर दिइएको छ । आग्नेय परिवारका दुइटा अनि द्रविड र कुसुन्डा परिवारका १-१ ओटा भाषा छन् ।
- भारोपेली परिवारका भाषा बोल्नेहरू ७९.१% (झन्डै ८०%)
- भोट बर्मेली परिवारका भाषा बोल्ने वक्ताहरू १८.४% (झन्डै भारोपेली वक्ताको एक चौथाइ)
- आग्नेय परिवारका ०.२% र
- द्रविड परिवारका ०.१% वक्ता छन्
च) नेपालका केही भाषाहरू लोप भइसकेको सूचना पाइन्छ, धेरै भाषाहरू लोपोन्मुख अवस्थामा छन् र थोरै भाषाहरू सङ्कटबाट मुक्त छन् । थोरै भाषाहरू विद्यालयहरूमा पढाइन्छन्; धेरै भाषाहरू पठन पाठनबाट बाहिर छन् । थोरै भाषाहरूमा लिखित साहित्य पाइन्छ; केही भाषामा हालसालै लेखन परम्परा सुरु भएको छ । केही भाषामा पत्र पत्रिका पनि निस्किन थालेको छ, तर धेरै जसो भाषाहरूमा चाहिँ लेखन परम्परा सुरु नै भएको छैन । थोरै मातृभाषाहरू मात्र घर परिवार बाहिर बोलिन्छन्, केही मातृभाषाहरू आफ्नै परिवारका सदस्यसँग बोलिन्छन् र धेरै भाषाहरू आफ्नै परिवार भित्र पनि बोलचालमा आउन छोडेका छन् । थोरै भाषाहरू एक पुस्ताबाट अर्को पुस्तामा स्वाभाविक रूपले सरिरहेका छन् । धेरै भाषाहरू आमा बाबुले छोरा छोरीमा सार्न रुचि देखाइरहेका छैनन् ।
छ) नेपालका कुनै कुनै भाषाका वक्ताले अर्को भाषा बोल्न नजाने पनि हुन्छ भने धेरै भाषाका वक्ताहरू द्विभाषिक र बहुभाषिक नभई नहुने स्थिति छ ।
ज) सरकारलाई भाषा नीति र भाषा योजना बनाउन अनि भाषाको संरक्षण र विकास गर्न सघाउने र सुझाउ दिने भारतीय भाषा संस्थान जस्तो संस्थाको स्थापना गर्ने दिशामा सरकारी सचेतता पुगेको छैन, त्यसले यहाँ सङ्घीय राज्य बनाउने राजनीतिक तत्परता त देखिन्छ, तर त्यसको कार्यान्वयन गर्ने प्राविधिक तत्परता र गृह कार्य भने पटक्कै देखिएको छैन ।
झ) नेपालमा १० ओटा लिपिहरू प्रयोगमा आएका देखिन्छन् :
१. लेप्चा लिपि = लेप्चा भाषा लेख्न प्रयोग गरिन्छ ।२. सिरिजङ्गा लिपि = लिम्बु भाषा लेखिन्छ ।
३. देवनागरी लिपि = तामाङ भाषा तिब्बती (सम्भोटा, उ छेन) र देवनागरी लिपिमा लेखिन्छ ।
४. रञ्जना र देवनागरी लिपि = नेवार भाषा लेखिन्छ । नेवार भाषा लेख्न परम्परागत रूपमा भुजिमोल, पाचुमोल, कुम्मोल, गोलमोल, लितुमोल आदि अनेक लिपि भएको सूचना चूडामणि बन्धुले दिएका छन् ।
५. ओल चिकी लिपि = सन्ताल भाषा ओल चिकी लिपिमा लेखिन्छ ।
६. देवनागरी, रोमन र खेमा लिपि = गुरुङ भाषा देवनागरी, रोमन र खेमा लिपिमा लेखिन्छ ।
७. देवनागरी र मिथिलाक्षर = मैथिली भाषा देवनागरी र मिथिलाक्षरमा लेखिन्छ ।
८. देवनागरी र अक्खा लिपि = मगर भाषा देवनागरी र अक्खा लिपिमा लेखिन्छ ।
९. सुनुवार भाषा लेख्नका लागि भर्खरै टीकाराम मुलिचाले एउटा लिपि बनाएका छन् ।
१०. कैथी लिपि = मैथिली र भोजपुरी भाषा लेख्न प्रयोग भएको पाउन सकिएला ।
११. देवनागरी लिपि = देवनागरी लिपिमा माथि लेखिएका भाषा पनि लेखिन्छन् र ती बाहेक नेपालका लेख्य परम्परा भएका सबै भाषा लेखिन्छन् ।
सामाजिक कार्यका दृष्टिले नेपालमा प्रयोग आएका भाषाहरू
सामाजिक कार्यका दृष्टिले नेपालमा सात किसिमका भाषाहरू प्रयोग आएका पाइन्छन् :
१. मातृभाषा :
जुन भाषा मान्छेले सबभन्दा पहिले सिक्छ र जुन भाषा बोल्न सबभन्दा बढ्ता जान्दछ, उसको मातृभाषा त्यही हो । हँस्यौली गर्दा, रिसाउँदा, गाली गर्दा, विलाप गर्दा, मायाँ गर्दा, खेल्दा, गोप्य कुरा गर्दा, पारिवारिक र जातीय भेटघाटका बोलचालमा मान्छेले जुन भाषा बोल्छ, उसको मातृभाषा त्यही हो, तर नेपालमा भाषिक अपसरणको समस्याले गर्दा मातृभाषाका यी लक्षणहरूमा उल्लेखनीय विचलन देखिन्छ ।
२. सम्पर्क भाषा :
दुइटा फरक फरक मातृभाषा बोल्ने मान्छे जुन भाषामा कुरा गर्छन्, त्यो उनीहरूको सम्पर्क भाषा हो । सम्पर्क भाषाको व्यापकता फरक फरक हुन्छ ।
क) पूर्वाञ्चलका केही राई किराँतीहरू भेट्ता आपसमा बान्तावा राई भाषामा सम्पर्क गर्छन् ।
ख) झापा र मोरङका सन्ताल, मुण्डा, किसान, उराउँ, आदि जनजातिहरू सदना वा साद्री भाषामा सम्पर्क गर्छन् । आधारभूत रूपमा यो भाषा भारतमा झारखण्डका अनेक मातृभाषीहरूको सम्पर्क भाषा हो (प्रियदर्शी २००८ इ) । नेपालमा त्यसैले निरन्तरता पाएको देखिन्छ ।
ग) पूर्वी तराईका धेरै मातृभाषीहरूको सम्पर्क भाषा मैथिली, बीच तराईमा भोजपुरी र पश्चिम तराईमा अवधी पाइन्छ ।
घ) मेचीदेखि महाकाली सम्म छरिएका मधेसी मूलका पढेलेखेका मानिसहरूले हिन्दी (र नेपाली) भाषालाई सम्पर्क भाषा बनाएको पाइन्छ ।
ङ) कर्णाली प्रदेशमा कतै डोट्याली र कतै जुम्ली भाषाले सम्पर्क भाषाको काम गरेको पाइन्छ।
च) हिमाली क्षेत्रमा तिब्बती भाषाले सम्पर्क भाषाको काम गरेको हुन सक्छ ।
छ) ढुट, पाङ र काइके मगरहरूका राष्ट्रिय भेलामा, सबै गुरुङहरूका राष्ट्रिय भेलामा, सबै थकालीहरूका राष्ट्रिय भेलामा, सबै तामाङहरूका राष्ट्रिय भेलामा, सबै राई किराँतीहरूका राष्ट्रिय भेलामा; काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा, बन्दीपुर, बाग्लुङ, चित्लाङ, बडिखेल, प्याङगाउँ र सबै तिरका नेवारहरूका राष्ट्रिय भेलामा नेपाली भाषा सम्पर्क भाषाका रूपमा प्रयोग गरिन्छ । देशभरका र विश्वभरका हिमाल, पहाड, तराई सबै तिर मूल थलो हुने नेपालीहरूका राष्ट्रिय र अन्तरराष्ट्रिय भेलाको सम्पर्क भाषा नेपाली हो ।
ज) गोपाल ठाकुरले दिएको सूचना अनुसार नेपाल तराईका हिन्दु मठ मन्दिरमा जोगी र सन्त महन्तहरूको सम्पर्क भाषा हिन्दी हो ।
३. सरकारी कामकाजको भाषा :
लेख्य रूपमा देवनागरी लिपिमा लेखिएको र बोलचालमा (मानक) नेपाली भाषा सरकारी कामकाजको भाषा ४७ सालको र अन्तरिम संविधानले तोकेको पाइन्छ ।
४. सांस्कृतिक भाषा :
क) नेपालका ८०.६२% हिन्दुहरूको र १०.७४% बौद्धहरू मध्ये महायान बौद्धहरूको धार्मिक कर्मकाण्डको भाषा संस्कृत हो ।
ख) १०.७४% बौद्धहरू मध्ये केहीको तिब्बती र अरू केहीको आफ्नो आफ्नो मातृभाषा धार्मिक कर्मकाण्डको सांस्कृतिक भाषाको रूपमा व्यवहार गरिएको पाइन्छ । हीनयानी बौद्धहरूको कर्मकाण्डको भाषा चाहिँ पालि पनि हुन सक्ने सम्भावना छ ।
ग) नेपालका ४.२% इस्लाम धर्म मान्नेहरूको सांस्कृतिक भाषा उर्दू, अरबी र अन्य केही भाषा हुने सम्भावना छ।
घ) नेपालका ३.६% किराँतीहरूको धार्मिक कर्मकाण्डको सांस्कृतिक भाषा विभिन्न किराँती भाषा भएको पाइन्छ।
ङ) नेपालका इसाईहरूले अङ्ग्रेजी, नेपाली र ल्याटिन भाषा धार्मिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइन्छ।
च) जोसमनी सन्तहरू अलि अलि हिन्दी भाषा मिसिएको सधुक्कडी (नेपाली) भाषामा आफ्ना भजनहरू लेख्छन् ।
छ) नेपालमा धेरै तिर हिन्दी भाषामै आरती गाइएको पाइन्छ ।
५. शिक्षा र पठनपाठनको माध्यम भाषा :
नेपालमा नेपाली, अङ्ग्रेजी र संस्कृत, आदि केही भाषा पठनपाठनको माध्यमका रूपमा प्रयोग भएको पाइन्छ । अध्ययनकै मूल विषयका रूपमा त अरू मैथिली, नेवार, हिन्दी, जस्ता अरू अनेक भाषा प्रयोगमा आउँछन् ।
६. वैज्ञानिक र प्राविधिक शब्दावलीको भाषा :
जुनसुकै परिवारका नेपालका भाषाको आधुनिकीकरण गर्दा अथवा वैज्ञानिक र प्राविधिक शब्दावली बनाउँदा संस्कृत भाषाका धातु, प्रातिपदिक, उपसर्ग, प्रत्यय र संस्कृत व्याकरणका नियमको प्रयोग गरिन्छ । भारोपेली परिवारमा नपर्ने नेपालका विकसित भाषाहरूमा नेवार भाषा जत्तिको विकसित अर्को कुनै पनि छैन । नेवार भाषामा संस्कृत शब्दको प्रयोग कुनै पनि भारोपेली आर्य परिवारमा भन्दा कम छैन । नेवार मात्र होइन; भोट बर्मेली भाषामा तीन चार ओटा भाषा सबभन्दा बढ्ता विकसित छन् जस्माः-
(क) तिब्बती,(ख) नेवार,
(ग) मणिपुरी र
(घ) बर्माली ।
पारिभाषिक शब्दमा संस्कृत शब्दको प्रयोगले गर्दा बोलचालमा मात्र सीमित कुनै पनि दक्षिण एसियाको भोट बर्मेली भाषामा भन्दा विकसित भोट बर्मेली भाषामा संस्कृत शब्दको प्रतिशत टड्कारै रूपमा बढेको पाइन्छ । संस्कृत शब्दको मात्राका अनुपातमा दक्षिण एसियाली भाषाको विकासको अनुपात नाप्न सकिने सहसम्बन्ध देखिन्छ । यो प्रवृत्ति दक्षिण एसियामा मात्र होइन, पूर्वी एसियाका थाई, कम्बोडियाली, इन्डोनेसियाली, र मलयेसियाली भाषामा पनि टड्कारै देखिन्छ । यसरी संस्कृत भाषा नेपाल मात्र होइन, दक्षिण एसिया र कतिपय पूर्वी एसियाकै भाषाको उन्नति र आधुनिकीकरणको भाषा हो भन्ने प्रमाणित हुन्छ ।
७. अन्तरराष्ट्रिय भाषा :
क) नेपालीहरू भारतीयहरूलाई भेट्ता कहिले कहिले हिन्दी भाषालाई अन्तरराष्ट्रिय भाषाको रूपमा व्यवहार गर्छन् ।
ख) नत्र प्राय विदेशीहरूसँगको सम्पर्कमा अङ्ग्रेजीलाई अन्तरराष्ट्रिय भाषाको रूपमा प्रयोग गर्छन् ।
केहि लोप हुन लागेका भाषाहरु र तिनको परिचय
(क) कुसुन्डा भाषा
यो भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा टुनी बोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । परिवार र छरछिमेकमा अर्को बोल्ने मान्छे नै नभएकाले देउखुरीकी ज्ञानी मैयाँ सेन र दाङका प्रेम बहादुर शाही आफ्नो परिवारमा कसैसित पनि आफ्नो मातृभाषा बोल्न पाउँदैनन् । त्रिभुवन विश्व विद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका वेलामा कीर्तिपुरका एउटै डेरामा बस्ता कमला खत्री, ज्ञानी मैयाँ सेन र प्रेम बहादुर शाहीले आफ्नो मातृभाषामा बोल्ने मौका पाएका थिए । त्यति वेला उनीहरूले बिर्सिसकेको भाषा पनि केही पलाएको अनुभव गरेका थिए । ती तीन जना बाहेक कुसुन्डा भाषा बोल्न सक्ने अर्घाखाँचीमा अरू दुई जना कुसुन्डा भाषा बोल्न सक्छन् भन्ने सूचना ज्ञानी मैयाँ सेनले दिएकी छिन् । कुसुन्डा भाषाको सामान्य अभिलेखीकरण त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभाग र नेपाल आदिवासी उत्थान राष्ट्रिय प्रतिष्ठान मिलेर गरेका छन् (हेर्नू वाटर्सहरू २००५ इ), तर त्यो भाषा लोप नहुँदै त्यसको सघन अभिलेखीकरण गरिहाल्नु पर्ने खाँचो छ ।
(ख) द्रविड परिवारको भाषा
अहिले सम्म एउटा झाँगड (कुडुँख वा उराउँ) मात्र जानकारीमा छ । त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले कुडुँख भाषामा पनि एउटा एमए तहको अनुसन्धान (सापकोटा २००६ इ) गराएको छ ।
(ग) आग्नेय परिवार
आग्नेय परिवारका सतार, सन्थाल अथवा सन्ताल र खडिया गरी दुइटा भाषा नेपालमा बोलिन्छन् । खोजी पसे, वन करुवा भाषा झापामा भेटिन सक्छ । त्यो भाषा भेटियो भने, नेपालमा आग्नेय परिवारका सन्ताल र खडिया बाहेक तीन ओटा भाषा पुग्छन् । त्यो भाषा फेला परे, वन करुवा र मकवानपुरको वन करिया एउटै हो कि फरक भाषा हो, छुट्याउन पनि सजिलो पर्ने थियो । मकवानपुरको वनकरिया चाहिँ चेपाङ र भुजेल भाषासित नजिकैको साइनो लाग्ने भोट बर्मेली परिवारको भाषा हो ।
हालसालै रामकृष्ण उराँव (कुराकानी) ले दिएको सूचना अनुसार कुनै अर्को मुण्डा भाषा बोल्ने मान्छे उनले झापामा फेला पारेका छन् । कुरो ठीक ठहर्यो भने, नेपालमा आग्नेय परिवारका भाषा चार ओटा सम्म पुग्न सक्ने सम्भावना छ । भाषा विज्ञान विभाग र जन जाति प्रतिष्ठानको अभिलेखीकरणमा यस पालि सन्ताल भाषा परेको छ ।
(घ) भोट बर्मेली परिवारका भाषाहरू :
क) नेपालमा झन्डै ७० ओटा भोट बर्मेली भाषा पुग्छन् भन्ने कुरो एथ्नोलग (२००२इ) मा लेखिएको छ । जस्मा
आदि वर्ग र उपवर्ग पर्छन् । नेपालमा बोलिने भोट बर्मेली परिवारका धेरै भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् ।
- पूर्वी किराँती (१४ ओटा),
- केन्द्रीय किराँती (१३ ओटा),
- पश्चिमी किराँती (२२ ओटा),
- तामाङ–गुरुङ समूह (१४ ओटा),
- हिमालीवत् (८ ओटा),
- बारिक समूह (मेचे र लेप्चा) र अज्ञात समूह (२ ओटा),
ख) तामाङिक समूहसित नजिकैको साइनो लाग्ने भोट बर्मेली परिवारको दुरा भाषा बोल्न जान्ने भन्ने अड्कल गरिएकी लम्जुङ दुरा डाँडाकी त्रियासी वर्षकी सोमा माया दुराले बोल्ने भाषा पनि दुरा भाषा नभएर नेपाली भाषाको एउटा पाल्सी कुरो मात्र हो भन्ने अड्कल गर्नु पर्ने भएको छ । त्यस स्थितिले गर्दा मनरूपा गुरुङसँगै दुरा भाषा लोप भइसकेको बुझिएको छ, तर राष्ट्रिय जनगणनामा दुरा भाषा बोल्नेको सङ्ख्या झन्डै साढे तीन हजार देखिन्छ ।
ग) धनकुटा मुगामा मुगाली राईहरू आफ्नो छुट्टै भाषा जोगाउन सकिरहेका छन् कि छैनन् थाह छैन । सङ्खुवा सभा तिरको साम भाषा बोल्न सक्ने राईहरू बाँकी छैनन् । लुलाम राई बोल्न सक्ने खोटाङमा कति जना छन् भन्न सकिँदैन । भाषिक मृत्युको सङ्घारमा पुगेका यस्ता कति राई भाषा छन् कसैलाई पनि थाह छैन । अन्तर्भाषिकीय विवाहले गर्दा किराँती भाषामा व्यापक रूपले नेपाली भाषा तिर भाषिक अपसरण भइरहेको छ । खोजी पसे, यस्ता अनेक भोट बर्मेली भाषाहरू हाम्रा लगतमा आउने सम्भावना छ । छुक्वा, लिङखिम र वालिङ राईहरूका भाषा लोप भइसके जस्तो छ । तिलुङ राई भाषा बोल्न सक्ने अब खालि खोटाङ जिल्लामा तीन चार जना बूढा मात्र छन् ।
घ) त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले झन्डै १५ ओटा भोट चिनिया परिवारका भाषामा (पिएचडी र एमएका अनि स्वतन्त्र) अनुसन्धान गराएको छ, जस्तै :
- धिमाल (खतिवडा १९९९ इ),
- मगर (रेग्मी १९९९ इ),
- तामाङ (चालिसे १९९९ इ,
- योन्जन २००३ इ),
- सुनुवार (रापचा २००० इ),
- चाम्लिङ (राई २००१ इ),
- नेवार (प्रधान २००२ इ),
- कोयु (२००३ इ),
- भुजेल (रेग्मी २००४ इ),
- लिम्बु (सुब्बा २००५), ),
- व्याँसी (राई २००६ इ),
- चेपाङ (अधिकारी २००६ इ),
- छथरे लिम्बु (तुम्बाहाङ २००८ इ),
- बोतो बोली वा राउटे (खड्का २००६ ई),
- मेचे (भट्ट २००५ इ),
- हायु (तिमिल्सिना २००६ इ), (भुसाल २००६ इ),
- बाहिङ (फुँयाल २००६ इ), (थोकर २००६ इ),
- दुरा (नागिला २००७ इ),
- दनुवार (श्रेष्ठ २००८ इ) र
- राजी (खत्री २००८ इ, साह २००८ इ, राई ), ।
(ङ) भारोपेली परिवारका भाषा
नेपालमा यस परिवारका २६ ओटा एथ्नोलगको गन्तीमा परेका छन् । जनगणना अनुसार चाहिँ नेपालमा २९ ओटा भारोपेली भाषा भएको उल्लेख छ । अहिले भारोपेली आर्य परिवारका पहाडमा चुरौटे (मियाँ) र माझी र तराईमा अङ्गिका, बज्जिका, मगही, जस्ता भाषाहरू पनि अनुसन्धान पर्खिरहेका छन् । त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागले नै झन्डै १० ओटा भारोपेली भाषामा एमए तहको अनुसन्धान गराइसकेको छ जसमा निम्न लिखित भाषाहरू पर्छन् :
- दनुवार (बन्जाडे २००२ इ, खनाल २००५ ई, भण्डारी २००१ इ),
- दराई (ढकाल २००७ इ, पौडेल ),
- बोटे (प्रसाईँ १९९९ इ, पौडेल १९९९ इ),
- थारू (बोएम १९९७ इ, चौधरी २००५ इ),
- राजवंशी (पौडेल २००५ इ, वाइल्ड २००७ इ),
- संस्कृत (तिमिल्सिना २००४ इ), भोजपुरी (ठाकुर २००६ इ),
- कुमाल (पराजुली २००० इ, गौतम २००० इ),
- चुरौटी वा मियाँ (नेउपाने २००० इ),
- माझी (ढकाल २००८ इ),
- साद्री वा सदनी (उराउँ २००८ इ) ।
महेश चौधरीको अनुसन्धानका आधारमा थारू भाषामा छ सात ओटा भाषिक भेद देखिन्छन् । थारू भाषा पूर्वमा मैथिलीबाट, बीचमा भोजपुरीबाट र पश्चिममा अवधीबाट छुट्याउनु पर्ने पनि आवश्यकता छ ।
परम्परागत रूपले नेपाली भाषाका भाषिका भन्ने गरिएका कर्णाली प्रस्रवण क्षेत्रका डोट्याली, जुम्ली, हुम्ली, बझाङी, दार्चुलाली, अछामी, कालीकोटे, जस्ता मातृभाषाहरू आफ्नो फरक चिनारी खोजिरहेका छन् । जनगणना (२०५८) को प्रारम्भिक लगतमा तिनीहरूलाई छुट्टै भाषा मानिएको थियो भने पछि एउटै भाषाका भाषिका मानिएको छ । नेपाली नबुझ्ने ती मातृभाषाका केटा केटीलाई प्राथमिक तह सम्म उनीहरूकै मातृभाषामा शिक्षा दिनु न्याय सङ्गत होला कि नेपाली भाषामै शिक्षा दिनु न्याय सङ्गत होला भन्ने कुरो शिक्षा शास्त्रीहरूले ठेगान लगाउनु बाँकी नै छ।
राष्ट्रिय भाषा नीति तथा सुधार सुझाव आयोगको सिफारिस र कार्यान्वयन
आजभन्दा डेढ दशक अगाडि सरकारले वैरागी काइँलाको संयोजकत्वमा नेपालका मातृभाषाको संरक्षण र विकास कसरी गर्ने भन्ने अध्ययन गरी सरकारलाई सुझाव दिन राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन गरेको थियो। त्यस आयोगले देशभरका विभिन्न मातृभाषी विद्वान, नेता, जनजाति महासंघका प्रतिनिधिहरू, भाषावैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षक र पाठ्यक्रमविद्हरूका बीच व्यापक अन्तरक्रिया गरेर आफ्नो प्रतिवेदन (२०५०) सरकारलाई बुझाएको थियो। त्यस प्रतिवेदनले आफ्ना सुझावहरू निम्नलिखित चार ओटा वर्गमा बाँडेको थियो :
क) मातृभाषाहरूको विकास तथा संरक्षण कसरी गर्ने भन्ने सुझावहरू,
ख) मातृभाषाहरूको अध्ययन, अनुसन्धान, उत्थान र विकासका लागि नीति निर्माण गर्न, भाषा सम्बन्धी योजना तर्जुमा गर्न सम्बन्धित निकायलाई सुझाव दिन अन्तरक्रिया गर्न र निरन्तर अनुगमन गर्न राष्ट्रिय भाषा परिषद् भन्ने एउटा छुट्टै संस्था गठन गर्नुपर्छ भन्ने सुझावहरू,
ग) शिक्षामा मातृभाषाहरूको प्रयोग कसरी गर्ने भन्ने सुझावहरू र
घ) अन्य विविध सुझावहरू जम्मा अन्ठाउन्न मध्ये पहिलो वर्गमा परेका अठार ओटा सुझावहरूमा निम्नलिखित मुख्य थिए :
१) मातृभाषाको विकास गर्नु अघि नेपालमा कति मातृभाषाहरू छन् र ती कुन कुन अवस्थामा छन् भन्ने भरपर्दो जानकारीका लागि भाषिक सर्वेक्षण गर्नुपर्छ।
२) एउटै मातृभाषाका अनेक स्थानीय भेद (भाषिका) भएमा कुन चाहि भेदलाई मानक भेद रोज्ने भन्ने मानकको चयन गर्नुपर्छ।
३) मानकको चयन भएपछि त्यो भाषा कुन लिपिमा कसरी लेख्ने भन्ने लेखन पद्धतिको टुङ्गो लगाउनुपर्छ।
४) कुनै भाषा लेख्नका लागि त्यस भाषाको वर्णको निर्धारण गर्नुपर्छ अर्थात् वर्णमाला बनाउनुपर्छ।
५) कुनै भाषा लेख्ता वर्ण विन्यासमा एकरूपता हुनुपर्छ।
६) विभिन्न मातृभाषाहरूमा शब्द भण्डार वा शब्द कोश बनाउनुपर्छ। शब्द कोषहरू पनि आवश्यकता अनुसार एकभाषिक, द्विभाषिक र बहुभाषिक बनाउनुपर्छ।
७) सबै मातृभाषाहरूको व्याकरण बनाउनुपर्छ।
८) मातृभाषाहरूको क्षमता र सम्भाव्यतालाई दृष्टिगत गरी तिनीहरूको प्रयोग क्षेत्रको निर्धारण र विस्तार गर्नुपर्छ।
९) क्षेत्रीय र केन्द्रीय दुवै तहका रेडियो प्रसारणमा मातृभाषाको क्षमतालाई ध्यानमा राखी प्रयोग र विस्तार गर्दै लैजानुपर्छ।
१०) टेलिभिजनमा मातृभाषाका कार्यक्रमहरू समावेश गर्नुपर्छ।
११) स्थानीय प्रशासनमा स्थानीय भाषाको प्रयोगलाई प्रश्रय दिंदै जानुपर्छ।
१२) राष्ट्रभाषालाई बढी भन्दा बढी श्रोता र पाठकहरूलाई बोधगम्य हुने गरी सरलीकरण गर्दै लैजानु आवश्यक देखिन्छ।
१३) तत्काल ‘विशेष कार्यक्रम’ तयार गरी लोपवान् भाषाहरूको संरक्षण गर्नुपर्छ।
पहिलो वर्गका अठार ओटा सुझाव मध्ये क्षेत्रीय र केन्द्रीय रेडियो प्रसारणमा केही मातृभाषामा ५ मिनटको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। यसरी प्रसारण व्यवस्था मिलाउँदा उक्त प्रतिवेदनको भावनालाई वास्ता गरिएको छैन, त्यसैले मातृभाषाको चयन गर्दा पनि हचुवाका भरमा मात्र गरिएको छ। तिथिमितिको हिसाब राख्नु हो भने मातृभाषा नीति सुझाव आयोगको प्रतिवेदन बुझाउनु भन्दा अगाडि नै सरकारले केही मातृभाषामा केन्द्रीय र क्षेत्रीय तहमा प्रसारण गर्ने व्यवस्था मिलाएको देखिन्छ।
सुझाव आयोगको प्रतिवेदनको दोस्रो खण्डमा परेको सुझाव अनुसार नेपालका मातृभाषाहरूको संरक्षण र विकासका लागि आवश्यक नीति निर्धारण, सुझाव र अनुगमन गर्न देश भित्रका सबै मातृभाषाहरूको निरन्तर पृष्ठपोषण गर्ने “मातृभाषा परिषद्” भन्ने एउटा छुट्टै संस्थाको गठन गर्नुपर्छ भन्ने कुरो त्यसै थन्किएको छ। अहिले तीन ओटा प्रज्ञा प्रतिष्ठानको तर्जुमा भए पनि भारतको वा चीनको जस्तो भाषा एकेडेमी बनाउने दिशामा नेपालले बुद्धि पुर्याउन सक्ने छाँट छैन।
सुझाव आयोगको प्रतिवेदनको तेस्रो खण्डमा तेत्तीस ओटा सुझावहरू परेका छन् जसमा मातृभाषामा शिक्षा दिन भाषिक क्षेत्र, विद्यालयमा उपस्थित विद्यार्थीहरूको संख्या, विद्यालयको तह आदि अनेक कुराहरूलाई ध्यानमा राखेर कस्तो माध्यम रोज्ने, कुन तह सम्म मातृभाषामा शिक्षा दिने, शिक्षकको व्यवस्था कसरी गर्ने, पाठ्य पुस्तक कसरी बनाउने र पाठ्य पुस्तक बनाउँदा कुन कुन कुराको ख्याल राख्ने, आदि अनेक पक्षहरूमा मसिनो गरी केलाएर सुझाव दिइएको छ। प्रतिवेदनको तेस्रो खण्डको सुझावको भावनासँग ठ्याक्कै मेल खाने गरी चाहिँ होइन, तर केही मातृभाषामा प्राथमिक तहमा शिक्षा दिने पाठ्यक्रम तर्जुमा गर्ने र पाठ्य पुस्तक लेखाउने काम पाठ्य क्रम विकास केन्द्र, सानो ठिमीले गरेको थाह भएको छ । यति मात्र कामले मातृभाषाको संवर्धन र संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने छाँट देखिँदैन ।
चौथो खण्डमा परेका छ ओटा सुझावहरू मध्ये सरकारी प्रयासबाट नभए पनि त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विभाग दश वर्ष अगाडि खुल्यो, तर राष्ट्रिय जनगणनामा भाषाविद्हरूलाई विशेषज्ञका रूपमा संलग्न गराइने सुझाव चाहिँ प्रभावकारी रूपमा लिइएन।
यसरी राष्ट्रिय भाषा नीति सुझाव आयोगले पन्ध्र वर्ष अगाडि प्रतिवेदनमा दिएका अन्ठाउन्न ओटा सुझाव मध्ये दुई तीन ओटा सुझावका बाटामा मात्र केही प्रगति भएको देखिन्छ, तर उक्त प्रतिवेदनलाई सरकारले थन्क्याइदियो, संवेदनशील भएर कार्यान्वयन गरेको देखिएन।
यसैबीच डा. बल्लभमणि दाहालको नेतृत्वमा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग (२०५५) बन्यो। त्यस आयोगले पनि मातृभाषाको विकास कसरी गर्ने भन्ने विषयमा सुझावहरू बटुल्यो। त्यस्तै डा. रामावतार यादवको संयोजकत्वमा मातृभाषामा पाठ्यक्रम कसरी बनाउने भन्ने विषयमा पनि भाषा वैज्ञानिकहरूको सुझाव शिक्षा मन्त्रालय अन्तर्गत पाठ्य क्रम विकास केन्द्र, सानो ठिमीले संकलन गर्यो। त्यस केन्द्रले मातृभाषाको पाठ्य क्रम र पाठ्य सामग्री बनाउँदा ती सुझावहरूलाई कत्तिको अनुसरण गरेको छ, त्यो त्यति थाह भएको छैन।
गत डेढ दशक जतिको परम्परालाई हेर्दा खालि एक पछि अर्को आयोग बनाउने, सुझाव बटुल्ने, कागज थन्क्याउने, तर कार्यान्वयनको दिशा तिर चाहिँदो मात्रामा उन्मुख नहुने सरकारी प्रवृत्ति देखिएको छ।
जन गणना (२०५८) को लेखाजोखा :
राष्ट्रिय जनगणनाका तथ्याङ्कमा निम्नलिखित समस्याहरू देखिन्छन् :
(ख) कुसुन्डा : अलग्ग परिवारको भाषा
राइन्हार्ट र तोबा (१९७०इ) को प्रतिवेदन अनुसार नेपालमा कुसुन्डा भाषा बोल्ने एउटा मात्र वक्ता बाँकी थियो । पछि त्यो पनि मरेपछि कुसुन्डा भाषा लोप भएको सूचना आएको थियो । सं. २०५३ दाङमा प्राध्यापक चूडामणि बन्धुले प्रेम बहादुर शाही भन्ने एक जना कुसुन्डा भाषाका वक्ता कहाँ केही भाषा वैज्ञानिकलाई पुर्याउँदा प्रेम बहादुरले आफ्नो मातृभाषा ६४ प्रतिशत बिर्सिसकेका थिए । पछि जनजाति प्रतिष्ठानमा बी.के. रानाले तनहुँबाट राजामामालाई राजधानीमा ल्याएपछि राजामामालाई उनको मातृभाषाका शब्द २२ प्रतिशत मात्र आउँदो रहेछ भन्ने थाह भएको थियो । बी.के. रानाबाट रोल्पाकी पुनी ठकुरी र देउखुरीकी ज्ञानी मैया सेनको नाम पाए पछि कुसुन्डा भाषाका वक्ता खोज्न आदिवासी महिला मञ्चले रोल्पा र दाङ गएर ज्ञानी मैया सेन र पुनी ठकुरीकी छोरी कमला खत्रीलाई खोजेर काठमाडौँ ल्यायो। माथि उल्लेख भए झैँ कुसुन्डा भाषाका तिनै दुइटी वक्ता र दाङका प्रेम बहादुर शाही समेतलाई कीर्तिपुरको एउटै डेरामा राखेर भाषा विज्ञान केन्द्रीय विभागले कुसुन्डा भाषाको अभिलेखीकरण गर्यो । त्यस अभिलेखीकरणले कुसुन्डा भाषाको एउटा शब्द कोश र व्याकरण (हेर्नू वाटर्सहरू २००५ इ) बनाएर प्रकाशित गरेको छ । कुसुन्डा भाषा बारे जनगणनाको तथ्याङ्क पनि मिथ्याङ्क नै भएको छ, किन भने जनगणनाको तथ्याङ्क (परिशिष्ट ४.२) अनुसार कुसुन्डा वक्ताहरूको सङ्ख्या पनि ८७ छ अनि ५३% कुसुन्डा भाषीहरूले आफ्नो मातृभाषा जोगाएको (पृ १५३) देखिन्छ । त्यस्तै कुसुन्डा भाषा बोल्ने अहिले ५-६ जना मात्रै छन्, तर जनगणनाले कुसुन्डा भाषाका वक्ताहरूको सङ्ख्यामा ५३% वृद्धि भएको देखाउँछ । जनगणनाको तथ्याङ्को भर पर्ने हो भने लोप भइसकेको दुरा भाषा र एउटा परिवारमा दुई जनाले मात्र बोल्न पाइरहेको कुसुन्डा भाषा बारे त्यति फिक्री गरिहाल्ने वेला भइसकेको छैन ।
अर्का तिर संसारभरमा अर्को कुनै भाषासँग पारिवारिक साइनो नभएको कुसुन्डा भाषालाई जनगणनाले भोट बर्मेली परिवारमा गाभिदिइएको छ ।
(ख) द्रविड परिवार
नेपालमा अहिलेसम्म द्रविड भाषा उत्तरपूर्वी शाखामा पर्ने झाँगड मात्र पाइएको थियो । अरूले झाँगड भने पनि झाँगडहरू आफूलाई ‘कुडुँख’ वा उराउँ भन्दछन् । जनगणनाको वर्त्तमान प्रारम्भिक तथ्याङ्कमा यस भाषालाई झाँगड (कोशीपूर्व प्रचलित नाम) र धाँगर (कोशी पश्चिम प्रचलित नाम) भनिएको छ र तिनीहरूको छुट्टाछुट्टै गणना गरिएको थियो, तर प्रतिवेदन प्रकाशित गर्दा दुवैलाई एउटैमा मिलाइएको छ । यसको अर्थ के भयो भने, एउटै भाषालाई अनेक नाममा गणना गरिने स्थिति पनि प्रारम्भिक तथ्याङ्कमा देखिन्छ । अर्कातिर दक्षिण द्रविड शाखाको हुन सक्ने ‘कोटा’ भाषा तथ्याङ्कमा ‘कोठा’ भन्ने नाममा देखिन्छ भने यसै शाखाको मलयालम भाषाका वक्ता पनि गणनामा परेका देखिन्छन् । यी भाषा नेपालमा पाइएकै भए नेपालमा द्रविड परिवारका भाषा पनि अनेक हुन सक्छन्, तर जनगणनाबाट भाषाको पत्यारिलो तथ्य पाउन गारो छ ।
ब्रेटन (१९९७ इ) को सिको गरेर होला जनगणनाको वर्गीकरणमा ‘कुडुँख’ र ‘झाँगड’ लाई फरक फरक द्रविड भाषा मानिएको छ, तर ‘झाँगड’ वा ‘धाँगड’ उनीहरूलाई बाहिरियाले बोलाउने नाउँ हो भने ‘कुडुँख’ वा ‘ओराउँ’ उनीहरूले आफैँलाई चिनाउने नाउँ हो ।
(ग) आग्नेय परिवार
त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान विभागको स्थलगत अध्ययनका क्रममा झापामा खडिया भाषा भेटिए पछि नेपालमा सतार र खडिया गरी दुई ओटा आग्नेय परिवारका भाषा भएका छन्, तर जनगणनामा आग्नेय परिवारका हुन सक्ने निम्नलिखित नाम परेका छन् :
१. मुण्डा/मुण्डारी/मुनारी२. सन्ताली/सन्थाली/सन्तार/सतार/सरदार?/सर्ना
३. करुवा (अथवा कोरुवा)
४. खडिया
भाषा विज्ञान विभागको स्थलगत सर्वेक्षणका क्रममा झापामा भेटिएका करुवाहरू चाहिँ छुट्टै भाषा बोल्न सक्तैनथे। उनीहरूको भनाइ अनुसार वन करुवाको चाहिँ छुट्टै मातृभाषा छ । जनगणनामा उल्लेख गरिएको करुवा छुट्टै मातृभाषा भएको वन करुवा हो भने चाहिँ नेपालमा आग्नेय परिवारको भाषा सतार, खडिया र करुवा गरी तीन किसिमको हुन सक्छ । नेपालमा आग्नेय परिवारको करुवा भाषा भए–नभएको निर्णय जनगणनाका गणकहरूबाट हुँदैन, भाषावैज्ञानिक सर्वेक्षणका आधारमा मात्र हुन्छ । आफूलाई ‘मुन्डा’ भाषाका वक्ता भनेर चिनाउने पनि केही व्यक्तिलाई झापामा भेट्ता तिनीहरूको चाहिँ छुट्टै भाषा थिएन, तर रामकृष्ण उराँव (कुराकानी) ले हालसालै दिएको सूचना अनुसार उनले बेग्लै भाषा बोल्ने मुण्डा वक्ता फेला पारेका छन् । उनको भनाइ पनि ठीक भए नेपालमा आग्नेय परिवारको अर्को भाषा पनि थपिन सक्छ । ब्रेटन (१९९७ इ) ले चाहिँ नेपालमा खेर्बारी (मुण्डारी) भाषा पनि भएको उल्लेख गरेकाले हाम्रो जनगणनाको तथ्य ठीक हुन पनि सक्छ। झापामा सुनेको ‘वन करुवा’ र मकवानपुरमा पाइने ‘वन करिया’ एउटै भाषा बोल्ने हुन् कि फरक हुन्, त्यो छुट्याउन पनि तुलनात्मक अध्ययन गर्नु पर्ने आवश्यकता छ । झापाका वन करुवा चाहिँ आग्नेय परिवारको भाषा बोल्ने हुन सक्ने सम्भावना छ तर भाषा विज्ञान विभागमा हालसालै गरिएको अभिलेखीकरण अनुसार मकवानपुरको वन करिया चाहिँ चेपाङ र भुजेल भाषासँग नजिकैको साइनो राख्ने भोट बर्मेली भाषा बोल्ने हो ।
भाषा विज्ञान विभागको उक्त अध्ययन भ्रमणले झापामा खडियाहरूलाई झाँगड (उराउँ) गाउँमा भेटेको हो। त्यहाँ खडियाहरूले आफूलाई पहिले झाँगड भनेर चिनाएका थिए । तिमीहरू झाँगड होइनौ खडिया हौ भनेर टोलीले भाषा विश्लेषण गरे पछि भन्दा उनीहरूले भने, “हुन त हामी खडिया नै हौं, तर यहाँ सबैले हामीलाई झाँगड नै भन्दछन्। जनगणनामा आउनेले पनि हामीलाई झाँगड भनेरै टिप्ने गरेकाले हामीले पनि आफूलाई झाँगड भनेर चिनाउन थालेका हौं।” जनगणनाको तथ्याङ्कलाई मिथ्याङ्क बनाउने यस्तो घटना भविष्यमा दोहोरिन दिनु हुँदैन ।
(घ) भोट बर्मेली परिवार
क) सोम माया दुराले बोल्ने भाषा दुरा भाषा नभएर नेपाली भाषाकै पाल्सी कुरा जस्तो देखिने हुनाले दुरा भाषा बोल्ने अन्तिम वक्ता मनरूपा गुरुङ बितेकाले अब दुरा भाषा लोप भइसके जस्तो छ, तर जनगणना अनुसार दुरा भाषाका वक्ताहरूमा ६५.७ % वृद्धि भएको (पृ १५३) देखिन्छ ।
ख) परस्पर पटक्कै नबुझिने फरक फरक मातृभाषा बोल्ने किराँती भाषाहरूलाई पहिलेको जनगणनामा राई–किराँती भन्ने साझे नाम भित्र समावेश गरिएको थियो। त्यसमा लिम्बू मात्र छुट्टै थियो। यस जनगणनामा राई किराँतीहरूले आफ्नो मातृभाषाको छुट्टै परिचय दिन खोजेको देखिन्छ, जस्तै :
१. किराँती२. बान्तावा
३. छाङ्छा
४. चाम्लिङ
५. कुलुङ
६. साम्पाङ
७. थुलुङ
८. याक्खा
९. खालिङ
१०. उम्बुले
११. आम्तेके
१२. बाहिङ/बाखिङ
१३. बलाली
१४. बाङ्देल
१५. छिन्ताङ
१६. छिलिङ
१७. नाछिरिङ
१८. दिल्पाली
१९. दुमी
२०. कोयु/कोई
२१. हायु
२२. लिङ्खिम
२३. लोहोरुङ
२४. मुगाली
२५. लाम्बिछोङ
२६. मेवाहाङ
२७. रुम्दाली
२८. सुङ्देल
२९. सोताङ
३०. वालिङ
३१. याम्फु
३२. सुनुवार/मारपाचे/मुखिया, आदि
यिनीहरूमध्ये केही नामले छुट्टै भाषा बुझाउँछन्, केहीले थर मात्र, केहीले जात मात्र र केहीले स्थानीय भेद मात्र बुझाउँछन् । यी बाहेक किराँतीहरूका अरू अनेक थरहरूको गणना मातृभाषामा गरिएको छ। अर्कातिर खोटाङमा भेटिएको लुलाम राईको गणना कतै पनि गरिएको देखिंदैन। त्यस्तै सङ्खुवासभा जिल्लाका तोम्याङ अथवा चाङ्खा राई भाषाको उल्लेख मातृभाषामा कतै पनि छैन। त्यस्तै मगर पाङ (खाम), बेलाहारे राई, आठपहरिया राई र छथरे लिम्बू भाषामा पिएचडी नै भइसकेको भए पनि जनगणनाको तथ्याङ्कमा त्यो कुरो प्रतिबिम्बित हुँदैन ।
ग) जनगणना अनुसार छिन्ताङ राई भाषाका वक्ताहरूको सङ्ख्या ४ जना मात्र छ, तर त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभाग र लाइप्चिख विश्व विद्यालयको संयुक्त परियोजना (छिन्ताङ-पुमा अभिलेखीकरण परियोजना) अनुसार छिन्ताङ राई भाषाका वक्ताहरूको वास्तविक सङ्ख्या चाहिँ लगभग ४ हजार छ ।
घ) जनगणनाले २५ ओटा राई भाषाहरू ठहराएको छ, तर १९८१-८४ इ मा जर्मन सरकारले नेपालका राई-किराँती भाषाहरूको सर्वेक्षण गर्दा राई-किराँती भाषाहरूको सङ्ख्या ३४ ओटा तोकेको छ । यसरी वैज्ञानिक सर्वेक्षणको नतिजासँग जनगणनाको नतिजा बाझ्न पुगेको छ । जनगणनामा उल्लेख नभएका राई भाषालाई नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संस्थाले आर्थिक सहयोग दिन पनि गारो भइरहेको छ । यसरी थुप्रै किराँती भाषाहरू दोहोरो मारमा परेका छन् ।
ङ) जनगणनामा थामी भाषालाई तिब्बती मूलको (बोडिस) भाषा मानिएको छ । त्यो गलत हो । थामीलाई बरु ‘किराँती’ वर्गमा राखेको भए हुन्थ्यो ।
च) जनगणना को प्रतिवेदन अनुसार तिब्बती मूलका (बोडिस) जिरेल, ह्योल्मो, दुरा, कागते र काइके भाषालाई ‘किराँती भाषा’ मा गणना गरिएको छ (हेर्नू ४: १५२) ।
(ङ) भारोपेली परिवार
१) पञ्चायती व्यवस्थाको पछिल्लो जनगणना (२०३८) मा नेपाली भाषा मातृभाषा हुनेहरू ५८.३६ प्रतिशत पुगेका थिए, २०४८ मा तिनीहरू ५०.३ प्रतिशत भए भने, अहिलेको तथ्याङ्कमा त्यो संख्या घटेर ४८.६१ प्रतिशत पुगेको देखिन्छ। त्यसै समयमा नेपालका अरू केही मातृभाषाका वक्ताहरूको सङ्ख्या चाहिँ बढेको देखिन्छ, जस्तै :
तालिका १: राष्ट्रिय जनगणनामा नेपाली भाषाको तुलनात्मक स्थिति
मातृभाषा
|
२०३८
|
२०४८
|
२०५८
|
नेपाली
|
५८.३६
|
५०.३१
|
४८.६१
|
मैथिली
|
११.११
|
११.८५
|
१२.३०
|
थारू
|
३.६३
|
५.३७
|
५.८६
|
अवधी
|
१.५६
|
२.०३
|
२.४७
|
भोट चिनिया
|
१२.०६
|
१६.७६
|
१८.४०
|
स्रोत : राष्ट्रिय जनगणना २०५८
नेपालमा द्विभाषिकताको स्थितिलाई हेर्दा यो तथ्याङ्क पत्यारिलो देखिँदैन, त्यसैले नेपाली भाषालाई मातृभाषाको रूपमा बोल्नेहरूको सङ्ख्या वा प्रतिशत घटेको देख्ता गएका डेढ दशकमा अरू मातृभाषाको सङ्ख्या चाहिँ बढेछ भन्ने ठान्नु हुँदैन।
२) यस जनगणना कालमा मातृभाषाका सूचकहरूले आफ्नो छुट्टै परिचय दिन खोजेको देखिन्छ। अहिले सम्म आफ्नो मातृभाषा नेपाली हो भनेर चिनाउनेहरूले यस पाला आफ्नो मातृभाषा डोट्याली, बैतडेली, बझाङी, बाजुराली, डडेल्धुराली, दैलेखी, दङाली, हुम्ली, जाजरकोटी, जुम्ली, कालिकोटे, पर्वते, प्युठाने, सुर्खेती, दार्चुलाली, अछामी, मुगुले, कस्केली र पूर्वेली भनेर चिनाएको पाइन्छ। अघिल्लो जनगणनामा यो प्रवृत्ति डोटी, बैतडी र रोल्पामा मात्र देखिएको थियो। यस जनगणनामा त्यसै प्रवृत्तिमा विस्तार भएको देखिन्छ । अर्कातिर सम्भवतः मातृभाषा नेपाली नै हुने केही सूचकहरूले आफ्नो मातृभाषा विश्वकर्मा, दर्जी, धामी, गाइने, गिरि, खस, वरपच्छिमा र सिक्किमेली भन्ने पनि टिपाएको पनि पाइएको छ ।
३) जनगणना (४: १४०) ले किसान र सधनी (सदनी वा साद्री) लाई फरक भाषाका रूपमा चिनाएको छ । त्यसै प्रतिवेदनको अर्का तिर (४: १४७) किसान भाषालाई उत्तरी द्रविड भाषाका रूपमा वर्गीकरण गरेको छ, तर नेपालमा किसान जातिहरू सधनी भाषा नै बोल्छन् । तिनीहरूलाई दुइटा भाषा नभएर एउटै भाषाका रूपमा चिन्नु पर्छ अनि भाषा विज्ञान विभागको अभिलेखनका आधारमा किसान भाषा नेपालमा द्रविड परिवारको नभएर भारोपेली आर्य परिवारको भाषा हो ।
४) जनगणनाले झन्डै १ लाख ७० हजार वक्ताहरूलाई ‘अज्ञात परिवारका भाषा’ ( यादव : १४०) ठहराएको छ । त्यस सङ्ख्या भित्र कुन कुन भाषाका वक्ता पर्दा रहेछन् त्यसको भाषा वैज्ञानिक अनुसन्धान हुनु आवश्यक छ ।
५) जनगणनाले कोचे भाषालाई ‘विदेशी भाषा’ (४: १४०) भनेर चिनाएको छ, तर त्यो त राजवंशी भाषाकै अर्को नाम हो । हाम्रो जानकारीमा कोचे, राजवंशी, ताजपुरिया र गन्गाई एउटै भाषाका अनेक नाम हुन् ।
६) जनगणनाले भारोपेली आर्य परिवारका दनुवार र बोटे भाषालाई ‘भोट-चिनियाँ’ परिवार भित्र वर्गीकरण गरेको छ (हेर्नू ४: १४१)
७) जनगणनाले हिन्दी भाषाका वक्ताको सङ्ख्या चाहिँ १% भन्दा कम देखाएको छ, तर जनगणनाको यस तथ्याङ्कसँग नमिल्ने गरी तराईमा हिन्दी भाषा सम्पर्क भाषा भएको दाबी (पृ १५५ मा) गरिएको देखिन्छ। हिन्दी भाषाका विषयमा गरिएको यस दाबीलाई प्रमाणित गर्ने तथ्याङ्क भने कतै पनि देखिँदैन ।
८) जनगणनाले केही मातृभाषाका वक्ताहरूको सङ्ख्या बढेको कारण मातृभाषा प्रति जातीय सचेतता बढेको व्याख्या गरेको छ (हेर्नू ४: १४०), तर मातृभाषा प्रति जातीय सचेतता बढ्नेहरूमा एउटै वक्ता पनि बाँकी नभएका दुरा, मुण्डा र दुङ्माली जस्ता भाषाको नाम दिएको छ ।
९) हर्क गुरुङ (२००२: ७-८) ले यस जनगणनामा राजवंशी र राजी भाषा बोल्नेहरूको सङ्ख्या त जनजातिको जम्मा जनसङ्ख्या भन्दा बढ्ता भएको फेला पारेका छन् ।
१०) जनगणनाले १ लाख ६८ हजार वक्ताहरूको मातृभाषा ठेगान लगाउन सकेको छैन ।
यहाँ चर्चा गरिएका केही पक्षलाई मात्र ध्यान दिंदा पनि नेपालका मातृभाषा वा मातृभाषाहरूको पत्यारिलो र भरपर्दो सूचना राष्ट्रिय जनगणनाबाट आउन नसक्ने देखिन्छ ।
हाम्रो भाषाविज्ञान विभागको स्थिति
सरकारको मुख ताक्ने, डलरको मुख ताक्ने वा अर्कै मातृभाषा हुने विद्वानको मुख ताक्ने गरेकै भरमा नेपालमा भएका सबै मातृभाषाको संरक्षण र विकास हुने छाँट छैन । यसका लागि हरेक मातृभाषा बोल्ने विद्यार्थीहरूले आफैं भाषाविज्ञान विषयको तालिम लिन तम्सिनुपर्छ भन्ने मेरो मान्यता छ। नेपालमा बोलिने सय–सवा सय ओटा मातृभाषाहरूको संरक्षण र विकास कसरी गर्ने भन्ने सीप भएको जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेरै राष्ट्रिय भाषा नीति सुझाव आयोगले त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञान विभाग खोल्ने सुझाव दिएको थियो । त्यस सुझावकै बलले नभए पनि अहिले त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञान विभाग खुलेको छ र त्यसबाट आठ नौ ओटा समूहमा विद्यार्थीहरूले एम.ए. र तिनीहरू मध्ये दुई जनाले चाहिँ पिएचडी. उपाधि पनि पाइसकेका छन्, तर अहिले सम्म उत्तीर्ण हुनेहरूमा मातृभाषाका विद्यार्थीहरूको विविधता एकदम कम छ ।
जनजाति महासंघ र आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान लगायत झन्डै फरक–फरक मातृभाषा बोल्नेहरूका फरक–फरक अनेक संघ–संस्थाहरू आफ्नो–आफ्नो मातृभाषाको विकासका लागि क्रियाशील भएपनि र बी.ए., बी.एस्सी. बी.एड्, बी.कम., बी.टेक., बी.ई., शास्त्री आदि जुनसुकै विषयमा स्नातक भएका विद्यार्थीले भाषाविज्ञानमा एम.ए. पढ्न पाउने व्यवस्था भएपनि मातृभाषा बोल्ने स्नातकहरूलाई पुग्दो सल्लाह, प्रेरणा र अभिमुखीकरण नभएकाले गर्दा एकातिर भाषाविज्ञान विभाग कोटा अनुसार विद्यार्थी नपुगेर टामाटिमी देखिन्छ भने अर्कातिर मातृभाषाको समस्या चाहिँ हिजोभन्दा आज, आजभन्दा भोलि झनझन सिकिस्त भइरहेको छ । यसमा सम्बन्धित पक्ष संवेदनशील, सचेत र सतर्क हुनु पर्ने राष्ट्रिय आवश्यकता भएको देशका भाषा वैज्ञानिकहरूले महसुस गरेका छन् ।
सङ्घीय नेपालको भाषिक समस्या तथा चुनौतीहरु
अब नेपाल सङ्घीय लोक तन्त्र हो कि सङ्घीय गण तन्त्रमा जाने कुरामा राजनीतिक पार्टीमा सहमति भएको छ । सङ्घहरू विभाजन गर्ने अनेक आधार मध्ये भाषा पनि एउटा पक्कै हुन्छ, तर सङ्घीय नेपालमा भाषाको स्थिति कस्तो हुन्छ भन्ने विषयमा सरकार र दलहरूकै तहमा पनि पर्याप्त अन्तरक्रिया र गृह कार्य भएको देखिँदैन ।
धेरै कुरा प्रस्ट नभएको वर्तमान अवस्थामा भाषा वैज्ञानिक सर्वेक्षणका अभावमा खालि राजनीतिक नारा र भावुकताका भरमा मात्र सङ्घीय राज्य सञ्चालन गर्ने
(क) मातृभाषा,(ख) सम्पर्क भाषा,
(ग) सरकारी काम काजको भाषा,
(घ) शैक्षिक भाषा,
(ङ) धार्मिक र सांस्कृतिक भाषा,
(च) क्षेत्रीय भाषा र
(छ) अन्तरराष्ट्रिय भाषा
सम्बन्धी भाषिक अवधारणा विषयमा निर्णय गर्दा परिणाम अनिष्ट हुने सम्भावना छ ।
समाजिक भाषा र वैज्ञानिक सर्वेक्षण गर्ने सरकारी योजना
यिनै समस्यालाई समाधान गर्न र नेपालका भाषाहरूको वर्तमान अवस्था चाल पाउन राष्ट्रिय योजना आयोगले यही आर्थिक वर्षदेखि त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान केन्द्रीय विभागलाई नेपालको भाषिक सर्वेक्षण गर्ने जिम्मा दिएको छ । नेपालका भाषाहरूका पूरै पक्षको सर्वेक्षण गरिसिध्याउन निकै समय लाग्छ । अहिलेलाई भाषिक सर्वेक्षणको पहिलो चरणका लागि सर्वेक्षण प्रस्ताव मस्यौदा समितिले ७ वर्षे योजना अघि सारेको छ । भाषा विज्ञान विभागले पहिलो चरणको प्रस्तावमा नेपालका भाषाहरूको समाज भाषा वैज्ञानिक सर्वेक्षण गर्ने विशेष लक्ष्य राखेको छ । समाज भाषा वैज्ञानिक सर्वेक्षणमा देश भित्र प्रयोग गरिने सबै भाषाको समाजसँग कस्तो साइनो छ भन्ने सूचना बटुल्दै हरेक भाषाको छोटो भाषा वैज्ञानिक परिचय पनि दिने लक्ष्य राखिन्छ ।
नेपालको समाज भाषा वैज्ञानिक सर्वेक्षणमा निम्न लिखित समस्यालाई ध्यानमा राख्तै प्रश्नावलीका आधारमा सूचनाहरू बटुलिन्छ :
(क) अहिले सम्म नेपालमा जम्मा कति ओटा मातृभाषा बोलिन्छन् भन्ने सर्वमान्य टुङ्गो लागेको छैन । राष्ट्रिय जन गणनाले धेरै अज्ञात भाषाहरूलाई त्यसै नजोडेर १०३ जनजातिका ९२ ओटा मातृभाषा भएको कुरो सार्वजनिक गरेको छ । समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्सले झन्डै सबा सय ओटा मातृभाषा भएको लगत एथ्नोलग (२००५ इ) भन्ने पुस्तकमा लेखेको छ । जापानी भाषा वैज्ञानिक सुएयोसी तोबाले यो सङ्ख्या ७० बाट थालेका छन् र विस्कन्सिन विश्व विद्यालयका प्राध्यापक माइकल नुननको अड्कल त्यसको दोबर छ । जन गणनाको तथ्याङ्क चाहिँ दुवैको बीचमा परेको छ । अर्का तिर छिन्ताङ राई, आठपहरिया राई, बेलाहारे राई, जस्ता अरू कति भाषाहरू एथ्नोलगले पनि गणना गरेको छैन, तर बेलाहारे राई र आठपहरिया राईमा पिएचडी स्तरको अनुसन्धान नै क्रमशः बाल्थाजार बिकेल र टङ्क नेउपानेले पूरा गरिसके अनि त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागमा छिन्ताङ भाषालाई छुट्टै मानेर अभिलेखीकरण गरिँदैछ ।
(ख) अहिले सम्म कुन भाषाका कति र कुन कुन भाषिका छन् भन्ने कुराको टुङ्गै लागेको छैन । नेपाली भाषाकै भाषिका मानिएका डोट्याली जस्ता केही मातृभाषाले जन गणनामा समेत आफ्नो मातृभाषालाई नेपालीको भाषिका मान्न अस्वीकार गर्ने प्रवृत्ति देखिएको तथ्याङ्क पञ्चायती व्यवस्थाको अन्त्य भए पछि नै देखिन थालेको छ । पछिल्लो जन गणनामा त्यो प्रवृत्ति बढेको छ । विन्टरको सर्वेक्षण (१९८१–८४ इ) ले छथरे लिम्बुलाई लिम्बुको भाषिका नभएर फरक भाषाका रूपमा चिनाएको छ । बान्तावा राई भाषाको भाषिका मानिएका छिन्ताङे, बेलाहारे र आठपहरिया राई फरक भाषाका दर्जामा पुगिसकेको प्रतीत हुन्छ । थारू भाषाका ७ ओटा भाषिका एथ्नोलगले देखाएको छ । त्यहाँ पूर्वी थारू र मैथिली, चितवन थारू र भोजपुरी अनि दाङ र कैलालीको थारू र अवधीमा समेत एसआरटी जस्ता बोधगम्यता परीक्षण गरेर भाषा भाषाका भाषिका ठेगान लगाउनुपर्ने आवश्यकता छ । गोरखा बार्पाकका घलेहरूको भाषालाई त्यो भाषा बोल्न जान्ने गुरुङहरूले गुरुङको भाषिका भन्न रुचाउँछन्, तर घलेहरू त्यसलाई गुरुङको भाषिका होइन भन्न चाहन्छन् । भाषिका सम्बन्धी यस्ता अनेक समस्या समाधान गर्नुपर्ने खाँचो मुलुक भरिका मातृभाषाहरूमा छ ।
(ग) एउटै मातृभाषाका अनेक भाषिका मध्ये कुन चाहिँलाई मानक भाषा बनाउने भन्ने कुरामा पनि विवाद पाइन्छ । गुरुङ भाषाको भाषिका लम्जुङको भाषिकालाई मान्ने कि सिक्लेसकालाई मान्ने कि पोखराकालाई मान्ने भन्ने समस्या अथवा चाम्लिङ राईको बलम्ताली भाषिकालाई मानक मान्ने कि हलेँसी अथवा रतन्छाको भाषिकालाई मान्ने भने जस्ता समस्या धेरै मातृभाषामा छन् ।
(घ) मातृभाषा भन्ने शब्दमै मानिसमा भ्रम छ । मातृभाषा भनेको आमाले बोल्ने भाषा हो कि, पुर्ख्यौली भाषा हो कि, आफूले पहिले बोल्न सिकेको भाषा हो भनेर छुट्याउन नसकिने अल्मलले गर्दा आफूले बोल्न नसक्ने भए पनि जन गणनामा आफ्नो मातृभाषा भनेर पुर्ख्यौली भाषालाई टिपाउने प्रवृत्ति पाइएको छ। यो भ्रमले गर्दा र जन गणनामा कस्ता प्रश्नावली बनाउँदा त्यस्ता भ्रमको निवारण गर्न सकिन्छ भन्ने कुराको सल्लाह जन गणनाको तथ्याङ्क बटुल्न थाल्नु भन्दा अगाडि नै भाषा वैज्ञानिकहरूसँग नगर्दा जन गणनामा मातृभाषा सम्बन्धी तथ्याङ्क नै मिथ्याङ्क भएर आएको छ। यस समस्याले गर्दा कुनै मातृभाषा वास्तविक रूपले लोप हुन लागिसकेको भए पनि जनगणनाको तथ्याङ्कले चाहिँ ढुक्क पर्नु पर्ने नै देखिन सक्छ । मातृभाषा शब्दले पारेको भ्रमले गर्दा आफ्नो मातृभाषा नेपाली नलेखाए पनि नेपाली भाषा बाहेक अर्को भाषा बोल्न नजान्ने मानिसहरू पनि थुप्रै भेटिन्छन् । नेपाली भाषाका वक्ताहरू दिनदिनै थपिइरहेका छन्, तर पञ्चायती व्यवस्थाको आखिरमा नेपाली मातृभाषा हुनेहरूको सङ्ख्या झन्डै ५८ प्रतिशत पुगिसकेको थियो, जन आन्दोलन भएको दुई वर्ष पछि मात्र लिएको जन गणना (२०४८) को तथ्याङ्कमा नेपाली मातृभाषा हुनेहरूको सङ्ख्या ह्वात्तै घटेर ५० प्रतिशत भन्दा तल पुग्यो।
(ङ) अहिले नेपाली भाषा मातृभाषा नहुने नेपालीहरूमा अनेक सामाजिक कारणले गर्दा आफ्ना छोराछोरीलाई आफ्नो पुर्ख्यौली भाषा बोल्न नसिकाएर नेपाली भाषा बोल्न सिकाउने प्रवृत्ति बढेको छ । यसले गर्दा नेपालका धेरै मातृभाषाहरूमा ‘भाषिक निरन्तरता’ र ‘भाषिक निष्ठा’ सङ्कटमा परेका छन् । त्यस्ता मानिसहरूले आफ्ना छोराछोरीका लागि परिवारमै नेपाली मात्र बढ्ता बोल्ने अथवा नेपाली बाहेक अर्को भाषा नबोल्ने गरेको पाइन्छ । यस्तो प्रवृत्ति कुन कुन मातृभाषाका वक्ताहरूमा कुन कुन ठाउँमा पाइन्छ भन्ने लगत पनि जन भाषा सवेक्षणबाट आउँछ ।
(च) धेरै किराँतीहरूमा अन्तरभाषिक विवाह पाइन्छ । यसको अर्थ के हो भने, राईहरू एउटै मातृभाषा हुने केटा र केटीको बिहे गराउन त्यति सचेत देखिँदैनन् । एक अर्काले पटक्कै नबुझ्ने ३०–३५ ओटा राई भाषाहरू नेपालमा बोलिन्छन् । अन्तरभाषिक बिहे गर्ने बितिक्कै तिनीहरूले श्रीमान् श्रीमतीकै बीचमा पनि नेपाली भाषा बोल्नु पर्ने हुन्छ । यस्ता सामाजिक कारणबाट पनि नेपालका मातृभाषा सङ्कटमा परेका छन् । कति राई भाषा लोप पनि भइसके । यति वेलै पनि १० ओटा राई भाषा लोप हुनै लागेका छन् । भाषा सर्वेक्षणबाट भाषा लोपोन्मुख बनाउने यस्ता सामाजिक समस्याको पनि वस्तुगत लगत बटुलिन्छ ।
(छ) मातृभाषा बोल्ने धेरै मान्छेहरूलाई हाम्रो गाउँका मान्छे चाहिँ अशुद्ध भाषा बोल्छन्, फलानो गाउँकाले चाहिँ हाम्रो भाषा शुद्ध बोल्छन् भन्ने भ्रम हुन्छ । भाषिक सर्वेक्षणले आफ्नै मातृभाषा सम्बन्धमा राख्ने गरेका यस्ता अनेक ‘भाषिक अभिवृत्ति’ सम्बन्धी लगत बटुल्छ । चोम्स्कीको सिद्धान्तका आधारमा कसैले पनि आफ्नो मातृभाषा अशुद्ध बोल्दैन । खालि शैक्षणिक, सामाजिक र राजनीतिक कारणले मात्र नीति निर्माताहरूले एउटा मातृभाषाका अनेक भेद मध्ये कुनै एउटालाई चाहिँ व्याकरण र साहित्य लेख्नका लागि शुद्ध र त्यस बाहेक अरू सबैलाई अशुद्ध भन्ने गरेका हुन्छन् । यसरी एउटै मातृभाषाका अनेक भेद मध्ये एउटालाई चाहिँ भाषिक विकासका लागि रोजेर त्यसैमा व्याकरण, शब्द कोश, पाठ्य पुस्तक, पत्र पत्रिका र साहित्य लेख्ने कामलाई भाषाको मानकीकरण भनिन्छ । मानकीकरण नगरी कुनै पनि भाषाको विकास गर्न सकिँदैन ।
(ज) नेपालका धेरै मातृभाषाहरू बोलचालमा मात्र सीमित छन् । बोलचालको स्तरबाट उकास्न जुनसुकै मातृभाषाको विकासका लागि त्यसको मानकीकरण गर्नै पर्छ । लेख्य परम्परा नभएका त्यस्ता मातृभाषाका अनेक भेदहरू मध्ये मानकीकरण गरिएको एउटा भेदलाई चाहिँ भाषा र मानकीकरण नगरिएका बोलचालमा मात्र सीमित अनेक भेदलाई चाहिँ भाषिका भन्ने चलन छ । लेख्य परम्परा नै नभएका भाषाको मानकीकरण गरिएको हुँदैन, यसैले नेपालमा भएका झन्डै ९० प्रतिशत भाषाको मानकीकरण गरिएकै छैन । मानकीकरण नगरिएकाले कुन चाहिँ भेदलाई भाषा मान्ने कुन चाहिँ भेदलाई भाषिका मान्ने भन्ने कुरामा अन्योल पाइन्छ । लिम्बु भाषाको पाँचथरको भेदलाई चाहिँ मानकीकरण गरिएकाले भाषा र ताप्लेजुङे, फेदाप्पे, र छथरे भेदलाई चाहिँ लिम्बुका भाषिका मान्ने चलन छ । हुन चाहिँ मानकीकरण गरिएको भेद पनि एउटा भाषिका नै हो । भाषा सर्वेक्षणले नेपालभरका मातृभाषाहरूका मानकीकरण गर्नु पर्ने भेद ठम्याउँछ । कुनै पनि मातृभाषाको विकासका लागि यो निर्णय ज्यादै ठूलो पूर्वाधारमय फड्को साबित हुन्छ । सर्वेक्षण पछि नेपालका सबै मातृभाषाहरूको स्तर थाह हुन्छ ।
(झ) कुनै भाषालाई मानकीकरण गर्न सबभन्दा पहिले बोलचालका अनेक भेद मध्ये एउटा भेदलाई मानक बनाउन रोज्नु पर्छ । यो निर्णय नै मानकीकरणको पहिलो पूर्वाधार हो भने कुनै भाषाको मानकीकरण गर्ने पहिलो फड्को चाहिँ वर्ण निर्धारण गरेर वर्णमाला बनाउने काम हो । भाषा सर्वेक्षणको पहिलो चरणमा वर्ण निर्धारण गरिदिने लक्ष्य त अनिवार्य छैन, त्यो दोस्रो चरणमा मात्र छ, तर अरू केही भाषाको वर्ण निर्धारण गर्न सकियो भने पछिलाई सजिलो पर्ला भन्ने दृष्टि कोण चाहिँ राखिएको छ ।
(ञ) भाषा सर्वेक्षणको दोस्रो चरणमा नेपालमा भएका सबै भाषाहरूका भेटिए सम्मका लेख्य र कथ्य सामग्री बटुल्ने र ती बटुलिएका पाठ वा सामग्रीका आधारमा सबै भाषाहरूको व्याकरण र शब्द कोश बनाउने लक्ष्य छ । अहिलेलाई दश ओटा जति भाषाका व्याकरणको रूपरेखा बनाउने कार्यक्रम छ ।
(ट) भाषा सर्वेक्षणको पहिलो चरणकै नतिजाबाट नेपालमा प्रयोग हुने सबै भाषाहरूको भौगोलिक वितरण थाह हुन्छ । नेपालको कुन भूभागमा कुन कुन चाहिँ जाति वा जन जातिले कुन कुन सामाजिक, सांस्कृतिक र प्रयोजनपरक परिस्थितिमा कुन कुन भाषा कसरी प्रयोग गर्छन् भन्ने कुराको लगत पहिलो चरणकै सर्वेक्षणमा थाह हुन्छ ।
(ठ) भाषा सर्वेक्षणको पहिलै चरणमा बटुलिएका प्रश्नावलीका आधारमा नेपालका सबै भाषाको पारिवारिक र प्रकारपरक वर्गीकरण गर्न सकिन्छ । अहिले सम्म भएका वर्गीकरणको समीक्षा गर्न पनि यस सर्वेक्षणले सघाउँछ ।
(ड) भाषा सर्वेक्षणबाट कुनै वक्ताले श्रीमान् श्रीमतीका बीचमा, छोराछोरीसँग, बाजे बज्यैसँग, छिमेकीसँग, आफ्नै जातिसँग, अर्को मातृभाषा हुनेसँग, साथीहरूसँग, खेलकुदमा, विद्यालयमा, हँस्यौली भन्दा, उखान भन्दा, आफ्नै जातीय वैठकमा, सार्वजनिक बैठकमा, कसैलाई परबाट बोलाउँदा, गाली गर्दा, झगडा गर्दा, पूजाआजा गर्दा, राजनीतिक वा सार्वजनिक प्रवचनमा, भारतीयसँग भेट हुँदा, अरू विदेशीसँग भेट हुँदा कुन कुन भाषा बोल्छ भन्ने जस्ता भाषा प्रयोगका अनेक लगत बटुलिन्छ । यसबाट जन गणनामा सूचना ढाँटेको भए, प्रकट हुन्छ अनि सम्पर्क, प्रयोग र सामर्थ्यका दृष्टिले कुन भाषाका वक्ता कस्ता रहेछन् भन्ने सूचना मिल्छ । त्यसका साथै भरेर बटुलिएका समग्र प्रश्नावलीको विश्लेषण गर्दा नेपाली भाषा बाहेक अरू कुन कुन भाषाले कति क्षेत्र सम्म सम्पर्क भाषाका रूपमा काम गरेका रहेछन् भन्ने लगत पनि थाह हुन्छ । भविष्यमा कुन कुन भाषालाई कुन कुन क्षेत्र र तहको औपचारिक भाषा घोषित गर्ने भन्ने विषयमा निर्णय गर्न पनि यसले वस्तुगत आधार फेला पर्छ ।
(ढ) यस सर्वेक्षणबाट देशमा प्रयोग हुने कुन कुन भाषालाई कुन तह सम्म तुरुन्तै वा कति कति समयमा पठनपाठनमा लैजान सकिन्छ भन्ने मूल्याङ्कन गर्न, शिक्षा योजना तर्जुमा गर्न र पाठ्य सामग्रीको योजना गर्न पनि सघाउ पुग्छ।
(ण) सर्वेक्षणबाट कुन कुन भाषा लोप भइसके, कुन कुन भाषा लोप हुनै लागेका छन्, कुन कुन भाषा लोपोन्मुख छन् र कुन कुन भाषा सबल छन् भन्ने ठेगान लाग्छ । यस्ता सूचनाले कुन कुन भाषालाई संरक्षण गर्न तुरुन्त खट्नु पर्यो र कुन कुन भाषाको संरक्षण गर्न केही समय पर्खिन सकिन्छ भन्ने कुरो थाह हुन्छ ।
(त) यस सर्वेक्षणले नेपाल सरकारले कस्तो भाषा नीति लिने भन्ने कुराको आधार निर्देश गर्छ ।
(थ) नेपालका समग्र भाषाहरूको न्याय पूर्ण विकास गर्न सरकारले कस्तो भाषा योजना तर्जुमा गर्नु पर्छ भन्ने कुराको पूर्वाधार पनि यस सर्वेक्षणले तयार गर्छ ।
नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेका वेलामा मुलुकलाई अनेक सङ्घमा विभाजन गर्ने एउटा आधार भाषा अवश्य हुन्छ । क्रान्तिको यस महत्त्वपूर्ण सङ्घारमा राष्ट्रिय योजना आयोगले त्रिभुवन विश्व विद्यालय भाषा विज्ञान विभागका नेतृत्वमा मुलुकका सबै भाषाविद्लाई समन्वय गरेर समग्र भाषाको वर्तमान स्थिति वस्तुगत रूपमा चाल पाउन र त्यसकै आधारमा भविष्यमा सरकारलाई भाषा नीति र भाषा योजना बनाउन सक्षम बनाउन भाषा सवेक्षण गर्ने निर्णय कार्यान्वयन गर्न लागेको छ । हरेक योजना बनाउँदाको महत्त्वाकाङ्क्षाले परिणाममा कत्तिको साकार रूप लिन सक्छ, त्यसैका आधारमा परियोजनाको सफलताको मूल्याङ्कन हुन्छ ।
निष्कर्ष र सुझाव
उपर्युक्त विभिन्न कुरालाई ध्यानमा राख्तै निम्नलिखित सुझावहरूलाई कार्यान्वयन गर्न प्रभावकारी कार्यक्रम राख्नुपर्छ।
क) राष्ट्रिय भाषा नीति सुझाव आयोग (२०५०) ले दिएको सुझावहरूलाई कार्यान्वयन गर्नुपर्छ।
ख) स्नातक तह उत्तीर्ण गरेका विभिन्न मातृभाषाका वक्ताहरूलाई भाषाविज्ञान पढ्न प्रोत्साहन र छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ। भाषाविज्ञान विभाग, आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान र अन्य मातृभाषाको उत्थान र विकासका लागि बनेका संघसंस्थाहरूको आपसी छलफल र अन्तरक्रियाबाट विद्यार्थीहरूको चयन हुनुपर्छ।
ग) राष्ट्रिय जनगणनाको भाषासम्बन्धी तथ्याङ्क पत्यारिलो र भरपर्दो नभएकाले स्वदेशी तथा विदेशी भाषावैज्ञानिकहरू र भाषाविज्ञान विभागका विद्यार्थीहरूलाई समेत संलग्न गरेर नेपालका भाषाहरूको भाषिक सर्वेक्षण गर्नुपर्छ। भर्खरै राष्ट्रिय योजना आयोग र आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान विभागको संयोजकत्वमा नेपालका भाषा सर्वेक्षण गर्ने एउटा कार्य योजना बनाएका छन्। त्यस भाषिक सर्वेक्षणलाई सफल बनाउन सरकारले र मातृभाषीहरूले पनि आवश्यक सरसहयोगको तयारी गर्नुपर्छ।
घ) भाषिक सर्वेक्षणबाट खालि कुनै पनि भाषाको समसामयिक प्रकृति र प्रवृत्ति मात्र थाह पाइन्छ । भाषालाई यथास्थितिबाट उकास्न वा संरक्षण गर्न भाषिक नीति निर्धारण गर्ने, तदनुकूल भाषिक योजना तर्जुमा गर्ने, योजनालाई चरणबद्ध रूपमा कार्यान्वयन गराउने, सरकारलाई सुझाव दिने, अनुगमन गर्ने, मातृभाषाहरूको वर्णमाला बनाउने, लेख्य परम्परा नभएका भाषामा लिपिको विकास गर्ने, भाषा–भाषाका व्याकरण र शब्दकोश बनाउने, मातृभाषामा शिक्षा दिने पाठ्यक्रम बनाउन पाठ्यक्रम विकास केन्द्रलाई सुझाव र सहयोग दिने भाषाहरूको प्रयोगक्षेत्रलाई सबल बनाउन र विस्तार गर्न सम्बन्धित निकायलाई सुझाव दिने, राष्ट्रिय जनगणनालाई सुझाव दिने, भाषा–भाषाको साहित्य विकास गर्न सम्बन्धित निकायलाई सुझाउ दिने, सहयोग गर्ने र अनुगमन गर्ने, आदि काम गर्न भारतीय भाषा संस्थान (Central Institute of Indian Languages) झैं नेपालमा पनि एउटा केन्द्रीय भाषा प्रतिष्ठानको गठन गर्नुपर्छ। त्यसै संस्थाले समय समयमा भाषिक सर्वेक्षणका लागि पनि समन्वय गर्न सक्नेछ।
ङ) अन्त्यमा आर्थिक योजना र विकासबाट अलग्याएर भाषिक योजना र भाषिक विकासलाई सफल बनाउन सकिंदैन। यसका लागि हरेक जनजातिका परम्परागत प्रविधिको संरक्षण र विकास गरेर आयआर्जन र आर्थिक विकास गर्ने किसिमको राष्ट्रिय योजना मात्र भाषिक योजनामा प्रभावकारी हुनेछ भन्ने कुरो सोभियत रुसको भाषिक योजना (इसायेभ १९७७ ई.) को सफलताबाट सिक्नुपर्छ ।
सन्दर्भ सूची
गुरुङ, हर्क (२००२). जनगणना २००१ अनुसार जातीय तथ्याङ्क : प्रारम्भिक लेखाजोखा. काठमाडौँ : धर्मोदय सभा.
चौधरी, महेश. थारू भाषाको समाज भाषा वैज्ञानिक अध्ययन. अप्रकाशित शोध पत्र. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान.
राष्ट्रिय भाषानीति सुझाव आयोगको प्रतिवेदन (२०५०). काठमाडौं : राष्ट्रियभाषा नीति सुझाव आयोग.
Bajgain, Uttam Prasad (2000). Particles in Nepali. MA thesis, TU: CDL.
Banjade, Goma (2002). Tense, Aspect and Agreement in Danuwar Verbs. MA thesis, TU: CDL.
Bhandari, Bhabendra (2001). An Analysis of Verbal Morphology in Danuwar Language. MA thesis, TU: CDL.
Bhatta, Toya Natha (2005). Classifiers in Meche. MA thesis, TU: CDL.
Bhusal, Sulochana (2006). Nominal Morphology in Hayu. MA thesis, TU: CDL.
Breton, Roland J.-L. (1997). Atlas of the Languages and Ethnic Communities of South Asia. New Delhi : Sage Publications.
Chalise, Krishna Prasad (1999). Morphosyntax of Tamang Verbs. MA thesis, TU: CDL.
Chaudhary, Mahesh Kumar (2005). A Sketch Grammar of Saptariya Tharu. MA thesis, TU: CDL.
Dhakal, Dubinanada (2007). The Darai Noun Phrase. MA thesis, TU: CDL.
Ghimire, Laxman (2002). Dative Subject Construction in Nepali. MA thesis, TU: CDL.
Grimes, Barbara (2002). Ethnologue. SIL International.
Isayev, M. I. (1977). National Languages in the USSR : Problems and Solutions. Moscow : Progress Publishers.
Khadka, Bir Bahadur (2006). A Sketch Grammar of Boto Boli [Khamchi] (Raute). MA thesis, TU: CDL.
Khanal, Dinesh (2005). Basic Clause Structures, Tense and Aspect in Danuwar Language. MA thesis, TU: CDL.
Khatiwada, Karnakhar (1999). Dhimal Verb Morphology. MA thesis, TU: CDL.
Limbu, Kulchand Phombo (2005). Nonfinite Clauses in Limbu. MA thesis, TU: CDL.
Nagila, Kedar Bilash (2007). The Dura Langauge: its Grammar and Lexicon. MA thesis, TU: CDL.
Neupane, Bharat Raj (2000). Chureti Verb Morphology. MA thesis, TU: CDL.
Panta, Gangaram (2000). Semantico-Syntactic Classification of Nepali Verbs. MA thesis, TU: CDL.
Parajuli, Krishna Prasad (2000). Grammar of Kumal. MA thesis, TU: CDL.
Phuyal, Him Prasad (2006). Nominal Morphology in the Bahing Language. MA thesis, TU: CDL.
Poudel, Kamal (1999). Bote Verb Morphology. MA thesis, TU: CDL.
Poudel, Tikaram (2005). The Rajbamshi Verbs. MA thesis, TU: CDL.
Pradhan, Jyoti (2002). Relative Clauses in Newar. MA thesis, TU: CDL.
Prasain, Balaram (1999). Complex Predicates in Bote. MA thesis, TU: CDL.
Priyadarshi, Brajesh (2008). Coordination in Sadri: An analysis. Indian Linguistics 69: 329-344.
Rai, Bagdevi (2001). A Morphological Study of Chamling. MA thesis, TU: CDL.
Rai, Kishor (2006). Nominal Morphology in Hayu. MA thesis, TU: CDL.
Rapacha, Lal B (2000). Clause Combining in Koi̚ch (Sunuwar). MA thesis, TU: CDL.
Regmi, Danraj (2004). The Nouns and Noun Phrases in the Bhujel Language. MA thesis, TU: CDL
Regmi, Bhim Narayan (1999). Causativization in Magar. MA thesis, TU: CDL.
Sapkota, Suren (2006). A Sketch Grammar of Jhangar. MA thesis, TU: CDL.
Sharma, Uma Nath (2003). Agreement in Nepali. MA thesis, TU: CDL.
Omkareshwar Shrestha (2008). A Sketch Grammar of Duku Danuwar Kaini. CDL, TU.
Subba, Dilendra Kumar (2005). Clause Combining in Panthare Limbu. MA thesis, TU: CDL.
Tamang, Amrit Yonjan (2003). Tamang Nominal Morphology. MA thesis, TU: CDL.
Thakur, Gopal (2006). A Sociolinguistic Survey of the Bhojpuri Language. MA thesis, TU: CDL.
Thokar, Rajendra (2062 VS). Bahing Verb Morphology. MA thesis, TU: CDL.
Timilsina, Ramhari (2004). Syntactic Change in Sanskrit. MA thesis, TU: CDL.
Timilsina-Sharma, Pashupati (2006). The Hayu Verbs. MA thesis, TU: CDL.
Toba, Sueyoshi and Ingrid and Novel Kishore Rai (2005). Diversity and Endangerment of Languages in Nepal. UNESCO Kathmandu Series of Monographs and Working Papers No. 7.
UNESCO Language Survey Report Nepal. United Nations Educational, Scientific and Cultural Organization Kathmandu 2002.
Watters, David E, Yogendra P Yadava, Madhav P Pokharel and Balaram Prasain (2005). Notes on Kusunda grammar (a language isolate of Nepal). Kathmandu: National Foundation for the Development of Indigenous Nationalities
कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np
स्रोतः- माधव पख्रेल (madhavpokharel.com.np)
0 comments:
Post a Comment