नेपालमा फुटबल र यस्को ईतिहास !!



विश्व परिवेश


अङ्ग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ। भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको हो। तिहारताका फालिने भोगटेलाई युवाहरू गुडाउने अथावा हिर्काउने गर्थे। लगभग त्यसरी नै भकुन्डोलाई हिर्काउने खेल नै फुटबल हो भनेर कसैलाई थाहा थिएन। राणाकाल त्यसैका परिवारबाहेक सर्वसाधारण जनताका लागि पढ्ने लेख्ने छुट थिएन। भारत गएर उच्च शिक्षा हासिल गरेर नेपाल छिरेकाहरू सीमित थिए। त्यसैबेला केही जङ्ग थापा र नरसिंह राणाहरू पनि पढ्न भारत गएका थिए। त्यो समय भारतमा अङ्ग्रेजी शासन चलिरहेको थियो। स्कूल र कजेजमा अङ्ग्रेजले आफूसँग ल्याएका खेलहरू पनि समावेश गरे। त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको हुनु पर्छ। कालान्तरमा तिनै थापा र बस्नेतहरूले फुटबललाई नेपालमा पनि ल्याए।


नेपाली परिवेश

नेपाली फुटबल जन्मदाता नरशम्शेर भनिएता पनि उनीभन्दा पहिले यिनै थापा र बस्नेतलले नेपालमा फुटबल विस्तार गरेको हो। त्यो समय स्पष्ट किटान गर्न नसकिने भएता पनि त्यो कालखण्ड वि. सं. १९७०
पछिको हुनु पर्ने अनुमान छ। ठमेलका नारायण नरसिंह राणा र नक्सालका सूर्यजंग थापा त्यो बेला नेपाली फुटबलमा सुनिएका नाम हुन। नरशम्शेरले नेपाली फुटबललाई संस्थागत रूप भने दिएका हुन। उनले आफ्नो आत्मकथामा पनि फुटबल भारतबाटै नेपालमा छिरेको लेखेका छन्। उनले भारतमा अध्ययनका लागि जाने जङ्ग थापा र नरसिंह राणाले नै त्यहाँ सुरूमा फुटबल खेल्न सिकेको र नेपाल र्फकंदा फुटबललाई पनि आफूसँगै ल्याएको उल्लेख गरेका छन्। त्यो समय पनि फुटबल हारजितका लागि खेलिने प्रचलन भने सुरू भएको थिएन। फुटबल राणाका दरबारमा मात्र सीमित थियो। आमनागरिकमा फुटबल पुगेको थिएन। त्यो बेला विषेश गरेर जावलाखेल दरवारको महावीर टिम र चारबुर्जा दरबारको ठमेल टिमबीच खेल हुने गथ्र्‍यो। यसका लागि एउटा टिमले अर्को टिमलाई निमयन्त्रण पठाउने काम हुन्थ्यो। पछि दरबारबाट संरक्षित टिमका लागि बबरमहल, टंगाल, सिंहदरबार, बहादुर भवन र ठमेलमा फुटबल मैदान पनि बने। सन् १९३०मा जनपक्षीय र र दरबार संरक्षित टिमले साझा रूपमा सिंहदरबार, छाउनी, गौचरण, जावलाखेल र लैनचोरमा फुटबल मैदान बनाएको हुन् ।

इतिहास

साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरू आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन सुरू गरे। लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ। सन् १९३४ तिर आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो। त्यसै वर्ष संस्थाप गत रूपमा पहिलो फुटबल प्रतियोगिता भएको थियो। त्यसमा १२ टिम सहभागी थिए र त्यसलाई नरशम्शेरको नेतृत्वमा रहेको जावलाखेल क्लबले पहिलो स्थान हात पारेको थियो। प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विषेश कारणले सरकारी आदेशमा बन्द गरिएपछि दरबारबाहिर पनि गोप्य रूपमा फुटबल भने भइनै रहृयो।

फुटबल समितिको स्थापना 

विवाद, सहभागिता र लोकप्रीयता एकैपल्ट बढ्न थालेपछि सन् १९४७मा श्री ३ पद्म शम्शेरको आज्ञामा फुटबल समिति गठन भयो। त्यसको अध्यक्ष मदनशम्शेर थिए। त्यही वर्ष राजा त्रिभुवनले फुटबलको संस्थागत विकास होस भनेर त्रिभुवन च्यालेञ्ज शिल्डको स्थापना गरे। हरिहर भवन अगाडिको मैदानमा भएको प्रतियोगितामा नरेश एघार पहिलो र एनआरटी एघार दोस्रो भएको थियो। पद्म शम्शेर ले पनि त्यही वर्ष रामजानकी कप सुरू गरे। त्यो बेलाको नेपाल पुलिस फोर्स ले रामजानकी कप लगातार तीन वर्ष जितेर शिल्ड आफ्नो कब्जामा लियो। नेपालमा लिग फुटबल सुरू गर्न अन्ततः त्यही नेपाल पुलिसको पनि ठूलो योगदान रहृयो। उसले नेपाली फुटबललाई निरन्तरता दिन २०११ सालमा एउटा नयाँ ट्रफी दियो। जुन 'शहीद स्मारक ट्रोफी' थियो र त्यही वर्षदेखि विधिवतः रूपमा शहीद स्मारक लिग फुटबल सुरू भयो। त्यस ट्रफीमा २०११ आश्विन १७ गतेको मिति अङ्कित छ र अगाडि लेखिएको छ, 'राष्ट्रपिता श्री ५ महाराजाधिराज त्रीभूवन विर विक्रम शाह देवका नेतृत्वमा एकतान्त्रीक शासनको विरुद्धमा विक्रम सम्वत २००७ सालको जनमुक्ति संग्राममा प्राण वलिदान गर्ने अमर शहीदहरूका चिरस्मृतार्थ श्री प्रगोदबा जीवी याकथुम्बा आइजीपी र नेपाल पुलिसका अफिसरहरूले चढाएको श्रदान्जली'।

लिग फुटबल

नरशम्शेरले नेपाली फुटबललाई विकास गर्ने हो भने लिग फुटबलको आवश्यकतालाई महसुस गरे। नेपाल फुटबल संघको स्थापना चार सालमा नै भइसकेको थियो र उनी नै त्यसका हर्ताकर्ता थिए। तर पहिलो लिग फुटबल सुरू गर्न भने सात वर्ष पर्खिन पर्‍यो। प्रजातन्त्र प्राप्तिका लागि सात सालमा सुरू भएको आन्दोलनले फुटबलमा शिथिलता ल्यायो। आन्दोलन सफल भएपछि फुटबल फेरि लोकपि्रय हुन थाल्यो। फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल सङ्घ गठन भयो। त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान दिए। आठ सालमै भएको त्रिभुवन च्यालेञ्ज शिल्ड काठमाडौं बाहिरको जलेश्वर एघारले जित्यो। नौ सालमा बालसखा दलको आयोजनामा देवीमाया मेमोरियल शिल्ड सुरू भयो। राजा महेन्द्रको शुभराज्याभिषेकअघि मात्र त्रिपुरेश्वरमा दशरथ रंगशाला निर्माण भयो। पछि त्यहाँ नै प्रतियोगिताहरू आयोजना हुन थाले। विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकप सुरू भयो। त्यस्तै २०२५ देखि नरट्रफीको आयोजना पनि सुरू भयो। उता पहिलो संस्करणको लिग फुटबल महावीर-११ले जित्न सफल भयो। नेपाल फुटबल सङ्घ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पल्ट सम्भव भयो।

अखिल नेपाल फुटबल संघले भने २०३२ सालयता यसको आयोजना सुरू गरेको हो। त्यो समय बलियो टिम भनेको महावीर, पुलिस फोर्स र एनआरटी थिए। महावीरलाई भने कसैले हराउन सकेन। सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडीको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो। 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचायो। यो घरबाट नै श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रलगायत राणाहरूले फुटबल नजर गर्थे। श्री ५ त्रिभुवन फुटबल भने पछि हुरुक्क हुन्थे। अमृतमान श्री ५ त्रिभुवनका पि्रय खेलाडी थिए। वि.सं. २०१३ सालमा प्रकाशनमा आएको 'फुटबल खेल' नामक कितावमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन्। 'सबै नेपाली युवकहरूले आदर्श खेलाडी बनुन र संसारमा नाम कमाउन। त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान, नेपाली युवकहरू हो, खेल, नाम कमाउ, योग्य होउ, संसारमा दाँजिने होउ'। महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दुर जात्रा गरेर स्वागत गरिएको थियो। त्यो समयको डिल्लीबजार ठूलो थियो, त्यसमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि आउँथ्यो। महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी पल्टेर सिंहदरवार पुग्थ्यो।

शुभ-जन्मोत्सवकप

राष्ट्रिय खेलकुद परिषदले २०३० सालदेखि शुभ-जन्मोत्सवकपको आयोजना गर्‍यो। त्यसको छ वर्षपछि एन्फा कप आमन्त्रण कपका रूपमा विदेशी टिम सहभागी हुने पहिलो प्रतियोगिताको आयोजना पनि सुरू भएको थियो। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा नेपालमा २०३९ सालमा एसियाली युवा फुटबलको समूह एक का खेल भएका थिए। त्यसमा नेपालसहित १३ राष्ट्र सहभागी थिए।

केहि शहीद स्मारक लिग वर्ष र विजेताहरू

  • २०११ महावीर-११
  • २०१२ नेपाल पुलिस फोर्स-११
  • २०१३ नेपाल पुलिस फोर्स-११
  • २०१४ सैनिक-११
  • २०१७ एनआरटी 'ए'
  • २०१९ एनआरटी 'ए'
  • २०२० विद्या ब्यायाम
  • २०२३ महावीर-११
  • २०२४ फ्रेन्ड्स युनियन क्लब
  • २०२५ द्यौराली क्लब ठमेल
  • २०२६ महावीर-११
  • २०२७ द्यौराली क्लब ठमेल
  • २०२८ आरसीटी
  • २०२९ आरसीटी
  • २०३० आरसीटी
  • २०३२ ब्वाइज युनियन क्लब
  • २०३३ सुनाखरी एथलेटिक क्लब
  • २०३४ अन्नपूर्ण क्लब
  • २०३५ एनआरटी
  • २०३६ आरसीटी
  • २०३८ आरसीटी
  • २०३९ अन्नपूर्ण
  • २०४० संकटा क्लब
  • २०४१ आरसीटी
  • २०४२ संकटा
  • २०४३ मनाङ- मर्स्याङ्दी क्लब
  • २०४४ मनाङ- मर्स्याङ्दी
  • २०४६ मनाङ- मर्स्याङ्दी
  • २०५२ एनआरटी
  • २०५४ थ्रीस्टार क्लब
  • २०५७ मनाङ- मर्स्याङ्दी
  • २०६० मनाङ- मर्स्याङ्दी
  • २०६१ थ्रीस्टार
  • २०६२ मनाङ- मर्स्याङ्दी
  • २०६३ नेपाल पुलिस क्लब

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment