२०४६ मा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भएको थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनैतिक दलहरूको आपसी बेमेल तथा वि.स. २०५२मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाइ ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालिन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना संसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाईन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।
२०५९ असोज १८ पछि ज्ञानेन्द्रले कहिले लोकेन्द्रबहादुर चन्दलाई त कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर आफूखुसी शासन गर्न थाले । नेपाली काँग्रेस, नेकपा (एमाले लगायत पाँच दलले यसलाई शाही प्रतिगमनको संज्ञा दिदै दबाबमूलक विरोध कार्यक्रमहरू सञ्चालन गर्न थाले । असार १८ गते राजा ज्ञानेन्द्रले २०६१ साल चैत मसान्तभित्र प्रतिनिधिसभाको चुनाव गर्ने शाही आदेशसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरे । यो सरकारलाई १९ माघमा बर्खास्त गरियो र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन सुरू भयो । १९ माघपछि शाही शासनविरूद्ध नेपाली काँग्रेस (प्रजातान्त्रिक) र संयुक्त वाममोर्चालाईसमेत समेटेर सात दलको आन्दोलनकारी गठबन्धन बन्यो र २०६२ वैशाखमा यसले प्रतिनिधिसभा पुनस्र्थापनाको बाटो हुदैँ नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र विद्रोहको राजनीतिक निकास दिन संविधानसभासम्म पुग्ने साझा सहमति र प्रतिबद्धतालाई सार्वजनिक गर्यो ।
यसपछि नै माओवादीसँग सात दलको वार्ता र समझदारीले ठोस आकार र गन्तव्य लिन थालेको हो । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले दोस्रो पटक निरंकुश एवं प्रत्यक्ष शासन सुरू गरेपछि त्यसको प्रतिरोधमा आन्दोलनअघि बढाउन नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली काँग्रेस (प्रजातान्त्रिक), जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) र संयुक्त बाममोर्चासहित २५ वैशाख २०६२ मा सर्वप्रथम सातदलीय गठबन्धन निर्माण भयो । नेपाली काँग्रेस, ने.क.पा.एमाले र ने.क.पा. माओवादीबीच २०६२ मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भयो । सुरक्षाकर्मीको व्यापक दमनका बाबजूद मानव सागर सडकमा उत्रियो। राजाले बैशाख ८ गते एक घोषणा गरी जनताको नासो जनतामा नै फिर्ता गरेको घोषणा गरे। तर आन्दोलन मत्थर भएन त्यसपछि बैशाख ११ गतेको सम्बोधनमा ७ राजनीतिक दलको मार्गचित्र बमोजिम विघटित संसद पुनर्स्थापित गरेको घोषणा गरेपछि लोकतन्त्रको स्थापना भयो। शान्ति सम्झौतामा हस्ताक्षर र नेकपा माओवादीसमेतको सहभागितामा अन्तरिम व्यवस्थापिका–संसद् बनेपछि यो गठबन्धन आठदलीय भएको थियो । त्यसपछि २०६३ मङ्सिर ५ गते सात दलको सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता सम्पन्न भएको थियो ।
२०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिन चलेको शान्तिपूर्ण जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताको अपार सहभागिताले यसलाई एउटा निर्णायक विन्दुमा पुर्याएको थियो । फलस्वरूप २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । जनआन्दोलन २०६२/०६३ पछि वर्तमान राजनीतिक संक्रमणको व्यवस्थापन र संविधानसभाको चुनाव गर्ने जिम्मेवारी पाएका सात राजनीतिक दलको सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभाको चुनावको तिथि तेस्रो पटक निर्धारण गरियो । सात राजनीतिक दलले ८ पुस २०६४ मा गरेको २३ बुँदे सहमतिपछि चैत महिनाभित्र संविधानसभाको चुनाव गर्ने निर्णय गरेका थिए । नेपालमा ऐतिहासिक रूपमा संविधानसभाको निवार्चन वि.स.२०६४ चैत्र २८ मा सम्पन्न भयो । संविधानसभामा जम्मा ६०१ जना सदस्य थिए जसमध्ये ३३५ सदस्य समानुपातिक प्रणालीबाट र २४० सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका र बाँकी २६ जना सदस्य मन्त्रिपरिषद्ले मनोनीत गरेको थियो । जस्मा जनताको भन्दा बढी पार्टीगत चयन बढी भएको देखीन्छ । संविधानसभाको पहिलो बैठकले गणतन्त्र नेपालको घोषणा गर्यो र गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. राम वरण यादव र उपराष्ट्रपति परमानन्द झा निर्वाचित हुनुभयो ।
0 comments:
Post a Comment