हरेक मानिसको सिक्ने तरीका एकअर्कामा फरक फरक हुने गर्छ । मनोवैज्ञानिकहरूले फरक-फरक खालका मानिसका सिक्ने तरीकामाथि वर्षौंसम्म अनुसन्धान गरेर उनीहरूको सिक्ने शैलीलाई केही समूहमा वर्गीकरण गरेका छन् । उनीहरूले सबै बालबालिकाले तेस्रो कक्षासम्म प्रयोगात्मक सिकाइ विधिबाट मात्रै सिक्ने बताएका छन् । त्यसपछि मात्रै उनीहरूमा सिकाइको गहिराइ र आवश्यकतासँगै अन्य सिकाइ विधिको विकास हुने उनीहरू बताउँछन् । मानिसको उमेर बढेसँगै उसको स्वभाव तथा रुचिको पनि विकास हुँदै जान्छ । त्यसैले, उपयुक्त र रुचिकर सिकाइ विधिको छनोट विद्यार्थीका लागि सफलताको सूत्र हुन सक्छ । आफ्नो प्रकृति वा स्वभावअनुसारको सिकाइ विधि भएमा त्यसले सबैभन्दा प्रभावकारी र उत्तम परिणाम दिनेछ । मानिसले सिक्ने तरीकाअनुसार मुख्य चारओटा शैलीबारे हामिले यहाँ चर्चा गरेका छौ ।
सबैभन्दा व्यापक रूपमा प्रयोग भइरहेको सिकाइ शैली ‘दृश्य सिकाइ शैली’ हो । सन् १९८७ मा न्यूजिल्याण्डका हाईस्कूल तथा विश्वविद्यालय शिक्षक नेल फ्लेमिङले दृश्य, श्रवण र प्रयोगात्मक (भिजुअल, अडिटोरी एण्ड काइनेस्थेटिक–भीएके) सिकाइ पद्धतिको प्रतिपादन गरेका थिए । पछि यसमा चौथो पढाइ/लेखाइ विधि (रीड/राइट) थपियो त्यसपछि फ्लेमिङको उक्त मोडललाई सङ्क्षेपमा भार्क (भीएआरके) भन्न थालियो ।
विद्यार्थीका लागि कुनै एउटा वा दुई विधि उपयुक्त हुन सक्छ भने शिक्षकका लागि विभिन्न तरीका एकैसाथ प्रयोग नै सबैभन्दा उत्तम शिक्षण विकल्प हुन सक्छ । यस्तो छनोटले सबै खालका विद्यार्थीलाई सिकाइका लागि राम्रो अवसर सुनिश्चित गरिदिन्छ ।
दृश्यात्मक सिकाइ शैली
यस शैलीमा सिक्ने मानिसहरू सिक्नु वा जान्नुपर्ने विषयबारे आँखाले हेरेर जानकारी लिन्छन् र त्यसको चित्र आफ्नो मस्तिष्कमा सञ्चय गर्दछन् । विशेषगरी उनीहरू पढ्न रुचाउने, राम्रो हस्तलेखन भएका, विस्तारमा जान्न इच्छुक र रङ तथा आकारप्रकारबारे अत्यन्त सजग हुन्छन् । तर, उनीहरू मौखिक निर्देशनमा अल्मलिने र सानै होहल्लाले पनि सजिलै विचलित हुने खालका हुन्छन् । विशेषगरी उनीहरू अन्य मानिससँग कुरा गर्दा आँखामा आँखा मिलाउन रुचाउँछन् ।
देखेर सिक्नेहरूका लागि केही सुझाव
- मौखिक निर्देशनलाई लेख्दा वा पढ्दा फोटो, चार्ट, डायग्राम, नक्साजस्ता दृश्य सामग्रीको प्रयोग गर्नुपर्छ । भौतिक वा शारीरिक हाउभावको प्रयोग गर्ने,
- भाषाका हिज्जे, शब्दार्थ, व्याकरणजस्ता कुराको अध्ययन गर्दा त्यसमा दृश्यात्मक रूपको प्रयोग गर्नु उचित हुन्छ । साथै, जानकारीलाई रङ कोडको प्रयोग गरेर सुव्यवस्थित गर्ने,
- अध्ययनका लागि शान्त तथा सफा स्थानको छनोट गर्ने र ध्यान अवरोधकलाई सम्भव भएसम्म कम गर्ने गर्नुपर्छ ।
यी कुरामा सजग हुन सके तपाईं सबैभन्दा राम्रो विद्यार्थी बन्ने पक्का छ ।
श्रव्य सिकाइ शैली
श्रव्य सिकाइमा जानकारीलाई बोली अर्थात् आवाजको माध्यमबाट प्रस्तुत गरिन्छ । यस सिकाइ वर्गका मानिस सामान्य व्यक्तिभन्दा धेर बोल्ने खालका हुन्छन् । उनीहरूमा सामाजिक भावना अधिक मात्रामा हुन्छ । उनीहरू कथा तथा चुट्किला सुन्न मन पराउने स्वभावका हुन्छन् । यस वर्गको मानिसले सङ्गीत, नृत्यलगायत प्रस्तुतीकरण कलामा राम्रो उन्नति गर्ने सम्भावना हुन्छ । यो विधिमा बोलेर र सुनेर सबैभन्दा राम्रो शिक्षण तथा सिकाइ हुन्छ । तर श्रव्य सिकाइ वर्गका केही मानिसमा विस्तारै पढ्ने र लेखाइमा समस्या हुन सक्छ । लिखित निर्देशन बुझ्न र त्यसलाई पालना गर्न उनीहरू कठिन मान्छन् । लामो समयसम्म चुपचाप बसिरहन नसक्ने स्वभाव हुने भए तापनि नाम सम्झने र स्वर सजिलै पहिचान गर्न सक्ने क्षमता उनीहरूमा अधिक हुुन्छ । तरपनि मानिसको अनुहार सम्झिरहन भने सक्दैनन् । उनीहरूले कुनै मानिसको अनुहार बिर्सिए पनि स्वर भने पहिचान गर्न सक्छन् । धेरैजसो गुनगुनाइरहने र पढिरहँदा आफैसँग संवाद गर्ने स्वभावसमेत उनीहरूमा हुन सक्छ ।
सुनेर सिक्नेहरूका लागि केही सुझावः-
- भाषाको अभ्यास गर्दा शब्दको खेल खेल्ने र छन्दको प्रयोग गर्नु उचित हुन्छ ।
- अक्षरलाई औंलाले देखाएर बच्चाले जस्तै कराएर पढ्न सकिन्छ ।
- जानकारीलाई सस्वर दोहोर्याउँदै सम्झने प्रयास गर्ने मौखिक व्याख्यान सुन्ने तथा आफैलाई भाषण दिने पनि गर्न सकिन्छ ।
यदि तपाईं यो बिधिमा पर्नुहुन्छ भने श्रव्य सामग्रीको अधिकतम प्रयोगले सबैभन्दा उत्तम नतीजा दिनेछ ।
प्रयोगात्मक सिकाइ विधि
यसलाई शारीरिक हाउभावको सिकाइ विधि पनि भन्न सकिन्छ । यस विधिबाट सबैभन्दा राम्रोसँग सिक्ने मानिस बाहिरी संसारमा अधिक रमाउँछन् । उनीहरू एथलेटिक्स तथा कला प्रदर्शनीमा दक्ष हुन्छन् । उनीहरू आफ्नो भावनालाई भौतिक रूपले व्यक्त गर्न रुचाउने, अङ्गालो वा धाप मार्नेजस्ता शारीरिक गविविधिबाट व्यक्त गर्ने खालका हुन्छन् । नयाँ शीपको निर्देशन दिनु वा प्रदर्शन गर्नुभन्दा आफै अभ्यास गर्न रुचाउँछन् । यस खालका मानिसले भौतिक वस्तुको प्रयोगबाट र शारीरिक हाउभाव तथा अभ्यासबाट राम्रोसँग सिक्न सक्छन् । यो वर्गका मानिस लामो समयसम्म एकै स्थानमा बसिरहन र पढ्न गाह्रो मान्छन् । यस्ता मानिसलाई एडीएचडी ADHD (ऐटेन्शन डिफिसिट हाइपर एक्टिभिटी डिसअर्डर)को रूपमा पनि लिइन्छ । पछिल्ला वर्षहरूमा यस्ता विद्यार्थीले फरक तरीकाले सजिलै सिक्ने भनेर धेरै शिक्षकले यस विधिलाई स्वीकार गरिसकेका छन् । प्रशस्त शारीरिक हाउभाउबाट यो वर्गका मानिसहरूले सजिलै र राम्रोसँग सिक्न सक्छन् ।
प्रयोगात्मक सिकाइ शैलीका विद्यार्थीलाई सुझाव
- पढाइको बीचबीचमा एकछिन आराम गर्ने तथा प्रयोगलाई प्राथमिकता दिने गर्न सकिन्छ ।
- त्यसका लागि पजल, नक्शा, जिओमेट्री बक्स, अबाकसजस्ता हाते शैक्षिक सामग्रीको प्रयोग गर्न उचित हुन्छ । पढ्ने स्थानमा मात्रै सीमित नभएर वरिपरि घुम्दै अध्ययन गर्ने,
- लडिबुडी गर्दै वा भुइँमा सुतेर विभिन्न शारीरिक आसनमा बसेर पढ्ने आदि गर्न सकिन्छ ।
पढ्ने/लेख्ने सिकाइ विधि
यो फ्लेमिङको पछिल्लो मोडल हो । यसलाई उनले तेस्रोमा राखेका छन् । यस सिकाइ विधिबाट सिक्ने मानिसको स्वभाव होहल्ला मन नपराउने हुन्छ । उनीहरू लेखिएका शब्दहरूबाट राम्रोसँग सिक्छन् । किताब तथा नोटहरू पढेर अधिक जानकारी हासिल गर्दछन् । यस खालका व्यक्तिहरू धेरै नोट तथा सूचीहरू बनाउँछन् । उनीहरू तस्वीर, डायग्राम्स, लेक्चर, चार्टको प्रयोग रुचाउँछन् र यसबाट छिट्टै सिक्छन् पनि । साथै, वैज्ञानिक अवधारणालाई पनि व्याख्यात्मक शैलीमै सिक्न मन पराउँछन् । यस्ता मानिस निकै छिटो पढ्ने खालका हुन्छन् र लेख्नसमेत शिपालु हुन्छन् । उनीहरू शारीरिक भाषा तथा अन्य सामाजिक सङ्केतहरू सजिलै बुझ्दैनन् ।
यस वर्गका विद्यार्थीलाई सुझाव
- यस वर्गका विद्यार्थीले नोट धेरै लेख्ने,
- पुनर्लेखन गर्ने तथा पढ्ने,
- लेखेर प्रशस्त अभ्यास गर्ने,
- डायग्राम्स, ग्राफ वा गणितीय तथ्याङ्कको पनि भाषिक व्याख्यान गर्ने वा व्याख्या पढ्ने आदि गर्न उचित हुन्छ ।
0 comments:
Post a Comment