परिचय
सामाजमा उत्पन्न हुने विभिन्न किसिमका विवाद, त्यसबाट सिर्जित द्वेष, झगडा, मनोमालिन्य नै सामाजिक द्वन्द हो । विवाद पछि द्वन्द सिर्जना हुने हुँदा यसलाई सँगसँगै र एकै दृष्टिले हेर्नुपर्ने हुन्छ ।सामाजिक स्वार्थ (Social interest) पूरा गर्ने सिलसिलामा व्यक्तिगत वा सामूहिक दृष्टिकोण, धारणा, अवसर लगायतका कारणले समाजमा विवाद र द्वन्दको सृजना हुन्छ । सामाजिक द्वन्दले समाज रूपान्तरणमा सघाउ पुर्यारउन पनि सक्दछ तर यसको उचित व्यवस्थापन भएन भने सामाजिक विखण्डनको खतरा पनि रहन्छ ।
सामाजिक विवाद र द्वन्दका कारणहरू
सामाजिक विवाद तथा द्वन्दका विभिन्न कारण हुन सक्छन् जुन निम्नानुसार उल्लेख गरेका छौ -
(क) वर्गीय अवधारण (Class Concept):
कार्ल माक्र्सले आफ्नो Social Conflict Theory मा समाजमा धनी र गरीव अर्थात् हुने र नहुने वर्ग हुन्छ । धनी वर्गले गरीवको शोषण गर्छ यसको विरुद्धमा गरीवले विद्रोह गर्नुपर्छ भन्ने धारणा राखे । समाजमा वर्ग संघर्ष (Class Conflict) हुनुलाई उनले स्वभाविक मानेका छन् । वर्ग विभेदकै कारणले सामाजिक द्वन्द भइराख्छ भने यस सिद्धान्तको मत हो ।
(ख) साधन स्रोतको वितरण (Distribution of Resources):
समाजमा साधन स्रोतको वितरणको पक्षलाई लिएर विवाद वा द्वन्द उत्पन्न हुन सक्छ । बजेट कसको लागि उपयोग गरियो भन्ने आधारमा पनि समाजमा एउटा पक्ष र अर्को पक्ष, एक गाउँ र अर्को गाउँ, एक टोल र अर्को टोल बीचमा विवाद हुने गर्दछ ।
(ग) विभेद (Discrimination) :
समाजमा रहेका विभिन्न जाति, वर्ग, भाषा, लिङ्ग, संस्कृतिका मानिसहरू मध्ये कसैलाई सार्वजनिक साधन वा वस्तुको प्रयोग, अवसरको उपयोग, धार्मिक वा रीतिरिवाजमा बन्देज लगाएको अवस्थामा समेत सामाजिक द्वन्द/विवाद बढ्न सक्छ ।
(घ) सामाजिक हिंसा (Social Violence):
समाजमा एक वर्गबाट अर्को वर्गमाथि हुन सक्ने विभिन्न प्रकारका हिंसात्मक गतिविधि जस्तै बोक्सीको आरोपमा, दाइजोको आधारमा, विवाह वा जातको आधारमा हुने हिंसाले समेत सामाजिक विवाद र द्वन्दको सिर्जना हुन्छ ।
(ङ) सामाजिक मूल्यको विविधता (Differences on Social Values):
समाजमा विभिन्न धर्म, संस्कृति, रहनसहनलाई अवलम्बन गर्ने मानिसहरू रहन्छन् । एकले अर्काको धर्म, संस्कृति, रहन सहनलाई मान्यता नदिँदा वा बहुसंख्यकले अल्पसंख्यकको आस्था दबाउन खोज्दा वा वेवास्ता गर्दा र धार्मिक अतिवादका कारण समेत द्वन्द र विवादको अवस्था सिर्जना हुन्छ ।
(च) सामाजिक योगदान (Social Contribution):
सामाजिक क्रियाकलाप र विकास निर्माणका कार्यहरूमा कुनै व्यक्ति, समूहले सहयोग नगरेको, श्रमदान नगरेको, सहभागी नभएको वा वेवास्ता गरेको आधारमा योगदान गर्ने र नगर्ने बीचमा सामाजिक द्वन्द्व हुन सक्छ ।
सामाजिक द्वन्द कति आवश्यक ?
सामाजिक चेतनाको अभिवृद्धि गराउन द्वन्दले भूमिका निर्वाह गर्न सक्छ । कुनै पनि विषयवस्तु वा Interest लाई लिएर समाजमा Interaction हुन्छ । यसबाट विषय वस्तुलाई बुझ्ने, छलफल गर्ने अवसर सबैले पाउँछन् जसले गर्दा सामाजिक चेतना (Social awareness) अभिवृद्धि हुन्छ ।
- सामाजिक विकृति घटाउन मद्दत पुग्दछ । जातिय, भाषिक, लैङ्गिक वा वर्गीय आधारमा हुने विभेद हटाउन पनि द्वन्दले सहयोग गर्दछ ।
- सामाजिक सेवा र साधन स्रोतको समुचित उपयोग र वितरणका लागि सामाजिक दबाब (Social Pressure) सिर्जना भई समानता कायम रहन सक्छ ।
- सामाजिक क्रियाकलापहरू पारदर्शी हुन्छन् र सामाजिक अगुवाहरूको जवाफदेहिता अभिवृद्धि हुन्छ ।
- सामाजिक विवाद र द्वन्दले सामाजिक मूल्य मान्यताहरूमा समयानुकूल परिमार्जन गराउँछ । रुढीवादी मान्यताहरूलाई समाप्त गर्दछ ।
- समाजको निर्णय गर्ने क्षमता अभिवृद्धि हुनुका साथै सामाजिक नेतृत्वको विकास गराउँछ ।
तर सामाजिक द्वन्द वा विवादलाई उचित ढंगले व्यवस्थापन नगरेमा र समयमा नै सम्वोधन नगरिएमा यसका नकारात्मक प्रभाव बढी हुन्छन् ।
सामाजिक विवाद र द्वन्दका नकारात्मक पक्षहरू
सामाजिक द्वन्दको कुशल व्यवस्थापन हुन सकेन भने यसका सकारात्मक भन्दा नकारात्मक पक्ष चाहीँ बढी हुन्छन् । जस्लाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ !!
- वैयक्तिक वा सामुहिक स्तरमा मनमुटाव भई सामाजिक सहकार्य हुन छाड्ने ।
- एक–आपसमा आरोप प्रत्यारोपले द्वन्द गहिरिदै हिंसात्मक गतिविधि हुन सक्ने ।
- जातिय, धार्मिक, भाषिक, वर्गीय द्वन्द बढ्दै गएमा सामाजिक हिंसा भड्कदै जाने र धनजनको क्षति हुने ।
- एक क्षेत्रको सामाजिक विवाद चुलिदै जाँदा देशका सबै क्षेत्रमा हिंसात्मक गतिविधि बढ्न सक्ने ।
- सामाजिक विकासका कार्यहरू अवरुद्ध हुने ।
- अल्पसंख्यकहरू झन पीडित र शोषित हुन सक्ने ।
- शान्ति सुरक्षा व्यवस्थापनमा चुनौती थपिने ।
- सामाजिक एकता र सहिष्णुता खल्वलिने र यसका दीर्घकालीन प्रभावहरू रहने ।
- मानव विकासमा नकारात्मक असर पर्ने ।
सामाजिक विवाद तथा द्वन्दको व्यवस्थापन (Management of Social Debate & Conflict):
सामाजिक विवाद तथा द्वन्दको उचित ढंगले व्यवस्थापन गर्न जरुरी छ । सही Diagnosis र Treatment हुन नसकेमा सकारात्मकभन्दा नकारात्मक पक्ष बढी हुन्छन् जुन समाज विकासको लागि हितकार हुँदैन ।
विवाद र द्वन्द व्यवस्थापक
सामाजिक विवाद र द्वन्दको व्यवस्थापन कुनै औपचारिक संगठन/संस्थामा जस्तो सहज छैन । समाज आफैमा अनौपचारिक समूह हो । समाजका क्रियाकलापमा विविधता हुन्छ र विभिन्न औपचारिक संगठनहरूमा पनि आवद्ध हुन्छ समाज । त्यसैले समाजमा हुने विवाद र द्वन्दको Manage गर्ने Manager एउटै व्यक्ति हुन सक्दैन । Multi actor हुन्छन् ।
(क) सामाजिक अगुवाहरूः–
समाजका वुद्धिजीवि, विभिन्न पेशामा आवद्ध मानिसहरू, सामुदायिक संस्थाका प्रतिनिधि, सामाजिक संस्थामा आवद्ध नेतृत्वदायी व्यक्तिहरू नै समाजको विवाद र द्वन्दका व्यवस्थापक हुन ।
(ख) राजनीतिक नेतृत्वः–
समाजका राजनीतिक क्रियाकलाप गर्ने राजनीतिक नेतृत्वदायी पदमा रहेका व्यक्तिहरू पनि सामाजिक विवाद र द्वन्दका व्यवस्थापक हुन ।
(ग) धार्मिक र जातिय समुदायको नेतृत्वः–
विभिन्न धर्म, जाति एवं भाषिक समुदायको नेतृत्व गर्ने व्यक्तिहरू पनि सामाजिक विवाद र द्वन्दका व्यवस्थापक हुन ।
विवाद र द्वन्दको व्यवस्थापनका तरिकाहरू
प्रबद्र्धनात्मक तरिकाहरू (Promotive Methods)
(क) सामाजिक चेतनाको अभिवृद्धि (Promoting Social Consciousness):
समाजमा प्राप्त हुने अधिकार, सामाजिक क्रियाकलापबाट प्राप्त हुने लाभ, सामाजिक विकृतिका परिणाम, सामाजिक सद्भाव, धर्म, संस्कृति जस्ता विषयमा चेतना (Awareness) जरुरी हुन्छ । जसमा चेतना छैन, उनीहरूलाई चेतना प्रवाह गर्नु सामाजिक अभियन्ताहरूको जिम्मेवारी हुन्छ ।
(ख) सामाजिक अन्तरक्रिया/सम्बाद (Social interaction/ dialogue):
विभिन्न धार्मिक, सांस्कृतिक, विकास निर्माण, सेवा प्रवाह, सामुदायिक क्रियाकलापका विषयमा समाजका विभिन्न पक्षका मानिसहरूबीच छलफल, बहस र अन्तरक्रिया हुनु जरुरी छ । यस्तो Social Dialogue का समयमा सामान्य विवाद वा द्वन्द हुनु स्वाभाविक हुन्छ जसलाई सकारात्मक रूपमा लिनुपर्दछ । यसमा सामाजिक धारणा (Social Opinion) को जन्म हुन्छ ।
(ग) सामाजिक धारणा सर्वेक्षण (Social opinion Survey) :
विकास निर्माण, सेवा प्रवाह, प्राकृतिक स्रोत साधनको प्रयोग वा उपयोग र त्यसको सञ्चालन तथा बाँडफाँडका विषयमा सामाजिक मत बुझ्ने र त्यस धारणालाई सामाजिक निर्णय प्रक्रियामा लैजाने ।
(घ) सामाजिक वकालत (Social advocacy):
समाजलाई लाभ पुग्ने कुनै कार्यक्रम वा गरिन लागेका कार्यबाट हुने लाभ (Social benefit) का पक्षमा सामाजिक अगुवाहरू र सामाजिक रूपान्तरणका अभियन्ताहरूले वकालत (advocacy) गर्नुपर्ने हुन्छ ।
उपचारात्मक तरिकाहरू (Curative methods):
सामाजिक द्वन्द व्यवस्थापनका प्रवद्र्धनकारी तरिकाहरू द्वन्दलाई सिर्जना हुन नदिन वा सिर्जना भए पनि तत्कालै त्यसलाई उपलब्धी सहित समाधान गर्ने पद्दति हो । तर द्वन्द वा विवाद बढ्दै जाने र त्यसबाट नकारात्मक अवस्था सिर्जना हुने अवस्थामा देहायका तरिका अपनाउनु पर्दछ ।
(क) विवाद वा द्वन्दको अवस्था आंकलन गर्ने (Understanding the situation) :
समाजमा के कारणले कस्तो किसिमको वा विषयको द्वन्द वा विवाद भएको हो भन्ने कुरा बुझ्नु पर्दछ ।
(ख) लेखाजोखा गर्ने (Appraisal):
विवाद वा द्वन्दको अवस्था कस्तो छ, कति प्रभाव पार्न सक्छ वा परिणाम के हुन सक्छ भन्ने विषयमा लेखाजोखा गर्नु जरुरी छ ।
(ग) सञ्चार गर्ने (Communicate):
द्वन्द वा विवाद व्यवस्थापकहरूले एक आपसमा सूचना वा जानकारीको सञ्चार गर्ने र विवादबाट पर्ने असरलाई न्यून गर्ने विषयमा मतैक्य कायम गर्ने । व्यवस्थापकहरूले नै आपसमा विवाद नगर्ने ।
(घ) विवाद वा द्वन्दलाई सम्बोधन गर्ने (Response to debate or Conflict) :
- विवाद वा द्वन्द नचर्काउन समाजका सबै पक्षलाई आग्रह गर्ने ।
- विवादमा संलग्न व्यक्ति समूहलाई छलफल वा वार्ताका लागि आग्रह गर्ने ।
- मध्यस्थकर्ता वा सहजकर्ता नियुक्त गर्ने ।
(ङ) हस्तक्षेप गर्ने (Intervention) :
विवाद वा द्वन्दमा संलग्न व्यक्ति वा समूहलाई त्यस्तो कार्यमा संलग्न नहुन चेतावनी दिने, सामाजिक संघ संस्था, धार्मिक, जातिय समुदाय मार्फत हुने द्वन्दलाई निरुत्साहित गर्ने । त्यस्तो कार्यमा संलग्नलाई आवश्यकता अनुसार नियन्त्रणमा लिन प्रशासनलाई आग्रह गर्ने । कानूनको उल्लंघन गर्ने, सामाजिक हिंसामा संलग्न भई द्वन्द चर्काउनेलाई कानुनी कारवाहीको लागि प्रशासनिक निकायको जिम्मा लगाउने ।
सामाजिक विवाद/द्वन्द व्यवस्थापनमा राजनीतिक क्षेत्रको भूमिका
- राजनीति समाजको पनि नेतृत्व गर्ने क्षेत्र हो । सामाजिक क्षेत्रका बुद्धिजीवि, अगुवाहरू, सामाजिक कार्यकर्ताको नजिक रहने स्थानीय राजनीतिक नेतृत्व एवं राजनीतिक दलहरूले द्वन्द्व व्यवस्थापन सहयोग गर्नुपर्ने ।
- राजनीतिक आस्था, विचार, कार्यक्रमका आधारमा पनि सामाजिक विवाद वा द्वन्द सिर्जना हुन सक्ने भएकोले यसतर्फ सचेत रहनु पर्दछ ।
- सामाजिक विवाद वा द्वन्द बढ्ने गरी राजनीतिक क्रियाकलाप गर्न हुदैन ।
- सामाजिक विवाद वा द्वन्दको व्यवस्थापनका लागि राजनीतिक क्षेत्रले उचित वातावरण तयार गर्ने र व्यवस्थापनमा सहयोग गर्नुपर्दछ ।
- सामाजिक एकता, भातृत्व, सहिष्णुताप्रति राजनीतिक प्रतिवद्धता आवश्यक हुन्छ ।
सामाजिक विवाद/द्वन्द व्यवस्थापनमा प्रशासनको भूमिका
- समाजको सामाजिक संरचना र त्यसका प्रभावप्रति प्रशासनले जानकारी राख्नु पर्दछ ।
- विकास निर्माणका कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सामाजिक सहभागिता प्रवद्र्धन गरी द्वन्दको सिर्जना नहुने अवस्था सिर्जना गर्नु पर्दछ ।
- सार्वजनिक सेवाको वितरणमा विभेदपूर्ण नीति लागू गर्न हुदैन ।
- विकास र सेवा वितरणका कार्यहरूको अनुगमन गर्नु पर्दछ । सार्वजनिक र प्राकृतिक श्रोतहरूमा सामाजिक पहुँचको निगरानी जरुरी छ ।
- समाजमा हुने हिंसात्मक र कानुन विरुद्धका गतिविधिमा तत्काल कानूनी कारवाही गर्नुपर्दछ ।
- सामुदायिक सहभागितालाई प्राथमिकता दिँदै सहकार्यमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्दछ ।
सामाजिक विवाद र द्वन्द व्यवस्थापनमा सामुदायिक संस्थाको भूमिकाः
- सामुदायिक संस्थाहरूले सामाजिक विवाद र द्वन्दबारे सचेत रही यस्ता गतिविधिहरूको जानकारी राख्नु पर्ने ।
- सामुदायिक क्रियाकलाप सञ्चालन गर्दा धार्मिक, जातिय, वर्गीय, लैङ्गिक विभेद नहुने गरी सञ्चाल गर्ने ।
- समाजका सबै पक्षसँग बराबरको सम्बन्ध कायम गर्ने
- सामाजिक चेतना अभिवृद्धि, पहुँच र सहभागिता प्रवद्र्धन गर्ने
नेपालमा सामाजिक द्वन्द/विवादको अवस्था
- राजनीतिक विचार वा धारणाका आधारमा पनि समाज विभाजित छ र सामाजिक विवाद बढेका छन् ।
- जातिय, भाषिक, धार्मिक कारणले समेत समाजमा विवाद सिर्जना गराईएको छ ।
- सामाजिक विकृतिहरू, सामाजिक अपराधको पक्ष–विपक्ष, संरक्षण र कारवाहीका विषयलाई लिएर समेत सामाजिक द्वन्द र विवाद हुने गरेका छन् ।
- राज्यले प्रदान गर्ने सार्वजनिक सेवा माथिको पहुँच र अवसरलाई लिएर पनि विवाद एवं द्वन्द हुने गरेको छ ।
- विकास कार्यक्रम माथिको पहुँच, नियन्त्रण र अनुकूलतालाई लिएर विवाद हुने गरेको छ ।
- सरकारी निकायहरूको स्थापना जस्तो– प्रहरी चौकी, गा.वि.स. वा सरकारी कार्यालय कहाँ राख्ने भन्ने जस्ता विषयमा समेत सामाजिक विवाद चर्कने गरेका छन् ।
- प्राकृतिक श्रोतहरू–वनको उपयोग, खानेपानी प्रयोग, चरन क्षेत्र जडिबुटी, खानी जस्ता विषयमा सामाजिक विवाद र द्वन्दहरू सिर्जना हुने गरेका छन् ।
अन्त्यमा नेपालमा बढ्दो जातिय, लैङ्गिक, भाषीक आदिको बिभेद हामि आफै गरिरहेका छौ । सरकारले नै तथा राजनैतिक दल हरुलेनै आफ्नो पार्टिगत तथा व्यक्तिगत स्वार्थको लागी जनताहरुलाई उक्साईरहेको अवस्था रहेको छ । सरकारले दिने सुबिधा, कोटा, आदि लैङ्गिक, जातिय आदि को आधारमा होईन, परिवार तथा व्यकतिको आर्थिक स्थितिको आधारमा हुनुपर्छ । जस्ले समुन्नत समाज निर्माणमा सहयोग पुर्याउदछ ।
सेयर गरौ !!
सेयर गरौ !!
0 comments:
Post a Comment