हरेक दिन एक नयाँ जीवन ।



जीवनमा हरेक मान्छेको आ-आफ्नै सपना हुन्छ । कोहि शहरको बिचमा एउटा घर ठडाउन चाहलान् । कोहि भएको घरमा तल्ला थप्न खोज्लान् । कोहि नयाँ गाडी । कोहि ठुलो कम्पनीमा जागिर । कोहि प्रोमोसन । विदेश । पैसा । यस्तै अनगिन्ती सपनाहरु । एक पटक मात्र पाइने जिन्दगीमा हरेकले सपना देख्नु पर्छ ।

सपनाको कुनै सिमितता छैन । केटाकेटी छँदा साइकल चढेको सपना देखिन्थ्यो । तन्नेरीमा बाइक । उमेर ढल्दै जाँदा गाडी । थाहा छैन ति भौतिक आकांक्षा मात्र थिए या सपना । जे होस् सपना हरु परिवर्तनशील छन । मान्छे सपना नदेखी बसिरहन सक्दैन । एउटा पुरा हुन नपाउंदै अर्को सपना देख्छ । त्यसैले त मानिसलाई प्रगतिशील प्राणीको रुपमा अघि बढाई रहन्छ । र जीवनको यात्रा अविरल चलिरहन्छ ।

प्राय मान्छेका सपनाहरु भौतिक हुन्छन् । अनि सपनाका बीच पनि प्रतिस्प्रधा हुन्छन् ।
छिमेकीको भन्दा अग्लो घर । ठुलो गाडी । त्यस्तै । त्यस्तै ।

यी परिवर्तित र असिमित सपनाहरुको भिडमा मेरा पनि सपनाहरु छन् । अहिलेको अवस्थासम्म जीवन र संसार बुझ्नु र देख्नु एक उद्देश्य छ ।

हरेक मान्छेमा केहि न केहि प्रतिभा लुकेको हुन्छ । त्यसलाई खोतल्न जीवनलाइ एक प्रयोगशाला बनाउनु पर्दो रहेछ । मेरो बिचारमा अध्यन र अनुभव त्यस प्रयोगशालाका प्रमुख शस्त्र हुन् ।

नयाँ-नयाँ सिपको बिकाश गर्नु, अरुका अनुभवहरुको अध्यन गर्नु र नयाँ ठाउँ, भाषा, संस्कृतिको अवलोकन गर्नु केहि त्यसका हिस्सा हुन् ।

जीवनलाई एक यात्राको रुपमा स्वीकार गर्नु पनि एउटा च्यालेन्ज हो । हामी प्राय जीवनलाइ स्थिर बनाइदिञ्छौ र एउटै ठाउँमा हराइदिन्छौ । त्यहिँ ९-५ को जिन्दगी, दैनिक त्यहि बाटो, त्यहिँ काम, त्यहिँ पेशा, त्यहि नाम, त्यहीँ ठेगाना । हरेक कुरा यथास्थिति । अनि कसरि फरक परिणामको आशा राख्न सकिन्छ र?

हाम्रो ब्रेनले मेमोरी इन्कोडिंगको आधारमा रिट्राइभ गर्छ । दैनिक गतिविधिको आधारमा नयाँ इन्फर्मेसन स्टोर गर्छ । त्यसलाई अन्कन्सियस माइन्डमा राक्छ र चाहिएको बेला कन्सियस माइन्डमा लिएर आउछ । यदि हामीले नयाँ कुराको अनुभव र नयाँ गल्तिहरु गर्दैनौ भने ब्रेनको बिकासमा पनि रोकावट आउछ । उहिँ कुरा बारबार रजिस्टर गर्न ब्रेन असमर्थ हुन्छ । र जसले सोच पनि संकुचित हुदैं जान्छ । नयाँ कुरा सिक्ने, नयाँ बानीको बिकास गर्ने ब्रेनको जुन हिस्सा छ त्यो पनि शिथिल हुदै जान्छ । अनि मान्छेले आफु बुढो भएको अनुभव गर्दै जान्छ । मान्छे बुढो हुनु उमेरको कुरा होइन, सोच हो । नयाँ कुराहरुलाइ स्वीकार गर्न नसक्नु बुढ्यौलीलाइ निम्तो गर्नु हो ।

जब ब्रेनको फन्सन शिथिल रहन्छ तब उसका निर्णय र गतिबिधिहरु पनि संकुचित हुन्छ । साना-साना समस्याहरु, झैँ-झगडा, मनमुटाब, तितो-मिठो जस्ता जीवनका तुच्छ कुराहरुमा मान्छे अल्झिन थाल्छ र रिस, राग, क्रोध, द्वेष, डाह जस्ता कुराहरुको बिकाश गर्छ ।

सोच खुल्ला हुनु पर्छ । धर्म, संस्कृति, जातभात, भौगोलिक परिधि, भाषा, भेषहरुमा सिमित हुनु हुदैन् । संसार ठुलो छ । सुन्दर छ । हरेक ठाउँमा मान्छेका आफ्नै चालचलन, रितिरिवाज, परम्पराहरु छन् । र हरेक मान्छे त्यसमै खुशी छ । मात्र खुल्ला सोचले हेर्न सक्नुपर्छ, संसार अति सुन्दर छ । प्रकृति मनोरम छ ।

संसार मात्र सुन्दर छ । नराम्रो त संकुचित सोच मात्र हो । जब मान्छेको सोच संकुचित हुन्छ तब निर्णायक बन्छ । आफु संग भएको सूचना र ज्ञानको आधारमा उसले सहि र गलत छुट्टयाउछ । राम्रो, नराम्रो, सहि, गलत सबै सापेक्षिक कुरा हुन् । परिस्थितिका कुरा हुन् । समयका फरक आयामका फरक पाटाहरु हुन् । सिमित श्रोत र सोचका परिणाम हुन् । सहि र गलत मात्र एक भ्रम हुन् । कुवाभित्रबाट संसार अँध्यारो देख्नु जस्तै ।

बुझ्नु छ कुवा बाहिर संसार ठुलो छ । देख्नु छ संसार बिशाल छ । सुन्दर छ । उज्यालो छ । चम्किलो छ ।

जीवन उज्यालोको खोजीको यो एक यात्रा हो । बनाउनु छ यसलाई एक अझ रंगिन यात्रा । उदार दिलको एक समुन्द्र ।
तोड्नु छ संकुचित सोचको घेरा । यो सामाजिक परिधि ।

जिउनु छ वर्तमानमा । र बनाउनु छ हरेक दिन एक नयाँ जीवन ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment