हाल रहेका दुई सय १७ नगरपालिका र तीन हजार एक सय ५७ गाउँ विकास समितिलाई मिलाएर करिब तीन सय नगरपालिका र सात सय गाउँपालिका बनाइने भएको हो।अब भूगोल, जनसंख्या र जनघनत्वका आधारमा गाउँपालिकामा तीनदेखि २१ वटा वडा र नगरपालिकामा सातदेखि ३५ वटासम्म वडा बनाइने भएको छ।
अहिले जति क्षेत्रफल र जनसंख्या भए पनि गाविसमा नौवटा, नगरपालिकामा १७ वटा र महानगरपालिकामा ३५ वटा वडा हुने व्यवस्था छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको संघीय मामिला शाखाले बनाएको यो खाकालाई सरकारले अन्तिम रूप दिनेछ।
संघीय मामिला शाखाका प्रमुख पुरुषोत्तम नेपालले संविधानले तय गरेको संघीय ढाँचाअनुसार मुलुकभरका स्थानीय निकायलाई करिब एक हजारको संख्यामा सीमित गरेर व्यवस्थित बनाउन लागिएको बताए।
उनले बुधबार अन्नपूर्णसँग भने, ‘अहिले तीन सय घरधुरी रहेको १.५ वर्गकिलोमिटर क्षेत्रफलको गाविसमा पनि नौ र एक हजार चार सय ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेको गाविसमा पनि नौवटा वडा छन्।
यसरी मुलुकको समानुपातिक ढंगमा विकास नहुने र सेवा प्रवाहमा थुप्रै समस्या देखिएकाले तीन हजारभन्दा बढी गाविसलाई करिब सात सय गाउँपालिका बनाउने तयारी गरेका हौं।
‘उनका अनुसार अहिले नगरपालिकामा करिब २५ हजार जनसंख्या भएको ५.५६ वर्गकिलोमिटर क्षेत्रफलदेखि सात हजारमात्र जनसंख्या रहेको करिब तीन सय २० वर्गकिलोमिटर क्षेत्रफलको नगरपालिकालाई पनि बराबर वडामा विभाजित गरिएको छ।
गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न बनाइने आयोगका लागि तयार गरिएको प्रस्तावित मापदण्डमा मन्त्रालयले सरोकारवालासँग छलफल गरी यस्तो खाका तयार पारेको उनले बताए।जनतामा अझै चुस्त, सहज र सरल ढंगबाट सेवा प्रवाह गर्न मन्त्रालयले स्थानीय निकायका लागि यस्तो खाका तयार पारेको हो।
नयाँ खाकाअनुसार स्थानीय बासिन्दाले अब वडाबाटै अधिकांश सेवा पाउनेछन्। गाउँपालिका र नगरपालिकाबाट योजना बनाउने, बजेट छुट्याउने र प्रशासनिक व्यवस्थापनको काम हुनेछ। जिल्लाले समन्वयकारी भूमिकामात्र निर्वाह गर्नेछ।
मुलुकभर हाल हिमाली क्षेत्रमा १६ जिल्ला रहेकामा सात जिल्लामा नगरपालिका छैनन् भने नौवटामा १३ नगरपालिका छन्। त्यस्तै चार सय ९८ गाविस छन्। पहाडी क्षेत्रका ३९ जिल्लामा ९५ नगरपालिका र एक हजार ६ सय ६५ गाविस छन्।
तराई क्षेत्रका २० जिल्लामा एक सय १० नगरपालिका र नौ सय ९४ गाविस छन्।मन्त्रालयका अनुसार बाराको माधुरीजब्दी गाविस १.५ वर्गकिमि क्षेत्रफल र तीन सय १९ घरधुरी रहेको मुलुककै सानो गाविस हो भने बझाङको काँडा गाविस एक हजार चार सय ६७ वर्गकिमि क्षेत्रफल रहेको सबैभन्दा ठूलो गाविस हो।
यसमा एक सय ७४ घरधुरीमा पाँच सय ५६ जनसंख्या छ। सबैभन्दा कम जनसंख्या ७१ भएको गाविस मनाङको घ्यारु हो । त्यस्तै २७ हजार पाँच सय ८६ जनसंख्या भएको गाविस कैलालीको चौमाला हो।
काभ्रेको बनेपा नगरपालिकाको क्षेत्रफल ५.५६ वर्गकिमि छ भने उदयपुरको त्रियुगा नगरपालिकाको क्षेत्रफल तीन सय १९.८८ वर्गकिमि छ। बनेपामा २४ हजार आठ सय ९४ जनसंख्या छ भने त्रियुगामा ७१ हजार चार सय पाँच जनसंख्या छ।
लमजुङको करापुटार नगरपालिकामा सबैभन्दा कम जनसंख्या १० हजार आठ सय ३६ छ भने काठमाडौं महानगरपालिकामा १० लाख तीन हजार दुई सय ८५ जनसंख्या छ।
मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले हाल गाविस र नगरपालिकाको संरचनामा लागू भइरहेको एउटै नीतिले काम गरिरहेको हुँदा सेवा प्रवाहमा समानता नभएको बताए। उनले भने,’अब भूगोल, जनसंख्या र जनघनत्वका आधारमा गरिने संरचनाबाट भने सेवा प्रवाह समानुपातिक ढंगबाट हुनेछन्।
Source:Annapurnapost
0 comments:
Post a Comment