समस्या समाधानमूलक प्रश्नोत्तरः- (निम्नमाध्यमिक)-हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखिएका समस्याहरू र समाधान साथै सामाजिक अध्ययन विषय शिक्षण गर्दा आइपरेका समस्याहरू र तिनीहरूको समाधानका उपायहरु !!


प्रश्नः- 
वर्तमान परिवर्तित सन्दर्भमा नयाँ नेपाल निर्माणको सपना देख्ने युवा पुस्ताबीच हाम्रा परम्परा, मूल्य र मान्यतालाई भत्काउनुपर्ने वा यसलाई तोड्नुपर्ने नारा कर्णप्रिय लाग्ने गरेको देखिन्छ । अर्कोतर्फ किशोरावस्थामा प्रवेश गर्दै गरेका बालबालिकाहरूलाई पढाइने विषयवस्तुमा सामाजिक मूल्य र मान्यतालाई जोड दिएको पनि देखिन्छ । निम्नमाध्यमिक तहको पाठ्यक्रमले सामाजिक अध्ययन विषयमा हाम्रा परम्परा, सामाजिक मूल्य र मान्यतालाई प्राथमिकतामा नै राखेको देखिन्छ । यो परिवेशमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखिएका समस्याहरूको पहिचान गरी समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् । 
उत्तरः‬- 
वास्तवमा हाम्रो परम्परा हाम्रो परिचय पनि हो । त्यसैले हामीले हाम्रो धर्म, संस्कृतिअनुसार प्राचीन कालदेखि चलिआएका परम्परा र संस्कारलाई संरक्षण गर्नुपर्दछ । सबै धर्म, संस्कृति प्रति सहिष्णुता राखी समाजमा चलि आएका सामाजिक परम्परा र संस्कारलाई बचाइ राख्न सके सामाजिक मूल्य र मान्यता पनि सुरक्षित रहन्छन् । सामाजिक मूल्य र मान्यताभित्र आफ्ना वैयक्तिक, सामाजिक, नैतिक तथा राष्ट्रिय कर्तव्य र दायित्व पर्दछन् । हामीले हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्नुपर्दछ । त्यसैले निम्नमाध्यमिक तहको पाठ्यक्रमले सामाजिक अध्ययन विषयमा हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेको पाइन्छ । अतः विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखापरेका केहि समस्याहरू‬ लाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः- 
  •  विदेशी शिक्षाको नकारात्मक प्रभाव पर्नु ।
  •  विदेशी सामाजिक संस्कृति तथा मूल्य मान्यताको प्रभाव पर्नु ।
  •  कमजोर राजनैतिक र आर्थिक अवस्था हुनु ।
  •  नैतिक शिक्षालाई विद्यालय तहमा अनिवार्य नगरिनु ।
  •  विदेशी अर्थतन्त्रमा भर पर्नु ।
  •  व्यावहारिक भन्दा सैद्धान्तिक शिक्षामा जोड दिइनु ।
  •  शिक्षक र अन्य सम्बद्ध पक्षमा राष्ट्रिय भावनाको कमी हुनु ।
  •  विद्यार्थीहरूलाई आफ्ना सकारात्मक परम्परा, मूल्य र मान्यताप्रति सचेत गराई व्यवहारमा उतार्न अभिप्रेरित गर्न नसक्नु ।
  •  अन्तर्राष्ट्रिय सञ्चार माध्यमको नकारात्मक प्रभाव पर्नु ।
  •  साम्प्रदायिक भावनाको सङ्क्रमण बढ्नु । आदि ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका माध्यमबाट हाम्रा परम्परा, सामाजिक मूल्य र मान्यताको जगेर्ना गर्ने सन्दर्भमा देखापरेका माथि उल्लिखित समस्याहरू समाधानका लागि निम्नलिखित उपायहरू अबलम्बन अथवा‬ अपनाउन सकिन्छः
  •  विद्यार्थीहरूलाई स्वाधीनता र स्वाभिमान विकास गर्ने खालको शिक्षा दिन ।
  •  सहमति र सहकार्यको आधारमा राजनैतिक स्थिरता कायम गर्ने ।
  • स्थानीय स्तरमा प्रचलित सामाजिक मूल्य र मान्यता र तिनका सकारात्मक र नकारात्मक पक्षबारे परियोजना कार्य गर्न लगाउने ।
  •  विद्यार्थीहरूलाई आफ्ना सकारात्मक मूल्य र मान्यताप्रति सचेत गराई व्यवहारमा उतार्न अभिप्रेरित गर्ने विद्यालयको वातावरण हुनुपर्ने ।
  •  आफ्नो देशको सम्मानमा आघात पार्ने तरिकाले विदेशी शिक्षा स्वदेशमा दिनुपर्ने अथवा विदेशी शिक्षा कतिसम्म प्रदान गर्ने हो त्यसको सीमा निर्धारण गर्नुपर्ने ।
  •  नैतिक शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गरी तल्लो तहदेखि नै विद्यार्थीहरूलाई ज्ञान र सीप दिनुपर्दछ ।
  •  सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक ज्ञानमा जोड दिएर शिक्षा दिनुपर्दछ ।
  •  हामी एक हौँ को अवधारणालाई व्यापकता दिइनुपर्दछ ।
  •  स्वदेशी सञ्चार माध्यमहरू मार्फत् हाम्रा सामाजिक परम्परा, मूल्य र मान्यतालाई आवश्यक मात्रामा प्रचारप्रसार गर्नुपर्दछ ।
  •  विद्यार्थी मूल्याङ्कन गर्दा स्थानीय सामाजिक परम्परा, मूल्य र मान्यताको अभिवृद्धिमा आवश्यक मात्रामा ध्यान दिनुपर्दछ । 



=======================================================================
‍‍‍‍‍‍‍

प्रश्नः-
सीमा चन्द निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय अध्यापन गराउने शिक्षक हुन् । उनले तालिम पनि प्राप्त गरेकी छिन् तर उनलाई मानव सभ्यता र हाम्रो विगतसम्बन्धी अवधारणा विद्यार्थीहरूमा विकास गराउन ज्यादै कठिनाइ परेको छ । विद्यार्थीले पनि अन्य विषयको तुलनामा सामाजिक अध्ययन विषयमा कम अङ्क ल्याउने गरेका छन् । माथिको विवरण र तपाईको अनुभवका आधारमा निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय शिक्षण गर्दा आइपरेका समस्याहरू र तिनीहरूको समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् ।  

उत्तरः‬- 
निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय अन्तर्गत मानव सभ्यता र हाम्रो विगतसम्बन्धी विषयवस्तुहरूको शिक्षण सिकाइमा आइपर्ने कठिनाइ र त्यसबाट सामाजिक अध्ययन विषयको प्राप्ताङ्कमा समेत असर परेको पाइन्छ । यस अवस्थामा निम्नमाध्यमिक तहमा सामाजिक अध्ययन विषय शिक्षण गर्दा आइपर्ने वा शिक्षकले अनुभव गरेका समस्याहरू‬ निम्नलिखित छन् :-
  •  यस विषयप्रति विद्यार्थीहरूमा उत्प्रेरणा कम हुनु ।
  •  यस विषयलाई आधारभूत तहदेखि उच्च शिक्षाको तहसम्म अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश नगरिनु ।
  •  तिथि, मिति र घटनाक्रमहरू पाठ्यवस्तुमा बढी हुनु ।
  •  विषयवस्तुको क्रम र क्षेत्र निर्धारण मनोवैज्ञानिक ढङ्गले गर्न नसक्नु ।
  •  शिक्षकले तालिममा प्राप्त ज्ञान, सीप र प्रविधिलाई कक्षाकोठामा शिक्षण क्रियाकलापमा उतार्न नसक्नु ।
  •  समयानुसार विषयवस्तुलाई परिमार्जन गरी वैज्ञानिक बनाउन नसक्नु ।
  •  विद्यालयमा सन्दर्भ पुस्तकहरूको कमी हुनु ।
  •  विषयवस्तुअनुसारको शैक्षिक सामग्रीको अभाव हुनु ।
  •  विषयवस्तुबाहेक पाठ्यपुस्तकमा राखिएका कतिपय अभ्यासहरू स्पष्ट नबुझिने र विद्यार्थीको स्तरभन्दा माथि भएकाले शिक्षक र विद्यार्थी दुवैका लागि समस्या बनेको ।
  •  सामाजिक विषयमा समावेश गरिएका प्रायः जसो पाठका क्रियाकलापहरूमा कक्षाकोठा बाहिर समुदायमा गएर अध्ययन गर्नुपर्ने खालका समस्याहरू छन्, जुन कुरा शिक्षक विद्यार्थी दुवैका लागि समस्या बनेको छ र समय व्यवस्थापन गर्न नसकिने खालको छ ।
माथि उल्लिखित सामाजिक अध्ययन विषय शिक्षणसँग सम्बन्धित समस्या समाधानका लागि निम्नलिखित उपायहरू‬ अपनाउनुपर्दछः-
  •  आधारभूत तहदेखि नै यस विषयलाई उच्च शिक्षासम्म अनिवार्य विषयका रूपमा पाठ्यक्रममा समावेश गर्नुपर्दछ ।
  •  मुख्य मुख्य तिथि, मिति तथा घटनाक्रमलाई मात्र पाठ्यक्रममा समावेश गरी समयानुसार परिमार्जन गर्दै वैज्ञानिक बनाउनुपर्दछ ।
  •  विद्यार्थीहरूको उमेर, क्षमता र कक्षाको तहअनुसार पाठ्यक्रमको क्षेत्र र क्रम निर्धारण गरिनुपर्छ ।
  •  विषयवस्तुको अध्ययनपश्चात् भविष्यमा प्राप्त हुने अवसरका बारेमा विद्यार्थीहरूलाई पूर्व जानकारी गराउनुपर्छ ।
  •  सम्बन्धित विषयमा तालिमप्राप्त शिक्षक उत्पादन गरी तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्नुपर्दछ ।
  •  विद्यालयको आर्थिक अवस्थाअनुसार पुस्तकालयको स्थापना गरी आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गर्ने ।
  •  विषयवस्तुको प्रकृतिअनुसार शैक्षिक सामग्रीको व्यवस्था गर्ने ।
  •  विद्यार्थीहरूको स्तरअनुसार पाठ्यपुस्तकमा अध्यासहरू राखिनु पर्दछ जसले गर्दा विद्यार्थीहरूले बुझ्दछन् र अभ्यास गर्न उत्प्रेरित हुन्छन् ।
  •  समुदायमा गएर गरिने अध्ययन सैद्धान्तिकको सट्टा व्यावहारिक भए तापनि पाठहरूको प्रतिनिधित्व हुने गरी केही पाठहरू मात्र समुदायमा गएर गरिने भएमा पूरा गर्न सजिलो हुनुको साथै पाठको उद्देश्य पूरा गर्न सहयोग गर्दछ ।
  •  विद्यालय निरीक्षक र स्रोत व्यक्तिले शिक्षकहरूको कक्षा अवलोकन र पेसागत सहयोगलाई बढाउनुपर्दछ ।
  •  विद्यालय निरीक्षक र स्रोत व्यक्तिले आफ्नो सेवाक्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई नेतृत्वसम्बन्धी तालिम दिनुपर्दछ ।


=======================================================================


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment