वर्तमान एक्काइसौ शताब्दीलाई विश्वमा सूचना संचार प्रविधीको युगका रुपमा चित्रित गर्ने गरीन्छ । यसले भौगोलिक सिमा र अवरोधलाई सहजै परास्त गर्दै विश्वभरका मानिस र स्थानहरुबिच विशाल संजाल र सम्पर्क कायम गराएको छ । विश्वव्यापीकरणको प्रविधीगत आयामका रुपमा सूचना संचार प्रविधीमार्फत विश्वका नागरीकहरु एकआपसमा जोडिएका मात्र हैन, सामान्य मानिसको दैनिक जनजीवन देखी समाज, देश एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय परिदृष्यमा हरेक पल, क्षण र क्रियाकलापहरुमा प्रभाव पारिरहेको छ । विकास र यसको व्यवस्थापन पनि यही पर्यावरणीय अवस्थामा रहेर संचालन गरीने भएकोले सूचना संचार प्रविधीको प्रभावबाट विकास प्रक्रिया पनि अछुतो रहन सक्दैन ।
सूचना तथा संचार प्रविधी सूचना तथा जानकारीहरुमा पहुँच सृजना गर्दै तिनीहरुको भण्डारण, प्रशारण र आवश्यकतानुसार हेरफेर गर्न सक्ने गरी दुरसंचारजन्य सेवा र कम्प्युटर प्रविधीलाई एकसाथ संयोजन गरीएको एकिकृत प्रविधी हो । अर्को शब्दमा यो संचारका साधन, संचार प्रक्रिया र प्रविधीको संयोजित रुप हो । यसलाई सूचना प्रविधी (आईटी) को पर्यायवाची रुपमा पनि हेर्ने गरीन्छ तर, सूचना संचार प्रविधी (आईसिटी) आईटी भन्दा व्यापक, विस्तृत र एकिकृत रुपमा रहेको हुन्छ । विकासमा सूचना तथा संचार प्रविधीको भूमिका र प्रयोगको विषय नवीन विषय भने होइन । तथापी, सन् २००० मा संयुक्त राष्ट्रसंघले सूचना संचार प्रविधीलाई विश्वव्यापी विकासको अभिन्न अंगको रुपमा प्राथमिकता दिएपछि यो विषय संस्थागत रुपमा अगाडी आएको हो ।
सूचना संचार प्रविधी जटिल भौगोलिक अवस्थाका कारण उत्पन्न विषमताबाट सृजित विकासका चुनौतिहरुको सामना गर्ने एउटा सशक्त पूर्वाधार हो । यसले विकासमा देखिने भौगोलिक कठिनाइलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । सूचना संचार प्रविधीको दु्रततर विकासले मुलुकको शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन तथा व्यापार लगायतका आर्थिक एवं सामाजिक क्षेत्रको दिगो विकास गर्ने अवसरको सृजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । वर्तमानमा गुणस्तरिय रोजगारीको एउटा राम्रो क्षेत्रको रुपमा पनि सूचना संचार प्रविधी रहेको छ । यसबाट बेरोजगारी समस्या कम गर्न सहयोग पुग्ने, बौद्धिक उद्योगहरुको विकास बिस्तार गरी ज्ञानमा आधारित समाजको निर्माणमा सघाउ पुग्ने, सेवाको बजारीकरणका र उपभोक्ता छनौटका लागी प्रचार प्रसारको सशक्त माध्यम, सूचनासंचार प्रविधीमा आबद्ध दूरसंचारजन्य सेवा र कम्प्युटर प्रविधीको एकिकृत रुपको प्रयोगले विकास व्यवस्थापनलाई सरल, मितव्ययी, समयानुकुल र व्यवस्थापन योग्य तुल्याउन सहयोग पु¥याएको जस्ता प्रत्यक्ष फाईदाहरु रहेका छन् । वर्तमानमा विकास व्यवस्थापनमा सूचना तथा संचार प्रविधीको भूमिका यतिसम्म भईसकेको छ कि सूचना संचार प्रविधीको प्रयोगविना विकासका एजेण्डाहरुको पहिचानदेखि, योजना तर्जुमा, त्यसको कार्यान्वयन , अनुगमन र प्रभाव मूल्यांकन सम्मका सबै प्रक्रियाहरु अवरुद्ध बन्न पुग्दछन् । सूचना तथा संचार प्रविधीको विश्वव्यापी संजाल र पहुँचका कारण विश्वको कुनैपनि कुनामा अभ्यास भएको विकासको सफल मोडेल बाँकी विश्वले सहजै अनुसरण गर्न सक्दछ । यसबाट विकास प्रक्रियालाई सान्दर्भिक र कार्यान्वयनशील बनाउन सूचना संचार प्रविधीले सहजकर्ताको भूमिका निर्वाह गरेको छ । विकास र सूचना संचार प्रविधीको उचित संयोजनबाट नै देशको सामाजिक एवं आर्थिक विकास, रोजगारी सृजना, गरीबी न्यूनिकरण र सूचना एवं ज्ञानमा आधारित समाजको निर्माण गर्दै शासनलाई विद्युतिय शासन वा ई गभर्नेन्स र सुशासनमा रुपान्तरण गर्न सकिन्छ । सूचना संचार प्रविधी विकास व्यवस्थापनमा आवश्यक विभिन्न स्रोतसाधनहरु मध्ये आफ्नो परिस्थिती र विकासको आवश्यकतानुसार प्रयोग गर्न सकिने विकास सापेक्ष लचकदार स्रोत पनि हो । अतः विकासलाई सान्दर्भिक रुपमा सहजता प्रदान गर्ने स्रोतको रुपमा पनि यसको भूमिकालाई उल्लेख गर्न सकिन्छ । सूचना संचार प्रविधीको विकास विस्तारले विकासका लागि चौतर्फी ढोकाहरु खुलेका छन् । विकासको राष्ट्रिय एजेन्डालाई सीमारहित रुपमा अन्तर्राष्ट्रियकरण गर्न सहज भएको छ । फलस्वरुप अन्तर्राष्ट्रिय समुदायबाट विकाशोन्मुख मुलुकहरुमा विकासका लक्ष्यहरु प्राप्त गर्ने दिशामा निरन्तर सहयोग भइरहेको छ । यसबाट सूचना संचार प्रविधीले आफ्नो संजाल मार्फत विकासलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमीका निर्वाह गरेको छ । यसको विकास र उपयोगले विकास योजनाहरुको कार्यान्वयनमा आवश्यक समयावधीलाई चामत्कारिक रुपमा छोट्याएको छ । वर्षौसम्म लाग्ने कामहरुलाई केही घण्टामै सम्पन्न गर्न सक्ने विकासको व्यवस्थापनको सशक्त हतियारका रुपमा सूचना संचार प्रविधी रहेको छ ।
सूचना संचार प्रविधीका केही नकारात्मक पक्षहरु पनि रहेका छन् । यसको पहुँच केही महंगो छ, प्रविधीलाई स्थापित गर्न पर्याप्त पूर्वाधारहरुको जरुरत पर्दछ । यस्तै, संचालनका लागि विशेष ज्ञानको आवश्यकता पर्ने भएकोले तालिम र क्षमता विकास आवश्यक पर्दछ । यसबाट सम्पादन हुने कामहरुमा गोपनियता कायम गर्न र विश्वसनियता हासिल गर्न असहज रहने गरेको तथ्य समय समयमा आउने गरेको छ । सूचना संचार प्रविधीको अधिक प्रयोग र अन्धाधुन्ध अनुसरणका कारण देशको मौलिक संस्कृतिमा क्षति पुग्न सक्ने र विकास व्यवस्थापकको सृजनशीलता र नवप्रवर्तनमा नकारात्मक असर देखिनसक्ने अवस्था रहन्छ । अत्याधिक उपयोग र निर्भरताका कारण विभिन्न कठिनाईहरु उत्पन्न भएका छन् । तर, यसका नकारात्मक पक्ष र जोखिमलाई न्यूनिकरण गर्दै क्षमता र पूर्वाधार विकास मार्फत यसको फाईदा बढाउनुको विकल्प भने छैन ।
डिजिटल अपच्यर्युनिटी ईनिसिएटिभ नामक कार्यदलले विकासशील देशहरुको सामाजिक आर्थिक रुपान्तरणको गति बढाउने सन्दर्भमा सूचना संचार प्रविधीको प्रभावकारी उपयोग गर्न विभिन्न रणनीतिहरु प्रस्तुत गरेको छ । सूचना संचार प्रविधीजन्य पूर्वाधारहरुको पर्याप्त व्यवस्था गरी सबैको पहुँच स्थापित गर्ने, उपयोगकर्ताहरुको प्रविधिक सिप र क्षमता विकास गर्ने, यस सम्बन्धी नीतिगत स्पष्टता र सुदृढ संस्थागत क्षमता, स्थानिय जनताहरुलाई उपयोगी आवश्यकता र मागअनुरुपका सूचना संचार प्रविधीको उपयोग, व्यवसायिकता युक्त आर्थिक गतिविधीहरु भएमा यस्ता देशहरुको विकासमा सूचना संचार प्रविधी उपयोगी हुन सक्ने उक्त कार्यदलको ठम्याई छ ।
नेपालमा सूचना–प्रविधीको उपयोगद्धारा सामाजिक एवं आर्थिक विकासका लक्ष्यहरु हासिल गर्दै गरीबी न्यूनिकरण गर्ने लक्ष्यका साथ सूचना–प्रविधी नीति–२०६७ कार्यान्वयनमा रहेको छ । सूचना–प्रविधीलाई नियमन र व्यवस्थापन गर्नका लागि विद्युतीय कारोबार व्यवस्थित गर्ने ऐन–२०६१, राष्ट्रिय सञ्चार नीति, दूर सञ्चार नीति, ब्रोडव्यान्ड नीति, डिजिटल हस्ताक्षर सुरक्षित गर्ने कार्यविधी लगायतका नीतिगत दस्तावेजहरु रहेका छन् । संस्थागत रुपमा विज्ञान, प्रविधी तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सूचना–प्रविधी पार्क, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचना–प्रविधी केन्द्र, सूचना–प्रविधी विभाग जस्ता निकायहरु क्रियाशील छन् । देशमा यस क्षेत्रमा केही उपलब्धिहरु हासिल भएका पनि छन् । देश विकासका अन्य आयामहरुमा पछाडी नै रहेको भएतापनि सूचना संचार प्रविधीको विकास र विस्तारमा नेपालले उल्लेखनिय फड्को मारेको छ । नीतिगत तथा कानुनी आधारशिलाहरू तयार भएका र ईन्फरमेसन सुपर हाईवेबाट देश आबद्ध भएको अवस्था छ । निजी क्षेत्रका साथै सार्वजनिक निकायहरूमा कम्प्युटर, ईमेल, इन्टरनेटको उपयोग बढ्दो छ । यी निकायहरुले आफ्ना वेबसाईट र सफ्टवेयरहरुको प्रयोगमार्फत आफ्ना कामकारवाहीमा चुस्तता ल्याइरहेका छन् । सार्वजनिक सेवा प्रवाह अनलाइनमार्फत पनि हुन थालेको छ । ई बैंकिंग, ई बिडिंग, टेलि एजुकेशन, टेलिमेडिसिन आदिको सफल प्रयोग भईरहेको छ । यी सबै प्रयासहरुको सेवाको प्रभावकारीता बढ्नुका साथै स्रोतसाधनको मितव्ययी प्रयोगका लागि सूचना संचार प्रविधीले आधार खडा गरेको छ ।
यति हुँदाहुँदै पनि नेपालको सामाजिक आर्थिक रुपान्तरणमा यसलाई पर्याप्त मात्रामा उपयोग गर्न सकिएको छैन । सूचना संचार प्रविधीको व्यापक उपयोगको मार्गप्रशस्त गरी यसबाट सृजित लाभहरुलाई विकास प्रक्रियामा अझ प्रभावकारी रुपमा समाहित गर्न आवश्यक छ । यसका लागि विद्युत तथा उर्जाको अनियमित उपलब्धता र बढ्दो उर्जा संकटलाई नियन्त्रण गर्ने, यस क्षेत्रमा राज्यले उच्च प्राथमिकता दिनुका साथै राज्य बाहेकका क्षेत्रहरुको लगानी बढाउन प्रोत्साहित गर्न आवश्यक छ । यसैगरी, सूचना प्रविधीजन्य अपराधहरुको नियन्त्रणका लागी मजबुत कानुनी र संस्थागत प्रबन्ध सहित दुरुपयोग र यसका नकारात्मक पक्षहरुको न्यूनिकरणका लागि प्रभावकारी नियमन व्यवस्था कायम गर्ने, यस सम्बद्ध साधनहरुलाई बिलासिताका साधनका रुपमा लिने नेपाली मानसिकतामा परिवर्तन ल्याउन पनि उत्तिकै आवश्यक छ । सूचना संचार प्रविधी सम्बद्ध पूर्वाधारहरुको पर्याप्त व्यवस्था गर्ने र भएका पूर्वाधारहरुको मर्मतसंभार, संरक्षण र अधिकतम उपयोगमा जोड दिने, सूचना संचार प्रविधीका क्षेत्रमा आवश्यक पर्ने गुणस्तरिय र दक्ष जनशक्ति उत्पादनका लागि यस सम्बन्धी प्राविधिक शिक्षामा जोड दिने र देशको विकासका प्राथमिकता प्राप्त क्षेत्रहरुमा यसलाई जोड्न आवश्यक छ ।
अहिलेको विश्वमा देशको विकासको स्तर र सूचना संचार प्रविधीको विकासको अवस्थाबिच सोझो र प्रत्यक्ष सम्बन्ध रहने गर्दछ । सूचना संचार प्रविधीको विकासमा फड्को मारेका देशहरु नै समग्र विकासमा अगुवा रहेका छन् । सूचना तथा संचार प्रविधीले विकासलाई सकारात्मक सहयोगी र प्रवद्र्धकको रुपमा महत्वपूर्ण भूमीका र सहयोग पु¥याईरहेको छ । देशको सामाजिक, आर्थिक, मानवीय, शासकीय लगायत समग्र क्षेत्रको विकासका लागि अपरिहार्य शक्तिको भूमीका बहन गर्न सक्ने सबल संशाधन भएकोले यसको समयानुकुल, सही, व्यापक एवं प्रभावकारी उपयोगद्वारा नै देशको समग्र विकास र रुपान्तरणको लक्ष्य हासिल गर्न सकिन्छ ।
मिति २०७२/४/२६ गतेको आर्थिक दैनिकमा प्रकाशित ।
0 comments:
Post a Comment