नेपाली साहित्यमा बालसाहित्य र उनिहरुको प्रश्न !!


                      नेपाली बालसाहित्यमा चित्राङ्कनको सुरुआत कहिले भयो भन्नेबारे ठोस अध्ययन भइनसके पनि बालसाहित्य र चित्राङ्कनबीचको अन्योन्याश्रित सम्बन्ध रहेकोमा दुई मत देखिंदैन । हुन पनि चित्र त भाषाभन्दा जेठो अभिव्यक्तिको विश्वव्यापी माध्यम  हो । लिपिको विकासभन्दा पहिले नै चित्राभिव्यक्ति र चित्राक्षरको सुरुआत भइसकेको थियो । ग्रहण गर्न सजिलो माध्यम भएरै होला भर्खर तोतेबोली फुटेका नानीहरू पनि चित्रको रङ र लय हेर्दै ‘ताताङ–तुतुङ’ बोलीमा हराउन थाल्छन्, मन्त्रमुग्ध हुन्छन् । मानसिक र शारीरिक बुद्धिसँगै उनीहरूको बोध र ग्रहण क्षमता बढ्दै जान्छ र चित्रको भावनामा डुब्ने कल्पनाको रोचक उडान भर्न सक्छन् । चित्राङ्कित साहित्यले त्यस्तो आस्वाद्य रस प्रदान गर्दछ, जसलाई बालबालिकाहरू पहिले आँखाले पिउँछन् अनि मनमस्तिष्कमा पुर्‍याएर भापना वा विचारलाई अमृतमय पार्दछन् । बालबालिकाहरूलाई मनोरञ्जन दिने, रचनात्मक एवं सिर्जनात्मक हुने प्रेरणा दिने र ज्ञानविज्ञानका विविध विषय सम्बन्धमा जानकारी दिने विषयवस्तुलाई उनीहरूको उमेर अनुसारको सरल एवं सरस भाषामा रोचक तरिकाले प्रकाशन गरिएको कृति नै बालसाहित्य हो । यसैगरी पाठयपुस्तक र बालसाहित्यमा प्रयोग हुने चित्राङ्कनबारे विश्लेषण गर्दै प्रा.डा. चूडामणि बन्धु लेख्छन्— “पाठयपुस्तकमा चित्र उद्देश्य केन्द्रित र स्थिर हुन्छ । चित्रकारको भूमिका सहायकको रूपमा हुन्छ । चित्रको प्रयोग गतिशील हुन्छ र बालसाहित्यमा चित्रकारको भूमिका स्रष्टाको रूपमा उत्तिकै महत्त्वपूर्ण हुन्छ । बालसाहित्यको चर्चा हुँदा म एक छेउमा उभिएर टोलाइरहेको अवस्थामा आफूलाई अनुभव गर्दछु ।”


    बालसाहित्यलाई हामीले बुझ्न सक्नुपर्छ । तर बालबालिकालाई त सबैले बुझेकै छन् । बालबालिकाको साहित्यप्रतिको रुचिलाई थोरैले मात्र बुझ्ने प्रयत्न गर्छन् । युग अनुसार बालबालिकाको रुचि पनि परिवर्तन हुन्छ, यो सत्य सर्वप्रथम बुझ्नुपर्ने हुन्छ । मेरो आफ्नो अध्ययन सीमित भएको कारण प्रारम्भका बारेमा म सङ्क्षिप्तमात्र चर्चा गर्न चाहन्छु । यसै प्रस·मा कुरा गर्दै बालकका पूर्वसम्पादक रमेश विकलले २०२३ सालपछि प्रकाशन आरम्भ गरेको बालकले पनि चित्राङ्कनलाई धेरथोर ठाउँ दिएको बताउँछन् । यसरी आफ्नो प्रारूप तय गरेको बालसाहित्यमा चित्राङ्कन पक्ष कतै घिस्रिंदै अनि कतै दौडेर अगाडि बढयो । निजी क्षेत्रबाट प्रकाशन थालेको रत्न पुस्तक भण्डारले २०२७ सालपछि कृष्णप्रसाद पराजुलीको ‘सातगेडीको कथा’ र ‘सुनौलो तीन कुरा’ पहिलोपल्ट प्रकाशन थालेर चित्रको एकाध प्रयोग गर्दै लामो समयसम्म चित्राङ्कनको परम्परा धान्नेमात्र काम गर्‍यो । सन् १९७२ मा अन्तर्राष्ट्रिय पुस्तक वर्ष मनाइयो । कुनै पनि राष्ट्रको इतिहासका निर्माता त्यसै राष्ट्रका जनता हुन् । इतिहास भन्नु नै समयक्रममा आएका व्यक्ति र तिनका कार्यका परिणाम हो ।


    जनक, सीता र बुद्ध नेपालमा नजन्मेका भए, पृथ्वीनारायण शाह, बलभद्र र अमर सिंहले नेपालको निर्माण र संरक्षण नगरेका भए, भानुभक्तले भाषा नदिएका भए र शहीदहरूले रगत नबगाएका भए आज नेपाल अर्कैको हुने थियो । गरीबै भएपनि नेपाल सधैं स्वतन्त्र बनेर जुन स्वाभिमानले बाँचेको छ, त्यो कुरा पुर्खाका पौरखबाट नै सम्भव भएको हो । राष्ट्रिय स्वाभिमान र पहिचानका यस्ता कुरा नयाँ पुस्ताका बालबालिकाहरूका हृदयमा जमेर बसेको हुनुपर्छ । अनि मात्र नेपाल अझै पनि हजारौं हजार वर्षसम्म स्वतन्त्र भएर बाँच्न सक्छ । जसरी हामी हाम्रा इतिहासका निर्माता हौं, त्यसरी नै हामी त्यसका परिणाम पनि हौं ।


    आजका बालबालिकाहरूले यस प्रकारको इतिहासको निर्माणका निम्ति धेरै समय पाएका छन् । आजका बालबालिकाहरूका निम्ति यस शताब्दीको पूरै हिस्सा छ, इतिहास निर्माण गर्न । बालबालिकाहरूको आजको जीवन पनि इतिहासकै परिणाम हो । आज हामीसँग यिनीहरूका निम्ति जेजति छन्, ती पनि हामीले पुर्खाबाट पाएका छौं, जेजति बनेका छन्, ती पनि इतिहासकै परिणाम हुन् ।


    बालबालिकाहरूका मस्तिष्क सुकोमल, स्वच्छ, पवित्र र निष्कलङ्क हुन्छन् । तसर्थ उनीहरूको कलिलो मस्तिष्कका लागि सहज, सरल, मनोरञ्जनात्मक, औत्सुक्यपूर्ण र कोमलकान्त भाषिकयुक्त बालसाहित्य हुनु आवश्यक छ र बालसाहित्यले सामान्यतया यी प्रवृत्तिहरूलाई आत्मसात् गरेको पनि पाइन्छ । बालसाहित्यका पाठक वा लक्षित समूह नै बालबालिका भएका हुनाले बालमनोव्यञ्जना बालसाहित्यको मूलभूत विशेषताको रूपमा देखापर्छ । नेपाली बालसाहित्यको इतिहासमा लेख्यरूपमा आउनुभन्दा पूर्वका बालसाहित्यिक सामग्रीहरू साहसिक, अतिरञ्जनात्मक र धार्मिक–नैतिक भावनाबाट अभिप्रेरित देखिन्छन् भने त्यसपछिका बालसाहित्यहरूले ज्ञानविज्ञानका विविध प्रवृत्तिहरूलाई संवरण गरेका पाइन्छन् । नेपाली साहित्यमा बालसाहित्य लेखन परम्पराको थालनी भएको त्यति धेरै समय भएको छैन । वि.सं. १९५८ मा देव शमशेरको शासनकालमा उपत्यकाभित्र पचासवटा र उपत्यकाबाहिर एक सयवटा भाषा पाठशालाहरूका रूपमा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहले लेखेको ‘अक्षराङ्कनशिक्षा’ पाठयपुस्तक नै पहिलो औपचारिक पाठयसामग्री बन्यो । यसमा रहेका छोटा नैतिक–धार्मिक कवितालाई नै लेख्य नेपाली बालसाहित्यको प्रारम्भ बिन्दु मान्नुपर्ने देखिन्छ । त्यसभन्दा पूर्व लोकगीत–लोककथा नै बालसाहित्यका सामग्री थिए ।


    यस आधारमा औपचारिकरूपमा वि.सं. १९५८ लाई नै आधारबिन्दु मानेर हेर्दा एक शतकको इतिहास नेपाली बालसाहित्यले संवहन गरेको पाइन्छ । तसर्थ यस अवधिभित्रका नेपाली बालसाहित्यमा देखिएका प्रवृत्तिगत विशेषताहरूमा पनि विविधता देखिनु स्वाभाविकै हो । मूलत: लेखनाथ पौड्याल र चक्रपाणि चालिसेसम्मका बालसाहित्य अधिकांशत: नैतिक आदर्शपरक प्रवृत्तिका देखिन्छन् भने लक्ष्मीप्रसाद देवकोटायताका बालसाहित्यहरूमा प्रकृतिपरकता बढी पाइन्छन् र वि.सं. २०३० को दशकयताका बालसाहित्यमा बालपरिवेशपरक प्रवृत्ति बढी पाइन्छन् । वर्तमानका समसामयिक बालसाहित्यमा बालसंसारका यावत् विषयवस्तुका साथै उनीहरूका रुचि, प्रवृत्ति, खेल, ज्ञानविज्ञान र प्रविधि आदि विषयलाई नेपाली बालसाहित्यको अन्तर्वस्तु बनाउने प्रवृत्ति पनि पाइन्छ । छोटो इतिहास मात्र तय गरेको बालसाहित्यको विधामा चित्राङ्कनको राम्रो राम्रो प्रयोग र सिर्जना भएको छ । बालसाहित्यमा चित्राङ्कनको अपरिहार्यता महसुस भएपछि यस क्षेत्रमा कूची चलाउनेहरूको पनि ठूलै जमात देखिन्छ । तर सबैका सिर्जना उत्कृष्ट र दोषरहित छैनन् । चित्राङ्कनको आधारमा उत्तम, मध्यम र निम्नस्तरका कला पनि प्रकाशनमा प्रयोग भएका छन् । आज हामीहरूले जे गर्छौं त्यसको परिणाम पनि भोलि हामीले भोग्नैपर्छ, उम्कने उपाय छैन । इतिहास भनेको व्यक्तिले गरेका कामहरू मात्र होइन, तिनका परिणामको पनि अभिलेख हो । राष्ट्रको इतिहास जानेर बालबालिकाहरूले आफ्नो पुर्खाको पौरख थाहा पाउँछन्, उनीहरूका सफलता र असफलताहरू तथा विजय र पराजयहरू पत्ता लगाउँछन् । बालबालिकाहरूका निम्ति इतिहासका कुराहरू र महापुरुषका कथाहरू धेरै किसिमले प्रस्तुत भएका छन्, ऐतिहासिक आख्यान, किशोर जीवनी र बालजीवनीका रूपमा । विश्वसाहित्यको इतिहास हेर्दा केही लेखकले ऐतिहासिक आख्यान लेखेर योगदान गरेका छन् ।



    ऐतिहासिक आख्यान भनेको ऐतिहासिक घटना र परिवेशमा आधारित भई लेखिएको उपन्यास वा कथा हो । यसमा इतिहासका तथ्यलाई सजीव बनाउन काल्पनिक घटना र पात्रहरूको रचना गरेर आवश्यकतानुसारको सामाजिक परिवेशको निर्माण गरिन्छ । नेपाली भाषामा केही ऐतिहासिक उपन्यास लेखिएका भएपनि बालबालिका वा किशोरकिशोरीहरूका निम्ति नै भनेर लेखिएका ऐतिहासिक आख्यानहरूको सर्वथा अभाव नै छ । इतिहासका पात्रहरूलाई प्रस्तुत गर्दै लेखिने अर्को किसिमको विधा जीवनी हो । जीवनी तथ्यमा आधारित साहित्य भएकोले यसको प्रकृति कल्पनामूलक साहित्यका अरू विधाभन्दा फरक हुन्छ । साहित्य भएकै कारणले यसमा भाषाको आकर्षक प्रयोग पाइन्छ । विशुद्ध तथ्यपरक जीवनीहरू त इतिहासमा अभिरुचि हुने प्रौढहरूका लागि मात्र उपयोगी हुन्छन् । तर किशोरावस्था विशेषगरी व्यक्तित्व निर्माणको समय भएकोले किशोरहरूका लागि जीवनी बढी उपयोगी हुन सक्छन् । यसै कारण किशोर जीवनी जस्ता किशोरहरूका निम्ति लेखिएका जीवनीले बालसाहित्यको विशिष्ट विधाका रूपमा बेग्लै पहिचान बनाएको पाइन्छ । यस सत्यलाई स्वीकार गरेको हुँदा धेरैजसो बालसाहित्यकार जीवनीलेखनमा संलग्न भएका पाइन्छन् । जीवनीलेखन वास्तविकताको आधारमा लेखिनुपर्दछ । जीवनीलेखन बालसाहित्यकारले तथ्यपूर्ण सत्यलाई प्रकट गर्नुपर्दछ । भाषाको चमत्कार देखाउन भ्रमपूर्ण लेखनद्वारा अवास्तविकलाई वास्तविक भन्नुहुँदैन । जीवनीलेखन सत्यको आधारमा लेखिनुपर्दछ ।


    हुन पनि संसारका महापुरुषको जीवनी पढेर प्रेरणा लिन सक्ने समय पनि १२ वर्षपछिको किशोरावस्था नै हो । किशोरकिशोरीहरूलाई उनीहरूको व्यक्तित्व निर्माण गर्न उनीहरूका निम्ति लेखिएका किशोर जीवनी दिएर महापुरुषहरूप्रति श्रद्धा जगाइ तिनीहरूलाई सुमार्गका यात्री बनाउन सकिन्छ । साना बालबालिकाहरूका जीवनीहरूलाई जीवनीमालाका रूपमा प्रकाशित गर्ने चलन पनि छ । बालबालिका ज्ञानका भोका हुन्छन् । उनीहरूमा पनि साहित्यप्रति झुकाव हुन्छ । महापुरुषका जीवनीहरूलाई सरल भाषा र आकर्षक शैलीमा प्रस्तुत गरेर बालबालिकाहरूका निम्ति उपयुक्त बनाइन्छ ।


    यस्ता जीवनी पूर्ण वा आंशिक पनि हुन्छन् । पूर्ण जीवनीमा व्यक्तिको पूरै जीवनकथा हुन्छ भने आंशिकमा व्यक्तिको कुनै अंश मात्र प्रस्तुत हुन्छ । इतिहासमा जोड दिएर त्यसलाई प्रामाणिक र वस्तुगत बनाउन सकिएला र व्यक्तिका रूपमा प्रस्तुत गरेर चरित्रचित्रणमा प्रकाश पार्न पनि सकिएला । यस अवस्थामा हुन सक्छ व्यक्तिका सकारात्मक पक्षलाई प्रकाशमा ल्याइएला र नकारात्मक पक्षलाई हटाइएला अनि कतिपय किंवदन्तीमूलक विषयको समावेश पनि गरिएला । तर अनावश्यक, मनगढन्त र काल्पनिक कुराको समावेश भने त्यति उपयुक्त नहोला । साहित्यिक कृति भएकाले जीवनीमा आकर्षकशैलीको अपेक्षा त गरिन्छ नै । प्रत्येक बालक प्रकृतिको मूर्तरूप हो । उसभित्र प्रौढ वर्गले नसोचे जस्तो, विद्वान द्रष्टाले नदेखे जस्तो र वैज्ञानिकले विश्वासै नगरे जस्तो अलौकिक संसार हुन्छ ।


    आकर्षक नभएमा त्यसको साहित्यिक महत्त्व कम भइदिन्छ । नेपाली भाषामा केही जीवनीहरूका सड्ढलक निस्केका छन् र ती लोकप्रिय पनि भएका छन् । तैपनि नेपाली बालबालिकाहरूका निम्ति भनी तयार गरिएका ऐतिहासिक व्यक्तिका जीवनीको पूरै कथा भएको पूर्ण जीवनीको सङ्ख्या भने कमै छ । जीवनी तथ्यमा आधारित भएपनि कला हो, निर्माण हो, मानिसको जीवन जस्तै । महापुरुषका जीवनी पढेर बालबालिकाहरूले के थाहा पाउँछन् भने ती विश्वप्रसिद्ध व्यक्तिहरू पनि केटाकेटी बेलामा आफू जस्तै थिए, तर निरन्तरको अध्ययन, परिश्रम, लगन र साधनाले गर्दा तिनीहरू प्रसिद्ध भए, अमर भए । व्यक्तिका निम्ति अनेक मार्ग छन्, जुन मार्गमा लागे पनि हुन्छ, सफल हुनुपर्छ, त्यसका निम्ति महापुरुषको जीवनीहरू पथप्रदर्शक बन्न सक्छन् ।


    त्यसकारण आफ्ना बालबालिकाहरूलाई तिनका पुर्खासँग परिचित गराउनुहोस्, इतिहासको जानकारी दिनुहोस् र संसारका महापुरुषहरू कसरी महापुरुष बने भन्ने कुरा थाहा पाउने राम्रा जीवनीहरू छानेर दिनुहोस् । बालक सफा सेतो कोरा कागज हो, जसमा कुनै दाग हुँदैन । दागरहित यस्तो बाल मस्तिष्कमा सरल, आकर्षक र ज्ञानबद्र्धक चित्राङ्कनसहितको उत्कृष्ट साहित्य दिएर सुसंस्कृत बनाउनुपर्दछ । बालसाहित्यमा रुचि राख्ने वा समर्पित भएर लाग्ने सबैको दायित्व भनेको सकेसम्म दोषरहित, उत्कृष्ट बालसाहित्य उपहार दिएर बालबालिकाको स्वस्थ विकासमा सहयोग पुर्‍याउनुपर्छ । अनि आजको आधुनिक युगमा समेत केटाकेटीलाई परम्परागत शैलीमा अक्षर घोटीघोटी मात्रा पिलाएर विद्वान बनाउने कल्पना गर्नुभन्दा सृजनशीलता सँगसँगै ज्ञानआर्जन हुने खालका खेल र साहित्यसम्बन्धी मनोरञ्जन श्रव्य, दृश्य शिक्षण पद्धति अवलम्बन गर्नु प्रभावकारी हुन्छ । असल बालसाहित्यले बालबालिकाको, परिवारको, समाजको, राष्ट्रको र विश्वको नै भविष्य निर्माणमा सहायक हुन अवश्य सहायता गर्छ ।







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment