संयुक्त राष्ट्र सङ्घिय अङ्ग युनेस्को द्वारा बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्र भनिन्छ । यूनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर) धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समिति द्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ ।
यस कार्यक्रमको उद्देश्य विश्वको यस्तो स्थलहरुलाई सूचीबद्ध गर्ने तथा संरक्षित गर्ने हुन्छ जुन विश्व संस्कृतिको दृष्टिले मानवताको लागि महत्वपूर्ण हुन्छ । केहि खास परिस्थितिमा यस्तो सम्पदाहरुलाई यस समिति द्वारा आर्थिक सहयोग पनि प्रदान गर्ने गरिन्छ । सन् २०१५ जुलाई सम्ममा १६३ राष्ट्रका १०३१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ८०२ सांस्कृतिक, १९७ प्राकृतिक र ३२ मिश्रत रहेका छन् ।
प्रत्येक सम्पदा क्षेत्र त्यस देशको विशेष सम्पति हुन्छ, जुन देशमा त्यो स्थल रहेको हुन्छ तर अन्तर्राष्ट्रिय समुदायको हितमा पनि यहि बेश हुन्छ कि आउने पिढीलाई तथा मनावताको हितको लागि पनि यस्ता विशेष सम्पदाको संरक्षण गरियोस । तथापि पुरै विश्व समुदायलाई यसको संरक्षणको जिम्मेवारी रहन्छ ।
इतिहास
सन् १९५९ मा इजिप्ट सरकारले अास्वान बांध बनाउने निश्चय गर्यो । यसले प्राचीन सभ्यता बोकेको नाइल नदी छेउको उपत्यका नुबियामा रहेको अनेकौ बहुमुल्य खजानाहरूलाई बाँधको पानीले बगाउनु निश्चित थियो । त्यस समय युनेस्कोले इजिप्ट र सुडान सरकारलाई आग्रह गर्नुका साथै यसको रक्षा गर्नका निमित्त विश्वव्यापी रक्षा उपाय अभियान चलायो । यस अभियानले गर्दा यो निश्चित गरियो कि त्यहाँ रहेका हजारौं पुरातात्विक सम्पदाहरू र सबैभन्दा एतिहासिक र चर्चित अबु सिम्बल र फिलेलाई कुनै अग्लो स्थानमा पुनर्स्थापित गरियो । यस अभियानको अन्त्य सन् १९८० मा भयो जसलाई पूर्ण रुपले सफल मानियो । विशेष रूपले अभियानमा सहयोग गर्ने राष्ट्रलाई इजिप्टले आफ्नो चारवटा मन्दिरहरू उपहार स्वरूप प्रदान गर्यो जसमा: डेनडुर मन्दिरलाई न्यू योर्क शहरको महानगरीय कला सङ्ग्रहालयमा, डेबोद मन्दिरलाई म्याड्रिडको पार्क डेल ओएस्तोमा, तफेह मन्दिरलाई नेदरल्याण्डको रिज्क्स सङ्ग्रहालयमा र इलिसिया मन्दिरलाई तुरिनको म्युजियो इगीजियोमा सारिएको थियो।
यस परियोजनाको लागत लगभग $८० मिलियन थियो जसमध्ये $४० मिलियन ५० राष्ट्रहरूबाट जम्मा गरिएको थियो । यस अभियानलाई व्यापक रूपमा पूर्ण सफलता मानिएको थियो र यसै अभियानबाट प्रेरित भएर अनेकौं अभियान चलाईयो (जस्तै भेनिस र उसको लगुनको संरक्षण इटालीमा, मोहन जोदडो पाकिस्तानमा र इन्डोनेसियामा बोरोबोदर मन्दिर प्राङ्गन) । त्यस पश्चात युनेस्कोले अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषदसँग पहल गरेर एउटा सम्मेलन गर्यो जसले मानवताको सार्वजनिक साँस्कृतिक धरोहरहरूलाई संरक्षण गर्नेछ ।
सम्मेलन र पृष्ठभूमि
कुनै पनि देशले सर्वप्रथम आफ्नो महत्वपूर्ण सांस्कृतिक र प्राकृतिक सम्पदाको एउटा सूची बनाउनु पर्ने हुन्छ । यसलाई प्रारम्भिक सूची पनि भन्ने गरिन्छ । यो आवश्यक छ, किन भने त्यो राष्ट्रले यस्तो कुनै सम्पदालाई नामाङ्कन नगरोस जसको नाम त्यस सुचिमा पहिले देखि नै सम्मलित छैन अर्को त्यस राष्ट्रले यस सुचि मध्ये कुनै सम्पदालाई चयन गरेर नामाङ्कन फाइलमा हाल्न सक्छ । विश्व सम्पदा समितिले कुनै पनि राष्ट्रलाई फाइल बनाउदा चाहिएको सल्लाह तथा सहयोग गर्ने कार्य गर्दछ ।
त्यस फाइललाई स्वतन्त्र रुपले दुई संगठनहरु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद तथा विश्व संरक्षण संघद्वारा मुल्यांकन गर्ने गरिन्छ । यस संस्थाहरुले पछी विश्व सम्पदा समितिलाई सूचीको सिफारिस पठाउछ । समितिको बैठक वर्षमा एक पटक हुन्छ जसमा नामांकित सम्पदालाई विश्व सम्पदा सूचीमा राख्ने अथवा नराख्ने भन्ने बिषयमा निर्णय गर्ने गरिन्छ । जानकारी अपुग भएको अवस्थामा यस समितिले आफ्नो निर्णयलाई सुरक्षित राख्दछ । युनेस्कोले कुनै पनि सम्पदालाई सूचीमा सुचिकृत गर्न १० मापदण्ड बनाएको छ जसमध्ये सुचिकृत हुन कम्तीमा एउटा मापदण्ड पुरा गर्नु पर्दछ ।
नेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरु
आर्थिक, सामरिक, प्राविधिकलगायत सम्पूर्ण कुरामा अमेरिका र युरोपियन मुलुकलाई टक्कर दिने हैसियतमा उदाइसकेका एसियाका दुई ठूला मुलुकहरू चीन र भारत । यिनै दुई मुलुकको भुगोलभित्र घेरिएको सानो मुलुक नेपालको भौगोलिक अवस्था विविधतायुक्त छ । दक्षिणमा समुद्री सतहबाट ७० देखि २०० मिटरको उचाईमा रहेको तराई प्रदेशदेखि लिएर उत्तरमा ८,८४८ मिटर अग्लो सगरमाथासम्मको अध्ययन गर्दा भौगोलिक प्राकृतिक भिन्नताको अनुभूति सजिलै गर्न सकिन्छ । त्यसो त प्रकृतिकमात्रै होइन सांस्कृतिक दृष्टिकोणले पनि नेपालको पहिचान विश्वमै फरक छ । बिदेशबाट वर्षेनी नेपाल आउने लाखौं पर्यटकहरू यहाँको प्राकृतिक र जीवित प्राचीन सांस्कृतिक महत्वका सम्पदाहरू अवलोकन गरेर लठ्ठ पर्छन् । नेपालको प्राकृतिक र सांस्कृतिक मुल्य, विश्व सम्पदा सूचीमा परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् । विश्व क्षेत्रफलको हिसाबले करीब ०.०३ प्रतिशत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका (सन् जुलाई २०१५ सम्ममा) १०३१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको छ जसमा ८०२ सांस्कृतिक, १९७ प्राकृतिक र ३२ मिश्रत रहेका छन् । तिनिहरु मध्ये १० वटा पर्नु अति नै गर्ब गर्न लायक कुरा हो । विश्वमै उदाहरणीय र अनुलनीय रूपमा आफ्नो महत्व बोकेका स्थलहरूलाई आगामी पूर्खाहरूका लागि जीवित राख्ने उद्देश्यले (UNESCO) ले थालेको निगरानी र संरक्षणभित्र नेपालका १० स्थल पर्नु नेपालकै लागि निक्कै गौरबको कुरा हो । बेलायतको लण्डन शहर, भारतको ताजमहल, फ्रान्सको पेरिस, रूसको मस्को, चीनका तिब्बत र विशाल पर्खाललगायतका सूचीमा नेपालका काठमाडौं, भक्तपुर र पाटनलगायत १० स्थल पर्नुले नेपालको पर्यटन सम्भावना विश्वमा झनै फैलिन पाएको छ । नेपालप्रति विश्वका नागरिकको चासो झनै बढ्न गएको छ ।
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक क्षेत्र (तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।
- काठमाडौँ दरवार क्षेत्र (हनुमान ढोका दरबार क्षेत्र)
यो क्षेत्र काठमाडौँ नगरको मध्यमा छ । हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा महत्वपूर्ण स्मारकमा तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक हुन् ।
ने.सं. ७९२ (विं.सं १७२९) मा मल्लकालका प्रसिद्ध राजा प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यसको महत्व र दरबार रहन गएको हो । दरबार स्क्वायरको बीच भागमा अजंगको देखिने काल भैरबको मूर्ति छ । यहीं मल्लहरूका दरबारका अतिरिक्त पृथ्विनारायण शाहले निर्माण गर्न लगाएको नौतले दरबारसमेत छ । नौतले दरबार नजिकै रहेको कुमारी घरको महत्व उत्तिकै छ जहाँ शाक्य कूलकी सानी केटीलाई जीवित देवीको रूपमा राखिएको छ । हनुमानको मूर्ति पछाडि सानो बार्दली रहेको भवनको छानामा हनुमानढोका मुख्य प्रवेशद्वारमाथि बायाँपट्टि तीन छाना भएको मन्दिर छ । यो मन्दिर ‘आगमछे’ नामले प्रसिद्ध छ । हनुमानको मूर्तिको दाँयापट्टि दरबार प्रवेश गर्ने मुख्यद्वारको रूपमा रहेको सुवर्णद्वारलाई बिशेषरुपमा सजाइएको छ । वि.स.१८८७ को नापीमा हुनमान ढोका दरबारको क्षेत्रफल अहिलेको भन्दा निकै ठुलो र विस्तृत रहेको थियो । तर अहिले अतिक्रमण भैसकेको छ । नासल चोकको दक्षिण पूर्वी कुनामा चारतह छाना भएको नौतले वसन्तपुर दरबार छ । वसन्तपुर दरबार नेपाली मन्दिर शैलीमा निर्माण भएको छ ।
- पाटन दरवार क्षेत्र
कलाको शहरका रूपमा परिचित पाटन दरवार क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औँ देखि १८ औँ शताब्दीसम्म निर्माण गरिएका हुन् । प्रायः राजा सिद्धिनरसिंह, श्रीनिवास र योगनरेन्द्र मल्लले निर्माण गर्न लगाएका थिए । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वरलगायतका मुख्य आकर्षणका क्षेत्र हुन् । ढुङ्गाबाट निर्मित कृष्ण मन्दिरको वरिपरि रामायण र महाभारतका दृश्य कुँदिएका छन् ।
सातौंदेखि १३औं शताब्दीसम्म पाटन एशियाकै बुद्ध धर्मको प्रमुख स्कूलको रूपमा स्थापित भएको देखिन्छ । यहाँ रहेका बहाल, बिहार र स्तुपाले यो कुराको पुष्टि गरेका छन् । पाटन दरबार स्वायर क्षेत्र मल्ल राजाहरूको निवास रहेको मुख्य थलोको रूपमा रहेको पाइन्छ । यो क्षेत्रमा तत्कालीन राजाहरूले खानपिन, आराम र बैठकको लागि उपयुक्त हुने देउतले भवनको मात्र होइन, कयौं कलात्मक मन्दिरहरूको पनि निर्माण गर्न लगाएका छन् । पाटन दरबार क्षेत्रको सुन्दर कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको शहरले सम्बोधन गर्ने गरेको पनि पाइन्छ । त्यसमा पनि पाटनको दरबार स्वायर क्षेत्र भवन र मन्दिरको स्थलजस्तो लाग्छ । यहाँ योगनरेन्द्र मल्लको सुन्दर सुनौलो मूर्ति छ । पाटनको सबैभन्दा महत्वपूर्ण आकर्षण हो, दरवार स्क्वायर क्षेत्रमा देउतले भवनको आगाडि रहेको सुन्दर र कलात्मक कृष्ण मन्दिर । राजा सिद्धिनरसिंह मल्लले सन् १६३० मा निर्माण गर्न लगाएको पाटन कृष्ण मन्दिरलाई पर्यटकहरूले निकै मन पराएको देखिन्छ । पाटन दरबार क्षेत्र उतर–दक्षिण आयाताकार रूपमा अवस्थित छ । पूर्वतिर दरबार क्षेत्र र पश्चिमतर्फ लस्करै मन्दिरहरू रहेको हुनाले एकै दृष्टिमा बिभिन्न मन्दिरहरू र दरबार हेर्दा अनुपम देखिन्छ ।
- भक्तपुर दरवार क्षेत्र
भक्तपुरको मुख्य नगर राजा आनन्ददेवले स्थापना गर्न लगाएको गोपालराज वंशावलीमा उल्लेख छ । तैपनि यो शहर लिच्छविकालीन हुनसक्ने अनुमानसमेत गरिएको छ । सिंहद्वार,स्वर्णद्वार, चारधाम, ५५ झ्याले दरवार, तौमडी, न्यातपोल मन्दिर, दत्तात्रेय मन्दिर, पूजारीमठ आदि हेर्न लायक छन् । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।
भक्तपुर दरबार क्षेत्रमा ईटा र काठले बनाइएको ५५ झ्याले दरबार र दरबार वरिपरि रहेका प्यागोडा शैलीका मन्दिरहरूको समष्टिलाई भक्तपुर दरबार क्षेत्रले प्रतिबिम्वित गर्छ । यसमा भएका आँखीझ्यालले वोरण अनि साना–साना असंख्य चित्रहरू (पहिलो तल्लामुनी निस्केका दलीनहरूबीच छन्) ज्यादै महत्वपूर्ण मानिन्छन् । पहिलो तल्ला भित्रपट्टीको चित्रकला ज्यादै उत्कृष्ट छन् भने दोश्रो तल्लामा काष्ठकला प्रदर्शित गरिएका छन् । स्वर्णद्वारको अगाडि विशाल खम्बामाथि सुनको मोलम्वानामा स्थापित भुपतिन्द्र मल्लको शालिक भक्तपुर दरबार क्षेत्रको अर्को आकर्षण हो । ५५ झ्याले दरबारको अगाडि कुनामा एक तल्लामाथि ठुलो घण्टा झुन्डाइएको छ, जुन रणजीत मल्लले स्थापना गरेको अभिलेख पनि त्यसैमा कुँदिएको छ । ठुलो घण्टासँगै शिखर शैलीको ढुंगाको मन्दिर, ५५ झ्यालको कुनामा रहेको दुर्लभ जीवजन्तरको मृर्ति सहितको शिखर शैलीको ढुंगाका मन्दिर र भक्तपुर नगरपालिका जानेवाटोमा पर्ने १ तल्ले छाना भएको रातो मन्दिरलाई ३ वत्सलाको मन्दिर भन्ने चलन छ ।भक्तपुरको दरबार क्षेत्रको भित्री भागमा एउटा सानो चोक रहेको र चारैतिर कोठाहरू देखिन्छन् । यहीं मल्ल राजाहरूको वैठकस्थल पनि रहेको छ । भूपतिन्द्र मल्लको शालिक रहेको सानो ढोका बाहिरको क्षेत्रमा घण्टाको दाहिनेपट्टि वत्सला दुर्गा मन्दिर पनि रहेको र यो शिखर शैलीमा निर्माण भएको देखिन्छ । दरबार क्षेत्रको भ्रमणमा जाने व्यक्तिहरूको लागि ठुलो आकर्षणको रूपमा रहेको छ, वत्सला दुर्गा मन्दिर । भक्तपुरमा रहेका प्यागोडा मन्दिरहरू र भवनहरू विविध विशेषता, विविध संस्कृति र परम्परालाई प्रतिविम्वित गर्न सफल देखिन्छन् ।
- पशुपतिनाथको मन्दिर
विश्वभरिका हिन्दूको पवित्रस्थलका रूपमा रहेको पशुपतिनाथ मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेमात्र चारधामको दर्शन पूरा हुने मान्यता रहेको सो मन्दिर राजा भूपालेन्द्र मल्लले निर्माण गर्न लगाएको मानिन्छ ।
ज्योतिलिङ्ग स्वरूपमा विराजमान पशुपतिनाथ र यस वरिपरिको पावन पशुपति क्षेत्र समस्त हिन्दूहरूको श्रद्धा र आस्थाको केन्द्रविन्दु एवम् पवित्र तीर्थस्थलको रूपमा रहिआएको छ । पशुपतिनाथको मन्दिरमा केन्द्रित पशुपति क्षेत्र करिब ४९२ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । देउपाटन, जयबागेश्वरी, गौरीघाट, चावहिल, कुटुम्बहाल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक बन आसपासको क्षेत्र पाशुपत घेरामा पर्दछ । पशुपति क्षेत्रमा करिब ४९२ साना ठूला बिभिन्न शैलीका मन्दिर, सत्तल, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलिङ्ग रहेका छन् । (स्रोतः- ‘विश्व सम्पदा सूचिमा नेपालका सम्पदाहरू’ नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग)
- स्वयम्भूनाथ
काठमाडौँ उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । लिच्छविकालमा निर्माण गरिएको स्वयम्भू क्षेत्रमा थुप्रै स्तुप छन् ।
स्वयम्भूनाथ स्तुप मानव निर्मित नभएर आफै उत्पति भएको धरोधर हो भन्ने धार्मिक मान्यता राखिन्छ । पाँचौं शताब्दीमा मानदेवको पालामा अर्थात् पाँचौ शताब्दीमा स्वयम्भूको अत्यन्त सुन्दर स्तुपको निर्माण भई सकेको दखिन्छ । स्वयम्भू महाचैत्यको निर्माणपछि कपिलवस्तु, भारतका वनारसलगायत बिभिन्न ठाउँ र चीनको ल्हासाका बिभिन्न स्थानहरूबाट आएका मानिसहरूले स्वयम्भू चैत्यमा दीक्षा दिने÷लिने पुनः निर्माण गर्ने आदि असंख्य कामहरू गरेको देखिन्छ । कपिलबस्तुका पण्डित ओडियानथले स्वयम्भू चैत्यको दर्शन गरेर अष्टसिद्धि योग प्राप्त गरेका थिए । स्वयम्भू महाचैत्यको वरिपरि रहेका शान्तिपुर, वायुपुर, अग्निपुर, नागपुर, नामक पञ्चतत्वको देवस्वरूप मूर्ति र मन्दिरहरूले सौन्दर्यलाई थप आकर्षण गरेका छन् । खुड्किलाको भर्याङको सुरूमा शिलाका तीन अछोम्य बुद्धका मूर्तिहरू रहेका छन् । पश्चिमतिरबाट पनि पैदलै पुग्न सकिन्छ भने दक्षिणतिरबाट सडक यातायात चैत्यको नजिकै पुगेको छ ।
- बौद्धनाथ
काठमाडौँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । आठौँ शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो । पाँचौ शताब्दीमा अर्थात् लिच्छविकालमा निर्माण गरिएको बौद्धनाथ निर्माण गर्दा १२ वर्ष लागेको बताइन्छ ।
राजधानीदेखि झण्डै ८ कि.मि पूर्वमा अवस्थित बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । यो गुम्बा पाँचौ शताब्दीमा बनेको अनुमान गरिन्छ तर ठोस प्रमाण भने भेटिएको छैन । तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । डनियल राइटद्वारा सम्पादित उन्नीसौं शताब्दीको एउटा वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथमले (४६४–५०५सन्) गरेको देखिन्छ । बौद्ध मार्गीहरूले बौद्धनाथ महाचैत्य पनि स्वयम्भूनाथ महाचैत्यजस्तै आफै उत्पन्न भएको हो भन्ने विश्वास पनि राखेको पाइन्छ ।
- चाँगुनारायण मन्दिर
भगवान विष्णुको मन्दिरका रूपमा रहेको चाँगुनारायणको निर्माणका बारेमा आजसम्म पनि तथ्य फेला पर्न सकेको छैन । विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँ उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।
समुन्द्र सतहदेखि ५,५०० फिटको उचाईमा भक्तपुर शहरदेखि ५ कि.मि. उत्तरमा बिभिन्न कलाकृतिबाट सजिएको रमणीय पर्यटकीय धार्मिक तीर्थस्थल हो, चाँगुनारायण मन्दिर । प्राकृतिक सौन्र्दयको माझमा यो मन्दिर रहेको छ । चाँगुनारायणलाई कोही चम्पकनारायण, कोही गरूडनारायण, कोही चौपानारायण नामले समेत सम्बोधन गर्छन् । यी नारायण सत्य युगदेखि नै भएको कुरा उल्लेख छ । चाँगुनारायणको मन्दिर काठमाडौं उपत्यकामा सबैभन्दा पहिलेको अर्थात् सबैभन्दा पुरानो मानिन्छ । नेपालको पुरातन संस्कृति कलाले सिंगारिएको यो मन्दिर भव्य छ । यस मन्दिरको वरिपरि कसरी सफा गर्ने र पर्यटकहरूलाई कसरी आकर्षण भन्नेतर्फ ध्यान जानु जरुरी देखिन्छ । नेपालको इतिहासमा चाँगुनारायण क्षेत्रलाई एउटा त्यस्तो महत्वपूर्ण दस्तावेज मान्न सकिन्छ कि एउटा सानो चांगु क्षेत्रले प्राचीन नेपालको सम्पूर्ण इतिवृत्तान्त दिलाइरहेको छ । यो तथ्यलाई भुलेर पूरानै ढंगले एउटा सांस्कृतिक र धार्मिक पुरातात्विक क्षेत्रको रूपमा मात्रै लिने हो भने चाँगुनारायाणलाई नचिनेको ठहरिनेछ । तसर्थ, चाँगुनारायण क्षेत्रलाई केही मन्दिर र मुर्तिहरूले सजिएको एक सम्पदा स्थलको रूपमा मात्र होइन, बरू सिंगो नेपालको राजनीति इतिहास बुझाउने एक दरिलो प्रमाणको रूपमा प्रस्तुत गर्न सकिन्छ ।
- लुम्बिनी
ईशापूर्व ६२३ मा बुद्ध जन्मिएको स्थल । काठमाडौंबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउआदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।
लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको बुद्ध जन्मस्थान २७ डिग्री २५’ उत्तरी अक्षांश र ८२ डिग्री ४३’ पूर्वी देशान्तरमा अवस्थित छ । विश्वका प्रमुख धर्महरू मध्ये एउटा धर्मको रूपमा स्थापित बुद्ध धर्मका प्रणेताको रूपमा प्रतिष्ठित गौतम बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा रहेकैले विश्वमै नेपालले बुद्ध जन्मेको देशको महत्वपूर्ण स्थान पाएको छ । विश्वभरका बौद्धमार्गीहरूको सबैभन्दा ठूला तीर्थस्थलको रूपमा प्रख्याति पाएको लुम्बिनीको धार्मिक र ऐतिहासिक महत्वकै कारणले युनेस्कोले विश्व सम्पदा अन्तरगत सूचीकृत गरेको छ । सर्वप्रथम मौर्य राजा अशोक आफ्नो राज्यभिषेकको वीसौं वर्ष (२४५ ई.पू.) मा लुम्बिनी आएको र शिला स्तम्भ राखेको कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख गरिएको छ । सन् १८९६ मा वीरशम्सेरले नियुक्त गरेका पाल्पाका गर्भनर खड्गशम्सेरको नेतृत्वमा भएको उत्खनन्बाट अशोक निर्मित शिलास्तम्भ प्राप्त भएको थियो । सम्राट अशोकले अफ्नो जीवनकालमा स्थापना गरेका ६४ स्तम्भमध्ये लुम्बिनीको अशोक स्तम्भ सबैभन्दा महत्वपूर्ण मानिन्छ । सन् १९९४ देखि पुरातत्व विभाग र जापानको बुद्धिष्ट महासंघको संयुक्त प्रयासमा लुम्बिनी विकास परियोजनाअन्तर्गत उल्खनन कार्य भइरहेको छ ।
- चितवन राष्ट्रिय निकुञ्ज
सन् १९७३ मा स्थापित यो निकुञ्जमा वन्यजन्तु तथा सयौँ प्रजातिका वनस्पतिको अवलोकन गर्न सकिन्छ । तराईको समथर मैदानमा रहेको यो राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महत्वपूर्ण वासस्थलको रूपमा रहेको छ ।
शाही चितवन राष्ट्रिय निकुञ्जको नाममा २०३० सालमा स्थापना भएको यो निकुञ्जलाई अहिले चितवन राष्ट्रिय निकुञ्जबाट चिनिन्छ । प्राकृतिक वातावरण, वन्यजन्तु, पंक्षी, वनस्पति र भू–दृश्यहरूका दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको हो । ९३२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो निकुञ्जले चुरे पर्वत, राप्ती उपत्यका, नारायणी, राप्ती र रिउ नदीहरूले बनाएको मैदानी भाग, सिमसार क्षेत्र, ताल, तलैया, बनजंगल, झाडी, बुट्यान आदि क्षेत्रहरूलाई समेटेको छ । यो निकुञ्ज महाभारत पहाडको फेदिदेखि दक्षिणतर्फ फैलिएको छ । विविधतापूर्ण प्राकृतिक वातावरण, उपलब्ध जैविक विविधतामा सम्पदाको दृष्टिकोणले चितवन राष्ट्रिय निकुञ्ज अत्यन्त महत्वपूर्ण छ । यो निकुञ्जमा पचासौं जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । ३० भन्दा बढी ठूला जातका स्तनधारी जीवजन्तुहरू पाइन्छन् । चितवन राष्ट्रिय निकुञ्जको महत्व विश्वमै दुर्लभ एकसिंगे गैंडा र ठूला हात्तीहरूले बढाएका छन् ।
- सगरमाथा राष्ट्रिय निकुञ्ज
सन् १९७६ मा स्थापित पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यस निकुञ्ज क्षेत्रमा विश्वकै सर्वाच्च शिखर सगरमाथा पनि छ । यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् ।
सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलरीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि संसारभर सगरमाथा अञ्चलमा अवस्थित हिमशिखर सगरमाथा तथा खुम्बु क्षेत्रको चर्चा हुन थाल्यो । नेपालमा निकुञ्ज तथा संरक्षण क्रियाकलापमा संलग्न एफएओ का एक उच्च अधिकारी जोन ब्लाओरले सन् १९७१ मा सगरमाथा क्षेत्रको भ्रमण गरी यस क्षेत्रमा निकुञ्ज स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । तत्कालिन श्री ५ को सरकार, न्युजिल्याण्ड सरकार, वातावरणविद्हरू, पर्यटकहरू र स्थानीय जनताको सहयोगमा सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना पनि भयो । त्यसो त, हिमाली राज्यको रूपमा विश्वमा परिचित हुँदै आएको नेपालका अधिकांश उच्च र मनोरम दृश्यका हिमशिखरहरू सगरमाथा राष्ट्रिय निकुञ्जकै माथिल्लो भागमा पर्छन् । निकुञ्जमा पर्ने ८००० मिटरभन्दा बढी उचाईका हिमालहरू धेरै छन् । ८,८४८ मिटर उचाइको सगरमाथासहित ८,५१६ मिटर उचाइको ल्होत्से, ८,४०० मिटर उचाइको ल्होत्सेसार र ८,२०१ मिटर उचाइको चायु हिमाल छन् । त्यसैगरी, ७,००० मिटरभन्दा बढी उचाईका हिमालहरूमा ७,७४३ मिटर उचाइको नोजुंम्वाकाङ्ग, ७,८५५ मिटर उचाइको नुद्से, ७,१६१ मिटर उचाइको पुमोरी, ७,५९१ मिटर उचाइको शान्ति शिखर र ७,५५९ मिटर उचाईको झार्से छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश भूभाग समुद्री सतहबाट ३,००० मिटरभन्दा बढी उचाईमा छ ।
यस वाहेक नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा गरी अहिलेसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह गरेको छ । यी सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ । नेपालद्वारा प्रस्तावित सम्पदा हुन् :-
- पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र - (सन् १९९६)
- प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिरौलाकोट - (सन् १९९६)
- मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला - (सन् १९९६)
- गोरखास्थित मध्यकालीन दरबार क्षेत्र - (सन् १९९६)
- रामग्राम - (सन् १९९६)
- खोकना - (सन् १९९६)
- लो मान्थाङ - (सन् २००८)
- बज्रयोगिनी र साँखुका प्रारम्भिक बस्ती - (सन् २००८)
- कीर्तिपुरको मध्यकालीन वस्ती - (सन् २००८)
- रूरू क्षेत्रको ऋषिकेश हाता - (सन् २००८)
- नुवाकोट दरबार क्षेत्र - (सन् २००८)
- रामजानकी मन्दिर - (सन् २००८)
- तानसेनको मध्यकालीन नगर - (सन् २००८)
- सिंजा उपत्यका - (सन् २००८)
- दैलेखेको भुर्ती मन्दिर क्षेत्र - (सन् २००८)
विश्व सम्पदा सूचीमा परेका स्थलहरूको सुरक्षा सम्बन्धित देशको मात्रै नभएर विश्वकै जनताको जिम्मेवारीभित्र रहन्छ । त्यसैले नेपालका १० धरोहरको संरक्षणलाई विश्वकै जिम्मेवारी भित्र पार्नु नेपालका लागि अति नै सकारात्मक पक्ष हो । युनेस्कोको पहलमा सन् १९५४ को २१ अप्रिल देखि १४ मे सम्म हेगमा सम्पन्न अन्तरर्राष्ट्रिय सम्मेलनले १४ मे १९५४ का दिन तयार पारेको महासन्धीमा सशस्त्र संघर्षको बेलामा सांस्कृतिक सम्पदाको सुरक्षा गर्नु विश्वकै जनताको जिम्मेवारी भएको उल्लेख छ । काठमाडौं उपत्यकाको विश्व सम्पदा सूचीमा परेका स्थलहरूको मूल्यांकन युनेस्कोले नोभेम्वर १९९३ मा संयुक्त रूपमा गरेको थियो । युनेस्कोको पुनरावलोकनले विश्व सम्पदा सूचीमा परेका स्थलहरूको दिनहुँ ह्रास हुँदै गएको स्थिति देखेर ती स्थलहरूलाई एक देखि तीन वर्षसमम्म खतरामा परेको विश्व सम्पदा स्थलहरूको सूची (खतरामा रहेका सम्पदाहरू) मा राख्ने र विभिन्न शर्तहरू पूरा गरेको अवस्थामा पुन विश्व सम्पदा सूचीमा राख्ने सिफारिस गरेको देखिन्छ । युनेस्कोले पशुपति क्षेत्रमा बढ्दै गएको मानवीय र भौतिक अतिक्रमणबारे त नेपाललाई अहिले पनि सचेत समेत गराउँदै आएको छ । हाम्रा यी सम्पदाहरू मध्ये अधिकांश अहिलेका भौतिक विकासका प्रतिफल होइनन्, सनातन कालदेखिका धरोहर हुन् भने कतिपय प्रकृतिका अनुपम देन हुन् । हामीलाई त यी धरोहरलाई केवल संरक्षित गर्नसक्ने हैसियतको खाँचो छ र यिनै धरोहरबाट विदेशी पर्यटकलाई आकर्षित गर्ने ठूला योजनाहरूको खाँचो छ । बैशाख १२ को बिनाशकारी भुकमपले अहिले धेरै जसो सम्पदामा नोक्सान पर्याएको छ । तिनीहरुलाइ अब पहिलेको जस्तो मात्र नभै त्यहि शैलीमा त्यो भन्दा उत्कृष्ट पुननिर्माण गर्नु अहिलेको आवश्यकता पनि रहेको छ ।
उपयाेगी लाग्याे । अझै विवरण र जानकारी राख्दै जाअाैँ । जस्तै जनकपुरकाे जानकी मन्दिरलाइ सम्भाब्यता सूचीमा राखिएकाे भनिएकाे थियाे । साे सम्बन्धी पनि जानकारी अपडेट गर्नुभएकाे भए राम्राे हुने थियाे ।
ReplyDelete
ReplyDeleteनेपालमा रहेका विश्व सम्पदा क्षेत्रहरुसम्पादन र सुचित बिश्वो सम्पदा सुचिमा सुचिकृत ६३० संपदा हरुछन्।
युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका विभिन्न सम्पदा (सांस्कृतिक र प्राकृतिक) लाई सूचीकृत गरिएका छन् । सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौँ उपत्यकाभित्रका सात स्मारक सहित क्षेत्रउपत्यका आसपासका लिच्छविकालीन मठ मन्दीर सङ्गै चार शक्तिपिठ(तीन वटा ऐतिहासिक दरवार, दुई वटा बौद्ध स्तुप र दुई वटा हिन्दू मन्दिर स्मारक) र लुम्बिनी तथा प्राकृतिक सम्पदा अन्तर्गत चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। उपत्यकाका ती सम्पदालाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।