प्रश्नः-
गणित विषय शिक्षणमा अधिकांश शिक्षक तथा विद्यार्थीहरू बीजगणित विषयवस्तुलाई कण्ठस्थ गर्न र अभ्यास गर्न बढी केन्द्रित देखिन्छन् । यस्तो समस्या आउनुका कारणहरू उल्लेख गरी बीजगणित शिक्षणलाई व्यावहारिक, सहज र सरल कसरी बनाउन सकिन्छ ? समाधानका उपायहरू प्रस्तुत गर्नुहोस् । ५+५=१० (TSC 2070)
उत्तरः-
गणित विषय शिक्षणमा अधिकांश शिक्षक तथा विद्यार्थीहरू बीजगणितका विषयवस्तुलाई कण्ठस्थ गर्न र अभ्यास गर्न बढी केन्द्रित देखिएको अवस्थामा यस्तो समस्या आउनुका सम्भावित कारणहरू निम्नलिखित छन् :-
- तालिम प्राप्त शिक्षकहरूको अभाव हुनु ।
- बीजगणितको व्यावहारिक पक्षबारे शिक्षकलाई नै पर्याप्त ज्ञान नहुनु ।
- शैक्षिक सामग्रीको अभाव ।
- पाठ्यक्रमअनुसार जसरी पनि कोर्ष सिध्याउन हतार गर्ने प्रवृत्ति शिक्षकमा हुनु ।
- विद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकाको अभाव हुनु र उपलब्ध भएको अवस्थामा पनि तिनको पूर्ण उपयोग नगरिनु ।
- परीक्षामुखी पठनपाठन, परीक्षामा सोधिने समस्या हल गर्न सके हुन्छ भन्ने गलत मानसिकता शिक्षकमा रहनु ।
- जान्नका लागि भन्दा परीक्षा पास गर्नका लागि सिक्ने, सिकाउने प्रवृत्ति हुनु ।
- प्रधानाध्यापक र शिक्षकहरूमा लगनशीलताको कमी हुनु ।
- शिक्षकहरूमा सरकारको काम कैले जाला घाम भन्ने गलत मान्यतालाई अवलम्बन गर्ने प्रवृत्ति पाउनु ।
- अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणको अभाव हुनु ।
- विद्यालय निरीक्षक र स्रोतव्यक्तिबाट शिक्षकलाई उपलब्ध हुनुपर्ने पेसागत सहयोगको अभाव हुनु ।
- प्रधानाध्यापकको नेतृत्व क्षमता कमजोर हुनु ।
माथि उल्लिखित कारणहरूलाई मनन गरी समस्याको समाधान गर्न सकेमा बीजगणितको शिक्षण सिकाइलाई व्यावहारिक, सहज र सरल बनाउन सकिन्छ । अतः बीजगणितका विषयवस्तुमा शिक्षक र विद्यार्थीहरूमा देखिएको उक्त समस्या समाधानका लागि अपनाउन सकिने सम्भावित उपायहरू निम्नलिखित छन् :-
- कक्षा कार्यकलापका क्रममा शैक्षिक सामग्रीको प्रयोग पर्याप्त मात्रामा बढाउने ।
- शिक्षण सिकाइका क्रममा शिक्षकले विद्यार्थीको स्तरअनुसारको व्यावहारिक भाषा प्रयोग गर्ने ।
- व्यावहारिक उदाहरणहरू दिएर गणित विषय शिक्षणलाई दैनिक जीवनसँग सम्बन्धित गराएर सिकाउने ।
- बीजगणित अङ्कगणितको सामान्यीकरण भएकोले बीजगणितको शिक्षणलाई अङ्कगणितसँग सम्बन्धित गर्ने ।
- जस्तैः (a+b)2=a2+2ab+b2 को शिक्षण गर्दा (2+3)2, (3+4)2, (5+3)2 जस्ता अभ्यास पर्याप्त मात्रामा गराउने ।
- बीजगणित शिक्षण गर्दा सो सम्बन्धमा पाठको धारणा, अभ्यास, व्यावहारिक प्रयोग आदि सबै पक्षमा ध्यान दिने ।
- बीजगणितका पाठहरूको दैनिक जीवनमा प्रयोगबारे विद्यार्थीहरूलाई परियोजना कार्य गराउने ।
- शिक्षकलाई समसामयिक विषयवस्तुमा तालिम दिने ।
- तालिम, नमूना कक्षा, शिक्षक बैठक आदि मार्फत शिक्षकहरूलाई बीजगणितको व्यावहारिक पक्ष तथा त्यसको शिक्षण बारे पर्याप्त ज्ञान तथा सीप प्रदान गर्ने ।
- विद्यालयमा पर्याप्त मात्रामा शैक्षिक सामग्रीको व्यवस्था गर्ने ।
- बीजगणितको शिक्षणमा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिकाको पर्याप्त मात्रामा प्रयोग गर्ने ।
- परीक्षामुखी पठनपाठन होइन सिक्न सिकाउनका लागि गणित शिक्षण सिकाइ गर्ने
- परीक्षा तथा मूल्याङ्कनलाई व्यावहारिक बनाउने ।
- विद्यार्थीको सिकाइप्रति शिक्षकलाई जवाफदेही बनाउने ।
- विद्यालय निरीक्षक र स्रोतव्यक्तिबाट शिक्षकलाई पर्याप्त मात्रामा पेसागत सहयोग उपलब्ध गराउने ।
- प्रधानाध्यापकहरूलाई नेतृत्व विकाससम्बन्धी तालिमको व्यवस्था गर्ने ।
.
0 comments:
Post a Comment