एउटा माध्यमिक विद्यालयमा कक्षा ९ मा ४० जना विद्यार्थी छन् । तीमध्ये १० जना नेवार मातृभाषी, १० जना मगर मातृभाषी, २ जना राई मातृभाषी, ४ जना तामाङ मातृभाषी र बाँकी १४ जना नेपाली मातृभाषी छन् । शारीरिक दृष्टिले २ जना कान नसुन्ने र १ जना आँखा नदेख्ने पनि छन् । ती पनि नेपाली मातृभाषी नै हुन् । नेपाली मातृभाषी विद्यार्थीहरूको उपलब्धिस्तर राम्रै छ, तर अरू विद्यार्थी भने नेपाली भाषामा साह्रै कमजोर छन् । यस प्रकारको विविधतायुक्त कक्षामा तपाईलाई नेपाली भाषा शिक्षकका रूपमा शिक्षण गर्न पठाइँदैछ भन्ने परिस्थितिमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् ।
(क) उल्लिखित कक्षाका समस्याहरू के-के हुन् ? उल्लेख गर्नुहोस् ।
(ख) ती समस्याको समाधान गर्न सम्बन्धित शिक्षकले के गर्नुपर्ला ?
(ग) त्यस्तो कक्षामा शिक्षण गर्दा के-कस्ता कार्यकलाप सञ्चालन गर्नुपर्ला ?
(घ) विशेषतः कमजोर विद्यार्थीलाई समक्ष बनाउन के-कस्ता थप कार्यकलाप अवलम्बन गर्नुपर्ला ?
उपरोक्त प्रश्नहरुको उत्तरहरु क्रमश निम्नअनुसार रहेका छन् ।।
(क) कक्षाका सम्भावित समस्याहरूः-
- कक्षा बहुभाषिक र बहुसांस्कृतिक भएकाले विभिन्न भाषाभाषीका विद्यार्थीको उपस्थिति हुँदा नेपाली भाषा शिक्षणमा सहजता नभएको ।
- पहिलो भाषाका रूपमा नेपाली भाषा बोल्ने भन्दा दोस्रो भाषा बोल्नेहरूको सङ्ख्या बढी हुँदा दोस्रो भाषाका रूपमा नेपाली भाषा शिक्षण गर्नुपर्ने अवस्था ।
- दोस्रो भाषा शिक्षणका लागि शिक्षकमा क्षमताको कमी ।
- विद्यार्थीको भाषा सिकाइको स्तर भिन्न ।
- अपाङ्गताका रूपमा सञ्चारसम्बन्धी देखाइ र सुनाइ समस्या भएका विशेष खालका विद्यार्थी पनि भएकाले सिकाइमा विविधता ल्याउनुपर्ने समस्या ।
- कमजोर विद्यार्थीलाई थप सहयोग नहुनु ।
- शैक्षिक सामग्रीको कमी हुनु ।
(ख) समस्या समाधानका लागि शिक्षकले गर्ने कार्यहरूः-
- कक्षामा प्रभावकारी भाषा शिक्षण सिकाइ वातावरण तयार पार्ने र सक्रिय सिकाइ शैलीको विकास गर्ने ।
- समान भाषा परिवार (नेवार, मगर, राई, तामाङ) लाई उनीहरूको भाषिक स्वरूप र संरचनालाई विचार गरी दोस्रो भाषा शिक्षणका तरिकाहरू प्रयोग गर्ने ।
- कक्षामा खेल विधि, व्यक्ति कार्य, युग्म कार्य र समूह कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
- नेपाली मातृभाषा र नेवार, मगर, राई, तामाङ मातृभाषाको मिश्रित समूह बनाई बसाइ व्यवस्थापन र सहयोगात्मक समूह कार्य गराउने ।
- शिक्षण सिकाइमा सबैको समान सहभागिताको सुनिश्चितताका लागि सहजीकरण गर्ने ।
- विद्यार्थीको वैयक्तिक भाषिक क्षमता र स्तरअनुसारको छुट्टाछुट्टै अवसर र कार्य दिने ।
(ग) बहुभाषिक कक्षामा शिक्षण गर्दा गरिने कार्यकलापहरूः
- पाठ्यक्रम र पाठ्यपुस्तकको मूल मर्मअनुरूप जातीय, धार्मिक र सांस्कृतिक सद्भाव कायम राख्ने गरी शिक्षण कार्यकलाप चयन गर्ने । जस्तैः नेपाली भाषीलाई दशैँ, जनैपूर्णिमामा पनि उनीहरूकै चाडपर्वको बारेमा लेखन सीप कार्यकलाप गराउने ।
- विद्यार्थी बसाइ, समूह कार्य, छलफल आदि गराउँदा विभिन्न भाषाभाषीका विद्यार्थीहरू पर्ने गरी समूह बनाएर कार्यकलाप चयन गर्न गराउने ।
- भाषाका सुनाइ, बोलाइ, पढाइ र लेखाइ सीपसँग सम्बद्ध शिक्षण कार्यकलाप गराउने र यी कार्यकलाप सबै विद्यार्थीको सक्रिय सहभागिताको वातावरण बनाउने, सहजीकरण गर्ने र सक्रिय सहभागिताको सुनिश्चितता गर्ने ।
- प्रस्तुतीकरण, अभ्यास, उत्पादन जस्ता भाषा शिक्षणका विधिका आधारमा क्रियाकलापको सञ्चालन गर्ने ।
- सिकाइमा कमजोर मानिएका विद्यार्थीहरूलाई थप सहयोगको व्यवस्था गर्ने ।
- आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरी नियमितरूपमा प्रयोग गर्ने
(घ) विशेषतः कमजोर विद्यार्थीलाई सक्षम बनाउन गरिने थप कार्यकलापहरूः
- भाषिक कठिनाइ भएका विद्यार्थीलाई विशेष ध्यान दिने, सहयोग गर्ने र सिकाइका लागि प्रोत्साहन दिने ।
- व्यक्तिगत कार्यमा बढी जोड दिई शिक्षकले विद्यार्थीकै गति र शैलीमा सिक्ने वातावरण निर्माण गर्ने ।
- नेपाली मातृभाषी विद्यार्थीलाई सहपाठी बनाई सहयोगात्मक तरिकाले सिक्ने सिकाउने वातावरण तयार पार्ने ।
- विद्यार्थीहरूलाई कक्षा कार्यकलापमा सहभागी हुन प्रोत्साहित गर्ने ।
- विद्यार्थीहरूले गर्ने गल्तीका क्षेत्रहरू पहिचान गरी गल्ती हटाउन सहजीकरण गर्ने ।
- शिक्षकले विद्यार्थीको क्षमता र स्तरलाई ध्यानमा राखी कक्षाकार्य र गृहकार्य दिने र नियमितता प्रदान गर्ने ।
- स्पष्ट उद्देश्य बनाई विशेष प्रकारको कार्य दिने, त्यसको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने ।
.
0 comments:
Post a Comment