प्रश्नः-
विज्ञान विषय मानव जीवनका हरेक पक्षसँग प्रत्यक्ष सम्बन्ध
राख्ने विषय हुँदाहुँदै पनि विद्यार्थीहरूको विज्ञान विषयप्रति रुचि कम
हुनुका कारणहरू के-के हुन् ? उल्लेख गर्नुहोस् र विद्यार्थीहरूमा यस
विषयप्रति रुचि बढाउन तपाई एक योग्य शिक्षकको हैसियतले के-कस्ता उपायहरू
अपनाउनु हुन्छ ? प्रष्ट्याउनुहोस् ।
उत्तरः-
विज्ञान भनेको त्यस्तो ज्ञानको भण्डार हो जसले हाम्रो जिज्ञासालाई
भेटाउँदछ र प्रयोग तथा अवलोकनको माध्यमबाट अनुभवमा वृद्धि गराउँछ । आफूमा
भएको ज्ञान सीपलाई वैज्ञानिक तरिका अपनाई मिलाएर राख्न सक्ने क्षमता प्रदान
गर्ने कार्य विज्ञानले गर्दछ । तसर्थ विज्ञान एक यस्तो गतिशील विषय हो
जसमा सबैभन्दा नयाँ र असल जवाफका लागि प्रयास भइरहेको हुन्छ । आधुनिक मानव
समाजमा विज्ञानको महत्वपूर्ण देन रहेको पाइन्छ । विज्ञानले नै आज मानव
समाजलाई ढुङ्गे युगबाट कृषि, पशुपालन औद्योगिक युग हुँदै कम्प्युटर र
इलेक्ट्रोनिक तथा सञ्चारको युगमा ल्याइपुर्याएको छ । विज्ञान तथा प्रविधिको
विकासले संसारलाई एउटा सानो गाउँमा परिणत गरिदिएको छ । विज्ञान तथा
प्रविधिको उपलब्धिहरूको उपयोग उद्योग, कलकारखाना, सञ्चार, कृषि, यातायात,
औषधी विज्ञान, इन्जिनियरिङ आदि क्षेत्रमा भइरहेकाले नै आज मानव जीवन सरल र
सुगम बनेको छ । मानव जीवनमा विज्ञान शिक्षाले निम्न कुराहरूमा सहयोग पुर्याएको छ :-
- व्यक्तिमा नयाँ सोच, सीप र प्रविधिको विकास गर्न सहयोग पुर्याउँछ ।
- दक्ष र उच्च स्तरको जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ ।
- मानिसमा सकारात्मक प्रवृत्तिको विकास गराउँछ ।
- व्यक्तिलाई लगनशील र परिश्रमी बन्न तथा खोजी गर्ने बानीको विकास गर्न सघाउँछ ।
- वैज्ञानिक अभिवृत्ति तथा आत्मदृढताको विकास गराउन सहयोग गर्दछ ।
तसर्थ
मानव जीवनका विभिन्न पक्षमा यसरी विज्ञान विषयको आवश्यकता रहेको छ ।
यसरी विज्ञान विषय मानव जीवनका हरेक पक्षसँग प्रत्यक्ष सम्बन्धित विषय
भएतापनि विद्यार्थीहरूको विज्ञान विषयको अध्ययन-अध्यापनप्रतिको रुचि कम
भएको पाइन्छ । अतः विज्ञान विषयप्रति विद्यार्थीहरूको रुचि कम हुनुका
सम्भावित केहि कारणहरू निम्न अनुसार रहेका छन् :-
- समयको माग अनुसार विषयवस्तुहरूको संयोजन गर्न नसक्नु ।
- विज्ञान विषयका पाठ्यवस्तुहरूले विद्यार्थीको रुचि र चाहनालाई समेट्न नसक्नु
- विषयवस्तु बढी सैद्धान्तिक तथा घोकन्ते सिकाइमा आधारित हुनु ।
- विषयवस्तुहरू विद्यार्थीको क्षमता भन्दा बढी कठिन हुनु ।
- शिक्षण विधिमा विविधता ल्याई विद्यार्थी केन्द्रित शिक्षण क्रियाकलाप सञ्चालन नगर्नु तथा प्रयोगात्मक विधिको प्रयोग नगर्नु ।
- पाठ्यक्रम तथा नीति निर्माणकर्ताहरूमा वैज्ञानिक तथा प्राविधिक साक्षरता (Scientific technology literacy) को अभाव हुनु ।
- विज्ञान शिक्षणमा सिर्जनात्मक तथा सुधारात्मक शिक्षण सिकाइको अभाव हुनु ।
- निरन्तर मूल्याङ्कनको अभावमा मिहेनत अनुसारको प्रतिफल प्राप्त नहुनु ।
- शिक्षण सिकाइमा शैक्षिक सामग्रीको प्रयोग नहुनु तथा आफ्नो पेसाप्रति शिक्षक प्रतिबद्ध नरहनु ।
- शिक्षकहरूलाई समयसापेक्ष तालिम दिन नसक्नु र तालिममा सिकेका कुराहरू कक्षाकोठामा प्रयोग नहुनुले पनि विज्ञान विषयप्रति विद्यार्थीहरूको रुचि कम भएको पाइन्छ ।
माथि उल्लिखित कारणहरूलाई ध्यानमा राखि विज्ञान विषयप्रति विद्यार्थीहरूको
रुचि बढाउनका लागि एउटा योग्य र अनुभवी शिक्षकले अपनाउन सक्ने सम्भावित उपायहरूलाई निम्न अनुसार बुँदागत रूपमा उल्लेख गर्न सकिन्छः-
- शिक्षक आफ्नो शिक्षण पेसाप्रति प्रतिबद्ध रहने ।
- शिक्षक आफैँ विज्ञानका नयाँ-नयाँ खोजप्रति Update भइरहने ।
- आवश्यकता अनुसार तालिम लिने र तालिममा सिकेको सीप कक्षाकोठामा प्रयोग गर्ने ।
- शिक्षण विधिमा विविधता ल्याई शिक्षणलाई विद्यार्थी केन्द्रित बनाउने ।
- विद्यार्थीहरूमा नयाँ सोच तथा अवधारणा विकास गराउने खालका शैक्षिक विधिहरू अपनाएर शिक्षण गर्ने ।
- विज्ञानसम्बन्धी विभिन्न पुस्तक तथा पत्रपत्रिका आदि अध्ययन गरी ज्ञान तथा सीप हासिल गर्ने ।
- विद्यार्थीलाई गरेर सिक्ने (Learning by doing) का लागि वातावरण तयार गरिदिने ।
- विज्ञान विषयको सिकाइलाई रुचिपूर्ण बनाउन उपयुक्त शैक्षिक सामग्रीको व्यवस्था गर्ने वा निर्माण, भण्डारण र प्रयोग गर्ने ।
- ICT (Information Communication Technology) को प्रयोग गरेर विज्ञान शिक्षण गर्ने ।
- विज्ञान शिक्षणमा सुधार ल्याउन विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्ने ।
- विज्ञान विषयसँग सम्बन्धित विभिन्न अतिरिक्त क्रियाकलाप तथा सहकार्यकलापमा जोड दिने । जस्तैः शैक्षिक भ्रमण, हाजिरीजवाफ, शैक्षिक सामग्री निर्माण, विज्ञानसम्बन्धी लेख, रचना लेख्न लगाउने, विज्ञान तथा वातावरण क्लब खोली सम्बन्धित क्रियाकलापहरू गर्ने, गराउने आदि ।
0 comments:
Post a Comment