सामान्यतया मानिसलाई पढ्ने काम गाह्रो नै लाग्छ तर नपढी सुखै छैन । पढेर नै मानिस सुशील, ज्ञानी र सभ्य बन्न सक्दछ । नपढ्नु वा पढ्ने आदतको विकास नगर्नु भनेको मानवीय जीवनलाई निस्कृयतातिर धकेल्नु मात्रै हो । सबै मानिसले औपचारिक शिक्षा हासिल गरेका छन् र सबैले विद्यालय, कलेज र विश्वविद्यालयकै शिक्षा लिनु पर्दछ भन्ने आग्रह पनि होइन । अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन सक्दछन् । सवाल यति मात्र हो कि हामी जति मात्रामा अध्ययन गर्दछौँ त्यति नै मात्रामा हाम्रो सोचाइ, दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तनको धर्सो देेखा पर्दछ । सायद "थोरो" भन्ने एक जना विद्वान्ले अध्ययनकै महत्वलाई पुष्टि गर्न भनेका थिए- पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन । यहाँ थोरो मात्र होइन हरेक अध्ययनप्रेमी व्यक्तिले दोस्रो व्यक्तिलाई अध्ययन गर्ने सल्लाह दिन्छ । अध्ययनले मानिसको भित्री आँखा खोल्दछ, उसलाई जीवन जीउने प्रेरणा दिन्छ र आशावादी बनेर आफ्नो कुनै आदर्श व्यक्तित्वको झैँ सकारात्मक विचार राखी जगत्मा अमर रहने कला सिक्दछ । पढाइको कुनै विकल्प छैन । चाहे हामी औपचारिक तवरले कुनै विश्वविद्यालयीय अध्ययन गरौँ चाहे अनौपचारिकरूपमा आफूलाई मन परेको विषयका पुस्तकहरू पढौँ तर पढ्नुपर्दछ, निरन्तररूपमा पढिरहनुपर्दछ ।
हामीकहाँ एउटा के विडम्बना छ भने कि हामी अध्ययन गर्नुपर्दछ भन्ने कुरालाई कहिल्यै गम्भीरतापूर्वक व्यवहारमा लागू गर्दैनौँ । हामी पढ्दा पनि हतारको साहित्य भनेर चिनिने पत्रपत्रिकाहरूका हेडलाइन पढेर छोडिदिन्छौँ कि त पत्रिका पनि पढ्ने हामी समय झिक्न सक्दैनौँ । देशका सबै ठाउँमा पत्रपत्रिकाको पहुँच पुगेको छैन यो छुट्टै बहसको विषय भयो । आज नभए कुनै दिन त अवश्य पुग्छ तर हामीकहाँ पत्रपत्रिकाको पहुँच छ वा हाम्रो ठाउँमा सामुदायिक पुस्तकालयहरू छन् भने पनि हामी विज्ञान, कला, धर्म, दर्शन, इतिहास, साहित्य आदिका विविध पुस्तकहरू पढेर आफूलाई एक कदम अगाडि राख्ने अवसरबाट चुकाइरहेका छौँ । पढ्ने पनि बानी हो र नपढ्ने पनि बानी हो । हामीले आफूमा जस्तो आदत बसायौँ, त्यस्तै आदतको निर्माण हुन्छ । भनिन्छ- मानिसले आफ्ना कुनै खराब आदतलाई केवल २१ दिनको अभ्यासबाट हटाउन सक्दछ र आफूमा कुनै
राम्रा आदत तथा बानीहरूको विकास गराउन पनि त्यही २१ दिनको अभ्यासबाट कुनै पनि मानिस सफल हुन सक्दछ ।
सर्वप्रथम त हामीले कस्ता पुस्तकहरू वा कस्ता सामग्रीहरु आफूलाई मन पर्दछन् वा कस्ता सामग्रीहरू पढ्दा ज्ञान, बुद्धि, विवेकको क्षितिज फराकिलो हुन्छ सोको निर्धारण गर्न सक्नुपर्दछ । जब हामी अध्ययन गर्न सुरु गर्छौँ विस्तारै विस्तारै हामीलाई पढाइको लत लाग्न थाल्दछ अनि त कुनै रक्सी वा मादकपदार्थको नशाझैँ पढाइको नशाले हामीलाई समात्न थाल्दछ । पढ्न थालेपछि जसरी भए पनि तपाईं आफूले पढ्न चाहेको सामग्रीहरूको जोहो गर्न सक्नुहुन्छ । तपाईं ढुक्क हुनुहोस् जब तपाईंलाई अध्ययनको नशाले च्याप्दछ त्यसपछि तपाईं जीवनमा धेरै कुरा जान्न थाल्नुहुनेछ । नपढ्दा संसार अँध्यारो थियो पढ्दा संसार उज्यालो पाउनुहुनेछ ।
यहाँ पढ्ने बानीको कसरी विकास गराउन सकिन्छ भन्ने केही बुँदा दिने प्रयास हामीले गरेका छौ । यि बुदाहरुको सहि ढंगले प्रयोग गर्नुभयो भने तपाईमा केहि परिवर्तन पकै आउने छ ।
- कम बोल्नुहोस् बढी सोच्नुहोस् । मौनता नै सर्वोत्तम जप हो ।
- हातमा सधैँ किताब बोक्ने बानी गर्नुहोस् चाहे त्यो देखाउनलाई मात्रै किन नहोस्।
- पुस्तकलाई टेलिभिजन, टेलिफोन, सुत्ने कोठा या भोजनगृहमा पनि आफू छेउमा राख्नुहोस् ।
- बस बिसौनी, श्रृङ्गारगृह, प्लेटर्फम, चिकित्सालय आदिको लाममा पनि पुस्तक बोक्नुहोस् ।
- अनौपचारिक व्यक्तिसँगको भलाकुसारीहरूमा पनि पुस्तक छेउमा राख्नुहोस् ।
- कामको कम तनाब भएको बेला वा फुर्सदको बेलामा पुस्तक पढ्नुहोस् ।
- केही लेख्न लागेका बेला पनि पुस्तक छेउमा राख्नुहोस् ।
- सामान्यतयाः पढ्ने आदत बिहानको समयमा बसाउनुहोस् र सम्भव भएसम्म सबै पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् ।
- पुस्तक उपहार दिनुहोस्, पुस्तक बाँड्नुहोस्, पुस्तक मेला वा पुस्तक प्रदर्शनीहरूमा घुम्नुहोस् र पुस्तकको कुरा गर्नुहोस् ।
पुस्तक तपाइको एक्लोपनाको दरिलो साथी हुन सक्दछ । यसलाई सधैँ जतन गर्नुहोस्, माया गर्नुहोस् र सम्मान गर्नुहोस् । एउटा कुरा चाहिँ घामजस्तै छर्लङ्ग छ कि यिनै विविध पुस्तकहरू पढेर र पढ्ने आदतको विकास गरेर तपाईं पनि भोलि ज्ञानी, बुद्धिमानी, दार्शनिक, लेखक आदि बन्न सक्नुहुनेछ । त्यसैले आउनुहोस् हामी सबैले आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौँ ।
0 comments:
Post a Comment