हामी नेपाली हौ, जहाँ कहि बसेपनि नेपाल र नेपालीको ईतिहासलाई हामिले कहिले बिर्सनु हुदैन । हाम्रा पछिल्ला पुस्तालाई पनि हामी भन्न सक्नुपर्छ कि नेपालको ईतिहास यस्तो थियो । नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरू भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन अभिलेखहरूबाट केही झलक पाइन्छ । ईश्वी संवत्को थालनीका साथै लिच्छविकाल सुरू भए पनि प्रमाणहरूका आधारमा ईश्वीको पाचौँ शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास बढी विश्वासिलो बनेको पाइन्छ ।
नेपालका गोपालवंशी शासकहरू
नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल भन्नाले गाईपालक समुदाय भन्ने बुझिन्छ । काठमाडौँको पानी बाहिर फ्याँकेपछि उपत्यका बसोबास योग्य भयो । त्यसपछि दक्षिणतर्फका नीप जातिका गोपालहरू यहाँ आकर्षित भए । दक्षिणबाट आएका गोपालहरू र यहाँका प्राचीन नाग जातिबीच भीडन्त हुँदा नाग जातिहरू पराजित भई दक्षिण भेगतर्फ लागे भने नेपाल उपत्यकामा गोपालहरूको वर्चस्व कायम भयो । वंशावलीहरूमा उल्लेखित कथाअनुसार यिनीहरूको एउटा बहुह्री नाम गरेको गाईले सधैँ बाग्मतीको तिरको एक ठाउँमा गएर दूध चढाउने गर्दथिन् । सो स्थल खनी हेर्दा पशुपतिको ज्योर्तिलिङ्ग उत्पन्न भयो । टेकु दोभानमा तपस्या गरी बस्ने ‘ने’ मुनीले गोपालवंशका भुक्तमान (भूमिगुप्त) लाई राजा बनाए । यिनी गोपालवंशका संस्थापक मात्र नभई नेपालका प्रथम राजा पनि भए । गोपालवंशीका आठजना शासकहरूले करीब ५०५ वर्ष ३ महिना नेपालको शासन गरे ।
- भूमि गुप्त,
- जय गुप्त,
- धर्म गुप्त,
- हर्ष गुप्त,
- भीम गुप्त,
- मणि गुप्त,
- विष्णु गुप्त र
- जीन गुप्त
महिषपालवंशी राजाहरू
गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख छ तर केही इतिहासकारहरूका अनुसार गाई पाल्नेलाई गोपाल भने झैं भैसी पाल्नेलाई महिषपाल वा आभिर भनिन्थ्यो । तर गोपाल र आभिर एउटै वंशका भएका र पेशागत आधारमा मात्र दुई समुदायमा विभाजित भएको मानिन्छ । कर्कपेट्रिकको वंशावलीमा आभिरहरू राजपूत उत्पत्तिका ग्वालाहरू भएका र सिम्रौनगढ र जनकपुरबीचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो सङ्ख्यामा भैंसी पाल्ने गरेकोमा पछि उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ । यस वंशका प्रथम राजा वरसिंह हुन् । गोपालवंशावलीअनुसार यस वंशका तीन शासकहरू वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए ।
किरांतकाल
नेपालको प्राचीन तथा ऐतिहासिक र राजनैतिक सुरुवात हेर्दा प्रमाणिक रूपमा किराँत कालबाट नै सुरु भएको हो भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ। हुनत किराँत कालभन्दा अगाडि पनि यो मुलुकमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू पनि पाइन्छ तर प्रष्ट प्रमाणको अभावमा किराँत काल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँत कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। यस कालका किराँती राजा यलम्बरलाई नै प्रथम किराँती राजाको रूपमा सबैजसो इतिहासकारहरूले मानेका छन्। काठमाडौं उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडी यहाँ बसोबास गर्दथे। किराँती जंगली र पहाडीहरूको एक जनजाति हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। नेपालमा २७ देखि ३२ किराँत राजाहरुले करिब ८०० बर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरुमा उल्लेख गरियेको छ ।ति किरात राजा क सन्तान हरु मध्ये मा सुनुवार, राई, लिम्बु, गुरुङ, मगर, नेवार, आदि इत्यादी जो नेपालमा मूल बासिको रुप मा चिनिन्छ। किरातहरुको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्ती लाई किरात शासन भनिन्छ ।
आभिरवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजा यलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । यो द्वापरयुगको अन्त्य वा कलियुगको प्रारम्भतिर छैठौं शताब्दीमा घटेको घटना मानिन्छ । नेपालमा ऐतिहासिक घटनाक्रमको सुरूवात किराती राजाहरूबाटै भएको मानिन्छ । गोपाल राजवंशावलीमा ३२, भाषा वंशावलीमा २८ र राइट वंशावलीमा २९ राजाहरूको विवरण पाइन्छ । तथापि, किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५०० वर्ष जति शासन चलाएको मानिन्छ । किरातँवंशी मुख्य राजाहरु निम्न अनुसार रहेका छन् :
यलम्बर
किरात राज्यका संस्थापक यलम्बर ज्यादै वीर थिए । यिनले महिषपाल आभीर वंशका शासक भुवनसिंहलाई हराएर किरात राज्यव्यवस्था स्थापना गरेका थिए । यिनलाई कतैकतै यलुङ्ग पनि भनिएको छ । यिनकै नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ । यिनी नेपालकै ठुलो र लामो शासन गर्ने राजा मध्य एक हुन्।
हुमति
यिनी छैठौँ किराती राजा थिए । यिनलाई गोपाल राजवंशावलीमा हँति भनेर उल्लेख गरिएको छ । डेनियल राइटले छपाएको वंशावलीले यिनलाई महाभारतको युद्धकालका भनी उल्लेख गरेको छ ।
जितेदास्ती
किरात राजा जितेदास्ती अर्का उल्लेखनीय शासक हुन् । यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् भने गोपाल राजवंशावलीले केही पछिल्लो क्रममा उल्लेख गरेको छ । यिनको समयमा गौतम बुद्ध काठमाडौँ आएको चर्चा गरिएको छ । तर गौतम बुद्ध स्वयम् भने उपत्यका आएका थिएनन् । उनका चेला आनन्द मात्र नेपाल उपत्यकामा आएर बौद्ध धर्मको प्रचार गरेका थिए ।
स्थुंको
केही वंशावलीहरूले किराँत राजा स्थुंकोका समयमा मौर्य सम्राट अशोक नेपाल आएको उल्लेख गरेका छन् तर वंशावलीको भनाइ सत्य देखिदैन । अशोक लुम्बिनी, कपिलवस्तुमा मात्र आएका थिए । काठमाडौँ उपत्यकामा आएको कुरा भने प्रमाणित छैन ।
किरात बंशावलीका सबै ३२ किरात राजा को एक सूची तल दिइएको छ ।
सि. नं. राजाको नाम शासन अवधी १ राजा श्री यलम्बर ९० वर्ष, २ राजा श्री पेलं ८१ वर्ष, ३ राजा श्री मेलं ८९ वर्ष, ४ राजा श्री चंमिं ४२ वर्ष, ५ राजा श्री धस्कं ३७ वर्ष, ६ राजा श्री वलंच ३१ वर्ष ६ महिना, ७ राजा श्री हुतिं ४० वर्ष ८ महिना, ८ राजा श्री हुरमा ५० वर्ष, ९ राजा श्री तुस्के ४१ वर्ष ८ महिना, १० राजा श्री प्रसफुं ३८ वर्ष ६ महिना, ११ राजा श्री पवः ४६ वर्ष, १२ राजा श्री दास्ती ४० वर्ष, १३ राजा श्री चम्ब ७१ वर्ष, १४ राजा श्री कंकं ५४ वर्ष, १५ राजा श्री स्वनन्द ४० वर्ष ६ महिना, १६ राजा श्री फुकों ५८ वर्ष, १७ राजा श्री शिंघु ४९ वर्ष ६ महिना, १८ राजा श्री जुलम् ७३ वर्ष ३ महिना, १९ राजा श्री लुकं ४० वर्ष, २० राजा श्री थोरम् ७१ वर्ष, २१ राजा श्री थुको ८३ वर्ष, २२ राजा श्री वर्म्म ७३ वर्ष ६ महिना, २३ राजा श्री गुंजं ७२ वर्ष ७ महिना, २४ राजा श्री पुस्क ८१ वर्ष, २५ राजा श्री त्यपमि ५४ वर्ष, २६ राजा श्री मुगमम् ५८ वर्ष, २७ राजा श्री शसरू ६३ वर्ष, २८ राजा श्री गंणं ७४ वर्ष, २९ राजा श्री खिम्बुं ७६ वर्ष, ३० राजा श्री गिरीजं ८१ वर्ष, ३१ राजा श्री खुरांज ७८ वर्ष, ३२ राजा श्री गस्ती ८५ वर्ष
लिच्छवि काल
लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० बर्ष) रहेको इतिहास पाइन्छ। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडी विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्छ। जयदेव प्रथम पश्चातका लिच्छवि राजाहरू हरीदत्त, वृषदेव, शंकरदेव र धर्मदेव हुन् । मानदेव पछि भने वसन्तदेव र रवि गुप्तको द्वैध शासन, रामदेव र क्रमलीलको संयुक्त शासन, गंगादेव र भौमगुप्तको शासनकाल चल्यो। वसन्तदेवको पालामा सुरु भएको संयुक्त शासन अंशुवर्मा र शिवदेवको पालामा चरमोत्कर्षमा पुग्यो।
अर्को तर्फ एक मत नेपालको इतिहासमा किराँतकालपछि ईसाको दोस्रो शताब्दीको प्रारम्भकालमा लिच्छवि वंशको प्रारम्भ हुन्छ। किरातहरूपछि लिच्छवि वंशका राजाहरूले नेपालमा शासन सञ्चालन गरेको पाइन्छ । वंशावली एवं पुराणहरूमा सूर्यवंशी क्षेत्रीयहरूले किरातहरूलाई जितेर नयाँ शासन व्यवस्था कायम गरेको उल्लेख पाइन्छ । गोपाल राजवंशावलीमा ‘अनि सूर्यवंशको प्रभावले नेपालमा किरात राजालाई जितेर लिच्छवि राजवंश चल्यो’ भनी लेखिएको छ भने पशुपति पुराणमा पनि ‘किरातहरूलाई बोलिवचनले विश्वासमा पारेर तथा युद्धमा परास्त गरेर वैशालीका स्वामी वा पतिहरूले आफ्नो शासनसत्ता कायम गरेको’ भन्ने उल्लेख गरेको पाइन्छ । यसैप्रकारको सन्दर्भ हिमवत्खण्डमा पनि पाइन्छ । जसमा वैशालीका स्वामीहरूले किरातहरूलाई जितेर नेपालमा शासन सुरू गरेको उल्लेख छ । यसप्रकार नेपालमा लिच्छवि शासन व्यवस्थाको थालनी किरातीहरूको शासनपछि लगत्तै सुरू भएको देखापर्दछ । गोपालवंशावलीअनुसार अन्तिम किराती राजा ‘खिगु’, भाषा वंशावलीअनुसार ‘गालिज’, राइट वंशावलीअनुसार किरात राजा ‘गस्ति’ लाई परास्त गरेर वा धपाएर लिच्छवि राजवंशले नेपालमा शासन सुरू गरेको देखिन्छ ।
लिच्छवि राजवंशको थालनी कुन समयदेखि भयो, यसबारे यकिनका साथ भने भन्न सकिएको छैन । इतिहासविद् बाबुराम आचार्यका अनुसार ‘यहाँको किरातराज्यलाई भङ्ग गरी आफ्नो स्वतन्त्र लिच्छवि राज्य स्थापना गर्न ईस्वी संवत् २५० को आसपासतिर लिच्छविहरू समर्थ भएको देखिन्छ । लिच्छविहरू नेपालमा आउनुभन्दा अगाडि भारतको मुजफ्फरपुर नगरको बसाढ भन्ने बैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन प्रणालीअनुसार शासन चलाउने गर्दथे । त्यो भागमा राजतन्त्रात्मक शासन प्रणाली सुदृढ हुँदै गएको र राजा अजातशत्रुबाट पराजित भई इसाको प्रथम शताब्दीतिर शरणार्थीका रूपमा लिच्छविहरू नेपाल प्रवेश गरेका थिए । बैशालीमा शासन चलाएका लिच्छविहरूले यहाँका भुरे, टाकुरे, सामन्त राजाहरूलाई हराई शासनमा कब्जा गर्ने महत्वकांक्षा प्रदर्शन गरे । तर लिच्छविहरूको सत्तामा कब्जा त्यति सरल र सहज नभई ठूलो संर्घष र रक्तपातपूर्ण घटनाबाट मात्र सम्भव भएको थियो । तत्कालीन शासक वर्गप्रति जनताको तीव्र असन्तोष व्याप्त भएको बेलामा जनभावनाको अनुकुल लिच्छविहरूले जनसंघर्षको नेतृत्व गरेका थिए । किरातहरू युद्धमा हारेर पूर्वी भेगमा विस्थापित हुन बाध्य भए भने केन्द्रमा लिच्छविहरूको राज्यसत्ता कायम हुन पुग्यो । जनहितलाई बढी स्थान दिने शासनव्यवस्था, सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको स्तर, आर्कषक कला आदि कुराले गर्दा लिच्छवि काललाई नेपालको इतिहासमा स्वर्णयुग पनि मानिएको छ । हुन पनि तुलनात्मक दृष्टिले हेर्ने हो भने यो युग सर्वाङ्गिण विकासको युगको रूपमा रहेको छ ।
लिच्छवि शासनकालअन्तर्गत फेला परेको पहिलो प्रमाणित अभिलेख राजा मानदेवको सन् ४६४ को चाँगुको अभिलेख हो जसमा मानदेवभन्दाअगाडिका तीन पुस्ताको विवरण दिइएको छ । यसबाहेक लिच्छवि वंशका आठौं शताब्दीतिरका राजा जयदेवको पशुपति अभिलेखमा लिच्छवि राजाहरूको सुरूदेखिकै वंशावली लेखिएको छ । तर यस वंशावलीमा लिच्छवि राजाहरूको नामको सट्टा क्रमाङ्क मात्र लेखिएको पाइन्छ । यस वंशावलीको आधारमा स्न ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा मानदेव लिच्छवि वंशका ३९ औँ राजाको रूपमा देखिन्छन् । मानदेवअघिका राजाको सालाखाला शासन २० वर्ष मानेको खण्डमा मानदेवभन्दा ७६० वर्षअघि अर्थात २९६ ईसापूर्वमा लिच्छवि शासन नेपालमा सुरू भएको देखिन्छ ।
लिच्छविहरूको उत्पत्ति
लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको कुरामा अधिकाँशको मतैक्यता रहेको छ। नेपाल आउनु भन्दा पहिले लिच्छविहरूले बिहारमा गंगा नदीको उत्तरमा अवस्थित मुजफ्फरपुर जिल्लाको वैशाली इलाका (हालको बसाढ़को नजिक) मा गणतन्त्रामक राज्य चलाएकोमा राजतन्त्रामक राज्यहरूलाई दमन गर्न थालेपछि नेपाल उपत्यकामा किरातीहरूको शासन भइरहेको समयमा शाक्य, मल्ल, वृज्जिहरूका साथै लिच्छविहरू पनि शरणार्थीका रुपमा प्रवेश गरी किरातीहरूलाई विस्थापित गरी शासनमा अधिकार जमाए। किरातीहरू र आगन्तुक लिच्छवि, मल्लहरीको रहन सहन भिन्न रहेकाले लिच्छविहरूको नेतृत्वमा किरातीहरूसंग विद्रोह गरी सत्तामा नियन्त्रण कायम गरेको कुरा ललितपुरको च्यासटोलमा आठ सय किरातीहरू मारिएको घटनाले पुष्टि गर्छ।
लिच्छविहरू अयोध्याका सूर्यवंशी राजा दशरथका वंशका ८ औ पुस्तापछि सुपुष्प राजा भएको कुरा जयदेव द्वितीयको वि.स. ७९० को पशुपतिको अभिलेखमा लेखिएको छ। सुपुष्प जयदेव प्रथम भन्दा २३ औ पुस्ता अगाडीका राजा भएकाले इसापुर्व तेस्रो शताब्दीमा नेपालमा लिच्छवि शासन सुरु भ्तेको मान्नेहरूले सुपुष्पलाई नेपालको प्रथम लिच्छवि राजा मानेका छन्।
गोपालराजवंशावलीमा उल्लेख भए अनुसार सुपुष्पले वर्णव्यवस्था, न्याय व्यवस्थाको संरचना गरेको र पशुपतिको मन्दिर बनाएका थिए। इश्वी सन आरम्भतिर मात्र नेपालमा लिच्छवि शासनको आरम्भ भएको मान्नेहरूले जयदेव प्रथमलाई नेपालको पहिलो लिच्छवि शासक मानेका छन्। जयदेव प्रथमपछि हरिदत्त, वृषदेव, शङ्करदेव, धर्मदेव आदि १६ पुस्ताले नेपालमा शासन गरेपछि धर्मदेवका छोरा मानदेव राजा भएपछि नेपालको इतिहास तथ्यमा आधारित हुन् पुग्यो। अंशुवर्मा, शिवदेव, जयदेव द्वितीय आदि प्रतापी राजाहरले नेपालको उन्नति र सम्बृद्धिमा योगदान दिए। अंशुवर्माको भारतका राजा हर्षवर्धनसँग निकटतम वैवाहिक सम्बन्ध थियो । यस तथ्यबाट यो पुष्टि हुन्छ कि गण्डकीदेखि कोशीसम्म पहाडी भूभागमा लिच्छविहरूले किराँतहरूलाई धपाई एकछत्र राज्य गरेका थिए भने तराई प्रदेशमा प्रसेनजीतर अजातशत्रुका सन्तानहरू मिथिला राज्यलाई आफ्नो अन्तर्गत वैशाली र पाटलीपुत्र राज्यमा समावेश गरेका थिए । अंशुवर्मापछि नरेन्द्रदेवलाई भारतीय रजौटाहरूले समर्थन सहयोग गरी राज्यारुढ गरेका थिए । नरेन्द्रपछि गुप्त वंशका शासनले गर्दा सम्पूर्ण राज्य स-साना राज्य रजौटामा विभाजित भयो । यी सम्पूर्ण घटना ईसा पूर्वका हुन् । उता बंगालमा चालुक्यसेनहरूको राज्य थियो । नान्यदेव चालुक्य राजाको सेनापति थिए । जसले तिरहुत डोय राज्यको स्थापना गरी सिम्रोनगढलाई राजधानी बनाए । मुसलमान आक्रामक सुद्धिन तुगलकका भयले नान्यदेवका पनाति हरि सिंहदेव सर्लाही जिल्ला हुँदै भक्तपुर पुगे र यिनकी श्रीमती राजल देवीले जयस्थिति मल्ललाई ज्वाइँ बनाई मल्लवंशको शासन स्थापित गराइन् ।
शासन व्यवस्था
लिच्छविहरूको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ। लिच्छवि कालमा राजाहरूलाई नृप, महाराजाधिराज, भट्टारक महाराजाधिराज, वास्पपादानुधात जस्ता उपाधिबाट विभूषित हुन्थे। दरबारमा चारवटा अड्डाहरूको स्थापना गरिएको पाइन्छ जसमा पुर्वाधिकरण (पुर्व भागको प्रशासन हेर्ने), पश्चिमाधिकरण (पश्चिम भागको प्रशासन हेर्ने), भट्टाधिकरण (जात र धर्मको रेखदेख गर्ने) र विष्टि (झारा सम्वन्धित वा श्रमको बन्दोवस्त गर्ने) पर्छन। केन्द्रमा बस्ने जनतालाई पौर र प्रान्तमा बस्ने जनतालाई जनपद भनीन्थ्यो। जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवि कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।
लुम्बिनीको निग्लहवामा स्थापित अशोकस्तम्भबाट के स्पष्ट हुन्छ भने लिच्छविकालमा संस्कृत र पालि भाषामा वार्तालाप गरिन्थ्यो भने लेखाईमा ब्राह्मी लिपिको प्रयोग हुन्थ्यो। चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरूको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।
व्यवस्थापिका
लिच्छविकालमा व्यवस्थापिकाको कार्य अन्तरासन (राज्यसभा) ले गर्थ्यो । असल शासन व्यवस्था कायम गर्न आवश्यक पर्ने एन कानुनको निर्माण गर्न, राजालाई सल्लाह र सुझाव दिने काम यही अन्तरासनले गर्थ्यो। लिच्छविकालमा ग्राम, तल, द्रंग आदि विभिन्न प्रशासनिक एकाईहरू थिए। यसको प्रमुखमा प्रधान रहन्थे भने प्रशासनिक कार्य पन्चालीले गर्थे जसलाई स्थानीय स्तरका कतिपय नीति नियमहरू बनाउने अधिकार दिईएको हुन्थ्यो।
कार्यपालिका
लिच्छविकालमा कार्यपालिकाको प्रमुख राजा हुन्थे। राज्य व्यवस्था दैनिक प्रशासन राजालाई सघाउन प्रधानमन्त्री (महाअमात्य), मन्त्री (अमात्य), प्रहरी प्रमुख (दण्डनायक), सेना प्रमुख (महाबलाध्यक्ष), राजाका निजि सचिव (महाप्रतिकार) आदिको व्यवस्था थियो। केन्द्रदेखि टाढा रहेका गाउमा तिरो उठाउने र झैँ-झगडा मिलाउने काम द्वारेहहरूले गर्थे। यिनीहरू राजाका प्रतिनिधिका रुपमा रहन्थे र आफुले समाधान गर्न नसक्ने मुद्ध राजाकहाँ पठाउथे। त्यसैले केन्द्रदेखि टाढाको क्षेत्रमा स्थानीय सामन्तहरूले शासन चलाउथे। जिल्लामा राजप्रतिनिधीको रुपमा ‘विषय पति’ हुन्थे।
न्याय व्यवस्था
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ। लिच्छविकालिन समयमा कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी ४ अधिकरणको व्यवस्था थियो जसमध्ये कुथेर अधिकरणले राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने, माप्चोक अधिकरणले विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने र शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने व्यवस्था थियो।
समाजिक व्यवस्था
लिच्छविकालमा चार वर्ण, अठार जातको प्रथा थियो। वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरूको उल्लेख गरिएको छ। लिच्छविहरू सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरू, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरू यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरूको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरू गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो।
मुद्राहरू
जिंशु गुप्ताको समयमा प्रयोग भएको तावाको मुद्राको अगाडीको भाग।
इशापूर्व देखि नै भारतमा प्रचलनमा रहेका मुद्राहरू कोर्षापण, पुराण, पण आदि मुद्राहरू लिच्छविकालमा प्रचलनमा आएका थिए। तावा निर्मित सबैभन्दा कम मुल्यको मुद्रा पण सबैभन्दा बढी प्रचलनमा थियो भने १६ तामाको पण बराबर हुने १ पुराण हुने सबैभन्दा बढी मुल्यको मुद्रा चांदीबाट निर्मित हुन्थ्यो। कोर्षापण पुराणकै अर्को नाम हो जुन चांदीबाट निर्मित हुन्थ्यो र १६ ताम्रपण वरावर १ कोर्षापण हुन्थ्यो। अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ।
प्रसिद्ध लिच्छविकालीन शासकहरू
लिच्छविहरू मूलतः सूर्यवंशी मानिन्छन् । अयोध्याका सूर्यवंशी राजा दशरथका आठौं पुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको मानिन्छ । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक र आदिपुरूष पनि मानिन्छ ।
सुपुष्प
जयदेव द्वितीयको पशुपति अभिलेखमा उत्कीर्ण वंशावलीमा लिच्छवि नाम गरेका राजापछि तेह्रौं पुस्तामा कामदेवजस्ता राम्रो रूपरङ्ग भएका राजा सुपुष्प भए भनिएको छ । कतिपयले राजा सुपुष्पलाई नै नेपालका प्रथम लिच्छवि राजाको रूपमा मान्ने गरेको पाइन्छ । वंशावलीहरूमा भने सुपुष्पलाई चौथो लिच्छवि राजाको रूपमा देखाइएको छ साथै गोपाल राजवंशावलीमा यिनलाई सुपुष्पदेव, भाषा वंशावलीमा पशुपुष्पवर्मा र राइट वंशावलीमा पशुप्रेखदेव भनेर नामाकरण गरिएको छ । गोपाल राजवंशावलीअनुसार यिनले नेपालमा वर्ण व्यवस्था कायम गर्नुका साथै पशुपतिको देवल बनाउने, त्यसमा छाना हाल्ने, सहरलाई सुन्दर बनाउने, राज्यमा मर्यादा कायम गर्ने तथा न्यायपूर्वक सारा प्रजाहरूको पालना गर्ने काम गरेका थिए । यसबाहेक राइटको वंशावलीमा यी राजाले पशुपति मन्दिरमा सुनको छाना हाल्नुका साथै गजुरसमेत थपेर अग्लो र भव्य तुल्याएको उल्लेख छ । यसैगरी राजा सुपुष्पले भूमि वा जग्गासम्बन्धी मर्यादा बाँधेको कुराको उल्लेख गोपाल राजवंशावलीमै पाइन्छ ।
मानदेव
शासन सञ्चालनमा कुशल मानदेव प्रथमको शासन कालमा आएर नेपाल राज्य अझ व्यवस्थित, विकसित र बलियो बन्यो । शास्त्र जान्ने, जनतालाई आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले युक्त यी राजाले राज्यमा आर्थिक उन्नति र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं. ५२१–५६२ (ई.सं. ४६४–५०५)) सम्म आफ्नो शासनमा स्थिरता कायम गरे । आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत विकास गरे । प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन ‘श्री नामांक’ र ‘श्री भोगिनी’ अङ्कित नेपालको प्रथम मुद्रा यिनकै कालमा तयार भएको थियो । यिनकै समयदेखि प्राचीन नेपालको इतिहास पनि बढी स्पष्ट र भरपर्दो भएकाले प्रथम प्रमाणित महाराजा यिनैलाई मानिन्छ । यिनको राज्य पूर्वमा कोशी, पश्चिममा गण्डकी (कालीगण्डकीपारी मल्लपुरी) र उत्तरमा हिमालयसम्म फैलिएको थियो । अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन् । चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१ (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ । यसरी विक्रमको छैटौँ शताब्दीदेखि नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ।
मानदेवपछि महीदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू रविगुप्त र क्रमलील शक्तिशाली भए । संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबीच शक्ति संघर्षजस्तै भयो । शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे । फलस्वरूप अंशुवर्मा राजा भए । मन्त्रीले राज्याधिकार लिएको यो पहिलो घटना थियो ।
अंशुवर्मा
अंशुवर्माको शासनकाल (ई.सं. ६०५–६२१) मा नेपालमा खेती, पशुपालन र व्यापार मात्र हैन परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाजस्ता चौतर्फी विकासका कार्यहरू भए । उनले नै कैलाशकुट भवन नामक दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गराएका थिए । परराष्ट्र नीति (तिब्बत र चीनसँग) उनकै समयमा सफलतापूर्वक सञ्चालित भए । उनको समयमा भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङगम्पोले शक्तिशाली साम्राज्य खडा गरेका हुनाले तिब्बतसँग उनले साँठगाँठ गरे । तिब्बती राजा स्रोङचङगम्पोसँग उनले राजकुमारी भृकुटी (चिजु को विवाह गराएको कुरा चर्चित छ । उनको समयमा प्रजाले धार्मिक उदारता तथा स्वायत्त शासनसमेत प्राप्त गरेका थिए । कला तथा विद्याको समेत विकास भई जनजीवन सुसङ्गठित र उन्नत हुँदै गएको थियो । यी सब उन्नति प्रगतिको कारणबाट नेपालको इतिहासमा उनी नै सर्वप्रथम ‘महाराजाधिराज’ उपाधिप्राप्त शासक बन्न पुगे । विधिवत् युवराज घोषणा गर्ने चलन पनि सर्वप्रथम यिनकै समयदेखि चल्यो । हिन्दू राजाको रूपमा उनले ‘पशुपतिपादानुगृहीत’ उपाधिसमेत धारण गरेका थिए । ‘प्रजाहित समाधानतत्पर’ तथा ‘कथं मे प्रजा सुखिना भवेत’ जस्ता विशेषतायुक्त ठकुरी वंशका यिनले ‘शब्द विद्या’ (व्याकरण) पनि तयार गरेको बुझिन्छ । वि.सं. ६७८ तिर उनको मृत्यु भयो ।
नरेन्द्रदेव
शासन सञ्चालनमा कुशल नरेन्द्रदेवको कार्यकालमा ईस्वीको सातौँ शताब्दीको मध्यम (ई.सं. ६४५–६७९) ताका भोट (तिब्बत र चीन) सँग व्यापारिक सम्बन्ध स्थापना हुनुका अतिरिक्त नेपालका पूर्व र पश्चिम भेकका व्यापारिक बस्ती (द्रङ्ग) हरूको प्रारम्भ हुन गई नेपाल केही समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्यो । नरेन्द्रदेवले महाराजाधिराजको पदवी लिए र ‘परम भट्टारक’ को प्रसिद्धि पनि पाएका थिए । उनले भद्राधिवास राजदरबार पनि बनाए । उनको आसनमा सिंहको आकृति भएकोले सिंहसासन प्रचलित भएको बुझिन्छ ।
जयदेव द्वितीय
जयदेव द्वितीय (ई.सं. ७१३–७२३) कवि हुनुका अतिरिक्त मुलुक विस्तार गर्ने महात्वाकांक्षीसमेत भएकाले लिच्छवि शासकहरूमा उनको क्रियाकलाप पनि उल्लेखनीय रहेको छ । उनी कविराजाका अतिरिक्त ‘परचक्रकाम’ (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनामले विभूषित थिए । उनको कविता पशुपति शिलालेखमा अङ्कित छ ।
लिच्छविकालका प्रमुख राजाहरू यस प्रकार थिए :
- सुपुष्प,
- जयदेव प्रथम,
- हरिदत्त वर्मा,
- वृषदेव,
- शंकरदेव,
- धर्मदेव,
- मानदेव प्रथम,
- महिदेव,
- सन्तदेव,
- बसन्तदेव,
- उदयदेव,
- मानदेव द्वितीय,
- शिवदेव प्रथम,
- अंशुवर्मा,
- नरेन्द्रदेव,
- जयदेव द्वितीय,
- शिवदेव द्वितीय,
- जयदेव तृतीय
लिच्छविकालको अन्त्यकाल
प्रारम्भका लिच्छवि राजाहरू जस्तै अन्त्यतिरका लिच्छवि राजाहरू शक्तिशाली र लोकपकारी भएनन्। लिच्छवि वंशलाई द्वैध शासनले पनि ठुलो असर पुरायो। राजा अंशुवर्मापछि नेपालमा द्वैध शासन चलेको थियो। यसै क्रममा ध्रुवदेव, जिष्णु गुप्त, भीमार्जुन-जिष्णु गुप्त र विष्णु गुप्तको संयुक्त शासन रह्यो भने राजा नरेन्द्रदेवलाई शक्तिशालि भारदारहरूले २० बर्षसम्म चीनमा विस्तापित् हुन् वाध्य तुल्याईएको थियो। चीनको सहयोगमा नरेन्द्रदेवले आफ्नो गुमेको राज्य पुन: प्राप्त गरेका थिए। नरेन्द्रदेवको शासन पछि जयदेवको पालामा सत्ता प्राप्तिको लागि भिष्ण संघर्ष भयो। द्वैध शासनले जर्जर भएकाले लिच्छविहरूले लोककल्याणकारी कार्यमा ध्यान पुर्याउने सकेनन्। लिच्छवि शासनको उत्तरार्धमा सामन्ती शोषणबाट जनता पिडित भएकाले लिच्छवि वंश र तत्कालिन सामन्तहरूको विरुद्धमा विशाल जनसंघर्ष हुँदा लिच्छवि वंश धराशायी भई जयदेव तृतीय पछी नेपालमा ठकुरी वंशको स्थापना भएको मानिन्छ।
0 comments:
Post a Comment