– किरणराज शर्मा सहसचिव, वन तथा भूसंरक्षण मन्त्रालय
नियमित अध्ययन, सफा अक्षर र ओजपूर्ण शब्द चयनधेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिस्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृतका लागि बिसौँ हजारले आवेदन दिइसकेका छन् । त्यसैगरी उपसचिवका लागि पनि परीक्षा चलिरहेको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौँ युवायुवती ट्युसन, कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।
तर, लोकसेवामा नाम निकाल्न सानोतिनो तपस्या नै गर्नुपर्छ भन्छन् भुक्तभोगीहरू । निरन्तरको मिहिनेतका साथमा धैर्य र आत्मबल पनि चाहिने उनीहरूको धारणा छ । हाल चलिरहेको उपसचिवको परीक्षा र आगामी माघ २५ मा हुने शाखा अधिकृतको प्रथमपत्र तथा चैतमा हुने थप पत्रका परीक्षार्थीका लागि उपयोगी हुने गरी हामीले ०६९ को सहसचिवको परीक्षामा सर्वोत्कृष्ट भएका किरणराज शर्माको लोकसेवाको प्रवेश अनुभव र टिप्स समावेश गरेका छौँ :
सरकारी सेवामा रहँदा प्रत्यक्ष रूपमा देश र जनताको सेवा गर्न पाइने उद्देश्यले म यो सेवामा प्रवेश गरेको हुँ । सार्वजनिक सरोकार, सार्वजनिक क्षेत्रमा सुधार गर्दा समस्त नागरिकको जीवनयापनमा सुधार आउने र आत्मसन्तुष्टि पाइने तथा तत्कालीन अवस्थाको इज्जत, मानप्रतिष्ठाले पनि यो सेवामा आउन प्रेरित गरेको थियो ।
०४५ वैशाखमा राष्ट्रिय वाणिज्य बैंकको सहायक पदमा नाम निकालेँ । त्यहाँ दुई वर्ष काम गरेपछि म नेपाल राष्ट्र बैंकमा सहायककै रूपमा गएँ । त्यतिवेलासम्म मैले प्रथम श्रेणीमा एमबिए उत्तीर्ण गरिसकेको थिएँ । त्यसपछि भने मलाई निजामती सेवामा नै प्रवेश गर्ने इच्छा पलाएर आयो । ०५१ मा लेखा अधिकृतको परीक्षा दिएँ, उत्तीर्ण भएँ ।
लोकसेवाको परीक्षाको तयारी गर्दा दैनिकजसो कम्तीमा दुईदेखि चार घन्टा अध्ययन गर्थेँ । मैले ट्युसन वा कोचिङ कहिल्यै पढिनँ । दैनिकजसो नै आवश्यकताअनुसार अध्ययन गर्थेँ । खोजपूर्ण अध्ययन सामग्रीको संकलन गर्थेँ । निजामती सेवामा प्रवेश गर्नेहरूले सबैभन्दा पहिला सार्वजनिक सेवाप्रतिको स्पष्ट अवधारणा बनाउनुपर्छ । सार्वजनिक सेवालाई आत्मसात् गर्नुपर्छ । अनि मात्रै परीक्षाको तयारी थाल्नुपर्छ ।
मैले हरेक परीक्षा दिँदा दैनिकजसो नै दुईदेखि चार घन्टासम्म अध्ययन गर्थेँ । लेखा अधिकृत र उपसचिवभन्दा स्वाभाविक रूपमा नै सहसचिवका लागि बढी अध्ययन र तयारी गर्नुपर्यो । म ०५९ मा उपसचिव बन्दा पनि मैले धेरै नै मिहिनेत गरेको थिएँ । लेखा अधिकृतबाट प्रशासनको उपसचिवको परीक्षा दिनुपर्ने भएकाले पनि अलि बढी मिहिनेत गर्नुपरेको थियो ।
निरन्तर मिहिनेतको बलमा उपसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ । उपसचिव हुँदा आकर्षक ठानिएका निकायमा जान कहिल्यै मरिहत्ते गरिनँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगमा रहेर काम गरेँ । १० वर्ष उपसचिवको भूमिका निर्वाह गरेपछि २३ फागुन ०६९ मा मैले सहसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि पहिलो नम्बरमै नाम निकाल्न सफल भएँ ।
सहसचिव परीक्षाका लागि पनि मैले अत्यन्तै बढी मिहिनेत गरेँ । यद्यपि, मैले सरकारी कामलाई भने कहिल्यै ‘ह्याम्पर’ गरिनँ । बिहान चार–सात बजेसम्म र बेलुकी एक घन्टा गरी दैनिक चार घन्टा अध्ययन गर्थेँ । आफ्ना समकालीन साथीहरूसँग कोर्समा आधारित रहेर अन्तरक्रिया पनि गर्थेँ ।
पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरी आवश्यक ‘फिडब्याक’ लिन्थेँ । केही नयाँ विषय पाउनासाथ टिपोट गरिहाल्थँे । नोट बनाउनुभन्दा पनि कोर्ससँग सम्बन्धित हरेक विषय अध्ययन गर्ने क्रममा टिपोट गर्थेँ । टिपोट गरेका विषयलाई स्मरण गर्ने, पढ्ने र अभ्यास गर्थेँ । हरेक कोर्सबारे आफैं अवधारणा बनाउँथेँ र विश्लेषण गर्थेँ ।
परीक्षामा सहभागी हुनुपूर्व केही महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ । सिलेबसअनुसारको नोट र सदैव सुधारका लागि थप सामग्रीको रुचिपूर्ण अध्ययन आवश्यक पर्छ । इन्टरनेट, विभिन्न पत्रपत्रिकाको अध्ययन, कोचिङ सेन्टरहरू, साथीहरूसँगको अन्तरक्रियालाई निरन्तरता दिनुपर्छ । यसका साथै प्रशासनिक क्षेत्रका सम्बन्धित प्रकाशन, पुस्तक र लेखरचनाको अध्ययन गर्नुपर्छ । त्यसैगरी नेपाल सरकारबाट भइरहेका प्रयास, अध्ययन प्रतिवेदनहरू, सुधारका विषयहरू र नीतिहरूको विश्लेषणात्मक अध्ययन गर्नुपर्छ ।
दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध, मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाई पढाइको वातावरण अनुकूल बनाउनुपर्छ । त्यसैगरी पढ्ने–लेख्ने, केही समय सम्झन प्रयास गर्ने गरी स्मरण शक्तिलाई तेज बनाउनुपर्छ । परीक्षामा लेख्दा राम्रो र प्रस्ट अक्षर तथा छोटो र ओजपूर्ण शब्द चयन गर्नुपर्छ । आवश्यकताअनुसार समसामयिक उदाहरणसहित प्रश्नले मागेको जवाफ दिनुपर्छ ।
मैले सकेसम्म इमानदारितापूर्वक काम गरिरहेको छु । काम ठग्न हुँदैन भन्ने लाग्छ । यो सेवाक्षेत्रमा काम गर्न सके आत्मसन्तुष्टि हुन्छ । असाधारण बिदा, वैदेशिक भ्रमणलगायतका अवसर छन् । यद्यपि, निजामती सेवाभित्र केही विकृति पनि छन् । सेवाभाव, पद्धतिबद्ध सोच र निष्पक्ष भावनामा केही कमी आएको देखिन्छ । आमूल सुधारको आवश्यकता बढेर गएको छ ।
सफलताका लागि टिप्स
- अध्ययन सामग्रीको खोजबिन गर्ने,
- पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,
- राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिकाc प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,
- बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।
- सम्बन्धित विषयका विद्वान्हरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,
- अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।
- परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,
- पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,
- इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।
- पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने
- उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,
- बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।
- एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,
- कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,
- एकाग्रताको विकास गर्ने,
- पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने
- दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,
- ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,
- ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,
- लेख्दै पढ्ने,
- मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने
- शुद्ध र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,
- अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,
- प्रश्नले सोधेको मात्र उत्तर राख्ने,
- सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,
- दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,
- मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,
- सीप सिक्ने चाँजोपाँजो मिलाउने,
- धैर्य राख्ने, निरन्तर लगाब राख्ने,
- आत्मविश्वास कायम गर्ने,
- स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,
- लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,
- समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,
- मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।
अन्तर्वार्ता फेस गर्दा
- अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने,
- इक्वायल आई कन्ट्याक्ट गर्ने,
- शिष्टतापूर्वक जवाफ दिने,
- विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,
- अवस्था र परिस्थितिअनुसार जवाफ दिने,
- प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,
- जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,
- अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,
- मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने,
- नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने ।
स्रोत ः- नेपाल चौतारी
0 comments:
Post a Comment